काठमाडौँ, कात्तिक २४ गते। डिजिटल माध्यममार्फत सार्वजनिक तथा निजी क्षेत्रका कामलाई सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्थापना गरेको सो केन्द्रको आज सञ्चारमन्त्री जगदीश खरेलले उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा मन्त्री खरेलले सानो कोठाबाट सुरुवात भएको यस केन्द्रले नेपालको एआई क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो।
मन्त्री खरेलले भन्नुभयो, “एआई केन्द्रको यो प्रारम्भ हो, यसलाई निरन्तर रूपमा अगाडि बढाइनेछ। एआई नीति आइसकेको छ, एआई काउन्सिल गठन भइसकेको छ। आजकै दिनदेखि केन्द्रले आफ्नो कार्य प्रारम्भ गर्दैछ। यसले नेपाललाई डिजिटल नेपाल र डिजिटल रूपान्तरणको यात्रातर्फ अघि बढाएको सन्देश दिएको छ।”
मन्त्री खरेलले जेनजी आन्दोलनको क्रममा उठाइएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र नवप्रवर्तन प्रवर्द्धनजस्ता मुद्दाहरू साकार गर्न एआई प्रविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सूचना प्रविधि केन्द्रमार्फत सार्वजनिक तथा निजी क्षेत्रका सेवा प्रवाहलाई डिजिटल माध्यमद्वारा छिटो, पारदर्शी र सहज बनाउन नीतिगत पहल अघि बढाइने जानकारी दिनुभयो।
मन्त्रालयका अनुसार, एआई प्रविधिको प्रयोगले जनशक्ति अभाव न्यूनीकरण, कार्यसम्पादनमा दक्षता वृद्धि तथा डिजिटल प्लेटफर्ममार्फत फैलिने गलत सूचनाको तथ्यपरक पुष्टि गर्न सहयोग पुर्याउनेछ।
मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख सहसचिव आदेश खड्काले गत साउन महिनामा सरकारद्वारा कार्यान्वयनमा ल्याइएका एआई नीति, २०८२ अनुसार एआई केन्द्र स्थापना गरिएको बताउनुभयो।
उहाँका अनुसार, एआई काउन्सिल गठन भइसकेको र नीति कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै नेपाल डिजिटल युगतर्फ अग्रसर भएको छ।
त्यसैगरी, सूचना प्रविधि विज्ञ गौरव पाण्डेले एआई केन्द्रको स्थापनाले निजी क्षेत्रलाई एआई प्रविधिमा लगानी गर्न र यसको प्रयोगमा सक्रिय सहभागिता जनाउन उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो।
मन्त्रालयले जनाएको छ कि केन्द्रले एआई प्रविधि प्रयोग गर्न इच्छुक निजी क्षेत्रलाई नीतिगत सहजीकरण प्रदान गर्ने, साथै एआई सम्बन्धी कार्यक्रम तथा परियोजना निर्माणलाई प्रोत्साहन दिने कार्य गर्नेछ।