जनकपुरधाम, कात्तिक २४ गते । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताउनुभएको छ ।
मुख्यमन्त्री पदमा नियुक्त भएपछि आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री यादवले विगतका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको राजनीतिक अन्योलता हटाउन तथा संवैधानिक निकासका लागि आफू मुख्यमन्त्री नियुक्त भएको दाबी गर्नुभयो ।
प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएको उल्लेख गर्दै प्रदेशको संवैधानिक सङ्कट समाधान गर्न नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “आफू मुख्यमन्त्री नियुक्त भएपछि टायर बालेर तथा विध्वंश एवम् तोडफोड गरेर विरोध गर्नुको सट्टा कानुनी प्रक्रियामा आउन राजनीतिक दललाई आग्रह गर्दछु ।”
उहाँ मुख्यमन्त्री भएपछि विपक्षी राजनीतिक दल तथा तिनका कार्यकर्ताले मधेस प्रदेश भवनभित्र आज तोडफोड तथा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका कारण मन्त्रालयको अवस्था अस्तव्यस्त भएको थियो । साथै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीविरुद्ध चर्को नाराबाजीसमेत भएको थियो । रासस