विश्व बैङ्कको सहयोगमा २०३५/३६ सालमा नेपालको पूर्वदेखि–पश्चिमसम्म मुख्यतः तराई र चुरेक्षेत्र समेट्ने गरी गरिएको हवाई चुम्बकीय सर्वेक्षणबाट नेपालमा विधिवत् र औपचारिक रूपमा पेट्रोलियम अन्वेषण कार्य प्रारम्भ भएको छ । यस सहयोग अन्तर्गत सन् १९८२ मा भौगर्भिक, भूरासायनिक तथा भूभौतिक सर्भे सञ्चालन भएका थिए । यस अध्ययनबाट उत्साहजनक नतिजा प्राप्त भएकाले नेपालमा पेट्रोलियम कार्यको प्रवर्धन तथा नियमन गर्ने उद्देश्यले विसं २०३९ मा ‘पेट्रोलियम अन्वेषण प्रवर्धन परियोजना’ स्थापना भएको थियो । तत्पश्चात् पेट्रोलियम कार्यलाई अझै व्यवस्थित बनाई थप गति प्रदान गर्न पेट्रोलियमको सम्भावना रहेको सम्पूर्ण तराई, चुरे र महाभारत पर्वत शृङ्खलाका केही भूभागलाई पूर्वदेखि पश्चिमसम्म १० वटा अन्वेषण खण्डमा विभाजन गरी नेपाल सरकारद्वारा पेट्रोलियम सम्झौताको ढाँचासहितको पेट्रोलियम अन्वेषण, उत्पादनसम्बन्धी आवश्यक कानुन जारी गरिएका छन् । नेपालमा पेट्रोलियमको अन्वेषण, विकास र उत्पादनमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय तेल तथा ग्यास कम्पनीलाई हालसम्म भएका अध्ययन तथा अनुसन्धानका सूचना, तथ्याङ्क तथा प्रारम्भिक विश्लेषणसहितका प्रतिवेदन संलग्न भएका २१ वटा डाटा प्याकेज उपलब्ध गराउन परियोजना अन्तर्गत छुट्टै तथ्याङ्क केन्द्र स्थापना गरिएको छ ।
अपेक्षित उपलब्धि हासिल हुन नसके पनि लामो समयदेखि पेट्रोलियम अन्वेषणले सुस्त गतिमा निरन्तरता पाइरहेको छ । सन् १९८५ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी पेट्रोलियम सम्झौताका माध्यमबाट अन्वेषण खण्ड १० (विराटनगर) मा विस्तृत अन्वेषणका लागि नेदरल्यान्ड र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनी सेल/ट्राइटनलाई जिम्मेवारी सुम्पिएको थियो । उक्त कम्पनीले सो क्षेत्रमा विस्तृत अन्वेषण सम्पन्न गरी सन् १९९० मा मोरङ जिल्लाको राधानगर भन्ने स्थानमा ३.५ किलोमिटर गहिराइको अन्वेषणात्मक ड्रिलिङ पनि गरेको थियो । तत्कालीन समयमा चलिरहेको जनआन्दोलनले अन्वेषणलाई प्रभावित पारेको थियो भन्ने विश्लेषण सुनिन्छ । ३.५ किमीको गहिराइसम्म कुवा खन्दा पनि भण्डार फेला पर्ने सङ्केत नदेखेपछि उक्त कम्पनीले पेट्रोलियम फेला नपरेको निष्कर्ष निकाली विधिवत् रूपमा सम्झौताबाट बाहिरिएको थियो । पेट्रोलियम कार्यको अन्तर्राष्ट्रिय अभ्यास, प्रचलन तथा पेट्रोलियम सम्झौता अनुसार एउटा मात्र कुवा खनेर पेट्रोलियमको भण्डार रहे/नरहेको निष्कर्ष निकाल्न सकिने वा नसकिनेबारे छुट्टै तर्क/वितर्क गर्न सकिने अवसर सुरक्षित नै छ ।
सन् २०१२ सम्ममा नेपालका सम्पूर्ण अन्वेषण खण्ड पेट्रोलियम सम्झौताका माध्यमबाट विभिन्न अन्तर्राष्ट्रिय कम्पनीलाई प्रदान गरिएको थियो । सन् १९८५ मा सम्झौता गरेको सेल/ट्राइटनबाहेक पछिल्ला समयमा पेट्रोलियम सम्झौताद्वारा आबद्ध कुनै पनि कम्पनीले सम्झौता मुताबिक कार्यसम्पादन गरेनन् वा गर्न सकेनन् । नेपाल सरकारले विसं २०७१/७२ मा उक्त कम्पनीसँगको पेट्रोलियम सम्झौता रद्द गरी सम्पूर्ण अन्वेषण खण्ड फुकुवा गरेको छ ।
अवसर र चुनौती
पेट्रोलियमको सम्भाव्यता अध्ययन गर्दा सम्बन्धित क्षेत्रको प्रागऐतिहासिक भौगर्भिक तथा वातावरणीय अवस्थितिबारे लेखाजोखा हुनु जरुरी हुन्छ । नेपालमा पेट्रोलियम बन्न सक्ने सम्भावनालाई यकिन गर्न सम्पूर्ण हिमालय क्षेत्रको भौगर्भिक इतिहास तथा भौगोलिक अवस्थितिको अध्ययन एवं मूल्याङ्कन अपरिहार्य हुन आउँछ । हालसम्म भएका भौगर्भिक अध्ययन तथा अनुसन्धानका आधारमा करिब पाँच करोड वर्षअघिसम्म भारतीय भूखण्ड र एसियन भूखण्डको बिचमा रहेको हालको नेपाल तथा सम्पूर्ण हिमालय क्षेत्रले ओगटेको स्थानमा टेथिस नामको सागर रहेको विश्वास गरिन्छ । टेथिस सागरले ओगटेको विभिन्न स्थानमा ठुलठुला सेडिमेन्टरी बेसिन विकसित भई पेट्रोलियम बन्नका लागि अनुकूल वातावरण सिर्जना भएको विश्वास छ । विगतमा अस्तित्वमा रहेका यस्ता बेसिन पेट्रोलियम अन्वेषणका लागि लक्षित स्थानमा पर्छन् । नेपालको पूर्वमा भारतको आसाम बेसिन र पश्चिममा पाकिस्तानको पोतवार बेसिन उल्लिखित भौगर्भिक इतिहास बोकेका बेसिन हुन, जहाँबाट हालसम्म पनि पेट्रोलियम उत्पादन भइरहेको छ । आसाम र पोतवार बेसिनसँग मिल्दोजुल्दो भौगर्भिक बनावट भएको नेपालको तराई र चुरेक्षेत्रमा पर्ने गङ्गा बेसिनको भूभागमा हालसम्म भएका विभिन्न अध्ययन अनुसन्धानले तेल तथा ग्यास पाइन सक्ने सम्भावना देखाउँछ । हालसालै (मे, २०२५) भारतको उत्तर प्रदेश राज्यको बलिया डिस्ट्रिक्ट र पोतवार क्षेत्रको एटोक डिस्ट्रिक्ट (ढोक सुल्तान– ३, सेप्टेम्बर२०२५) मा कच्चा तेल/ग्यासको भण्डार पत्ता लागेको खबरले भावी दिनमा नेपालमा गरिने अन्वेषणका लागि थप उत्साह तथा ऊर्जा प्राप्त भएको छ ।
विगतमा भएका भौगर्भिक अध्ययनबाट पेट्रोलियम बन्न सक्ने स्रोत चट्टान, त्यसलाई भण्डारण गर्न सक्ने भण्डार चट्टान र बगेर वा उडेर खेर जान नदिने ढकनी चट्टान नेपालमा उपलब्ध रहेको देखिएको छ । विभिन्न समयमा समग्र तराई, चुरे र महाभारत क्षेत्रको केही भाग समेट्ने गरी सञ्चालित भूभौतिक सर्वेक्षणले यस क्षेत्रको सतहमुनि कच्चा पेट्रोलियमलाई भण्डारण गरी सुरक्षित राख्न आवश्यक पर्ने भौगर्भिक संरचना पनि रहेको पुष्टि गरेको छ । दैलेखको पादुकास्थान, श्रीस्थान, नाभिस्थान र आसपासका क्षेत्रमा करिब १४ किमीको दुरीमा ४५ वटा ग्यास चुहावट स्थल भेटिनुले नेपालमा पेट्रोलियम भण्डार हुन सक्ने सम्भावनालाई थप बल प्रदान गरेको छ ।
पेट्रोलियम अन्वेषणबाट कच्चा तेल वा ग्यास फेला नपरेमा ठुलो धनराशि खेर जाने भएकाले यस्तो लगानी आर्थिक दृष्टिकोणले पनि जोखिमपूर्ण मानिन्छ । नेपालको विकट भौगोलिक अवस्थिति, जटिल भौगर्भिक बनावट, लगानी सुरक्षा र लगानीमैत्री वातावरणको प्रत्याभूति आदिका कारण स्थापित र पेट्रोलियम कार्यमा सफल इतिहास बोकेका अन्तर्राष्ट्रिय कम्पनीलाई नेपालमा लगानीका लागि आकर्षित गर्नु प्रमुख चुनौती रहेको छ ।
दैलेखले बढाएको उत्साह
दैलेखमा हालसालै सम्पन्न विस्तृत पेट्रोलियम अन्वेषण चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको हो । यो सम्झौता अन्तर्गत देशका अन्य पेट्रोलियम सम्भावित क्षेत्रमा पनि थप अध्ययन भएका छन् । पेट्रोलियम अन्वेषण परियोजना, खानी तथा भूगर्भ विभागका भूर्भविद्हरूले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पूरा गरी तयार पारेको भौगर्भिक नक्सालाई आधार मानी विस्तृत अन्वेषण सञ्चालन भएको हो । यस क्षेत्रमा चीनको टोलीले सङ्कलन गरेको स्रोत चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको छ । त्यसै गरी जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुन सक्ने यथेष्ट प्रमाण सतही अध्ययनबाट पनि देखिएका छन् । सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक पर्ने स्रोत चट्टान, त्यसलाई भण्डार गर्न सक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचना यस क्षेत्रमा पेट्रोलियमको भण्डार हुन सक्ने सम्भावनाका बलिया आधार हुन् ।
अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियमको भण्डार भएको पुष्टि भएमा भण्डार प्रमाणीकरण प्रक्रिया अन्तर्गत भण्डारको आकार, प्रकार, आयतन र व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको सूक्ष्म विश्लेषण गरी व्यापारिक प्रयोजनका लागि उपयुक्त छ वा छैन त्यसको निष्कर्ष निकालिन्छ । व्यापारिक प्रयोजनका लागि उपयुक्त देखिएको भण्डारलाई प्रमाणित भण्डार मानिन्छ जसको अर्थ लक्षित पेट्रोलियम भण्डारमा उपलब्ध परिमाणमध्येबाट व्यावसायिक रूपमा उत्पादन गर्न सकिने कच्चा तेल वा ग्यासको कुल परिमाणलाई जनाउँछ । माथि उल्लिखित चरणबाट व्यापारिक महत्वको भण्डार रहेको प्रमाणित भएमा सो भण्डारलाई उत्पादनको प्रक्रियामा अगाडि बढाइन्छ ।
दैलेखमा सञ्चालित विस्तृत पेट्रोलियम अन्वेषणले भण्डार पत्ता लगाउने महत्वपूर्ण चरण सफलतापूर्वक पार गरेको छ । अन्वेषणात्मक ड्रिलिङका क्रममा विभिन्न गहिराइमा रहेका चट्टानका तहमा प्राकृतिक ग्यास रहेको फेला परेको छ । पेट्रोलियम अन्वेषण अन्तर्गत अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार फेला पर्नुलाई संसारभरि नै एउटा महत्वपूर्ण कोसेढुङ्गा र उत्साहपूर्ण भौगर्भिक सफलता मानिन्छ । यस अर्थमा दैलेखको सफलता पेट्रोलियम अन्वेषणको इतिहासमै नेपालका लागि पहिलो र ऐतिहासिक उपलब्धि हो । यो उपलब्धिले नेपालको पेट्रोलियम अन्वेषणले एक महत्वपूर्ण खुड्किलो पार गरेको छ र यसले आगामी दिनमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सकारात्मक सन्देश प्रवाह गर्ने छ ।
दैलेखको अन्वेषणात्मक ड्रिलिङ सम्पन्न भएको क्षेत्रको भूगर्भमा पेट्रोलियम रहेको पुष्टि भए पनि व्यावसायिक उत्पादनमा जानुपूर्व भण्डार मूल्याङ्कन र भण्डार प्रमाणीकरणको कार्य बाँकी रहेको छ । यस सन्दर्भमा दैलेखमा ड्रिल भएको इनारमा प्राकृतिक ग्यासको बहाब परीक्षणलगायत अन्य प्राविधिक परीक्षणपश्चात् मात्र सो इनारबाट उत्पादनको सम्भावना यकिन गर्न सकिने छ । यस इनारमा हुने परीक्षणबाट सकारात्मक नतिजा प्राप्त भएमा हालको अध्ययन क्षेत्रले समेटेको पेट्रोलियम क्षेत्रको समग्र मूल्याङ्कन गरी भण्डार प्रमाणीकरण गर्न र सो क्षेत्रमा अन्य उपयुक्त उत्पादन स्थल यकिन गर्न विस्तृत अन्वेषणका थप कार्य गर्नुपर्ने हुन्छ ।
अन्वेषण, विकास र उत्पादन
पेट्रोलियम अन्वेषण चरणबद्ध रूपमा सञ्चालन हुने अध्ययन/अनुसन्धनात्मक क्रियाकलाप हो । पेट्रोलियम अन्वेषण आफैँमा अनिश्चित, चुनौतीपूर्ण र आर्थिक जोखिमयुक्त कार्य भएकाले यसमा सुरुवाती चरणको अध्ययन/अनुसन्धानको पूर्ण विश्लेषण गरी त्यसबाट सकारात्मक नतिजा प्राप्त भएमा मात्र क्रमशः अघिल्ला चरणको कार्य प्रारम्भ गरिन्छ । अध्ययन अनुसन्धानका प्रारम्भिक चरणबाट सम्भावना देखिएका कैयौँ स्थानमा खोजी कार्य सफल नभएका उदाहरण छन् । पेट्रोलियमको खोजीमा यस्ता जोखिमलाई स्वीकार गर्नुको एक मात्र कारण सफलता हासिल भएमा त्यसबाट प्राप्त हुने उपलब्धि नै हो । पेट्रोलियम अन्वेषणसम्बन्धी कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी लक्ष्यसहित अगाडि बढेमा केही वर्षभित्रै पेट्रोलियम खोजी कार्य एउटा निष्कर्षमा पुग्न सक्छ । अन्वेषणमा अर्बौं रकम खर्च हुने र अन्वेषणबाट पेट्रोलियम फेला नपरेमा कम्पनीको लगानी खेर जाने भएकाले सरकारका तर्फबाट अधिकतम लचकता अपनाई अन्वेषणलाई अविछिन्न सञ्चालन गर्नका लागि सहज वातावरण निर्माण गर्नु जरुरी हुन्छ ।
दैलेखमा सम्पन्न अन्वेषणात्मक ड्रिलिङबाट सो क्षेत्रको भूगर्भमा प्राकृतिक ग्यास रहेको पत्ता लागेको छ । पेट्रोलियम अन्वेषणमा विश्वभरि नै यसलाई एउटा महìवपूर्ण सफलताका रूपमा लिइन्छ । पेट्रोलियम कार्यको अन्तर्राष्ट्रिय अभ्यास तथा विद्यमान नेपाल पेट्रोलियम ऐन, २०४० र पेट्रोलियम नियमावली, २०४१ अनुसार अन्तर्राष्ट्रिय तेल कम्पनीसँग पेट्रोलियम सम्झौता गरी अन्वेषण/उत्पादन अगाडि बढाउनु उपयुक्त विकल्प हुन सक्छ । यस कार्यबाट पत्ता लागेको प्राकृतिक ग्यासको भण्डार व्यापारिक महत्वको प्रमाणित भई उत्पादन प्रारम्भ भएमा देश एउटा नयाँ युगमा प्रवेश गर्ने विश्वास गर्न सकिन्छ ।