• २८ फागुन २०८२, बिहिबार

भारतको सामलले टर्छ बदेडावासीका दलितको छाक

blog

भारतको सामलकाे भरमा बाँचेको बदेडाको दलित बस्ती । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागुन २८ गते । बाजुराको बुढीगङ्गा–१० बदेडाका ६५ दलित परिवारलाई भारतको सामल र नेपालकाे आगोपानीको भरमा बाँच्नु परेको छ ।

बदेडा गाउँको दलित बस्तीमा झन्डै ६५ परिवार बसोबास गर्छन् । यी परिवारका तन्नेरी पुरुष तथा महिला प्रायः सबै भारत जाने र त्यहाँबाट कमाएको पैसाले गाउँमा रहेका छोराछोरी र वृद्धवृद्धाको गुजारा चलाउने गर्दछन् ।

गाउँमा बस्नेहरू पनि भारतको सामलका भरमा छन् । उनीहरूका लागि यो अवस्था अहिलेको मात्र होइन; यहाँका दलित परिवारको अवस्था पुस्तौँदेखि उस्तै छ ।

यहाँका ८५ घरपरिवारमध्ये एक–दुई जना मात्र सरकारी जागिरमा हुनुहुन्छ । अन्य सबै दलित युवकयुवती भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका छन् ।

बुढीगङ्गा–१० बदेडाकी स्थानीय बाटु सार्कीले बाजेको पालादेखि अहिलेसम्म भारतको कमाइले गाउँमा छाक टार्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा बसेर केही गरी खाने अवस्था छैन । यहाँ विकल्प नभएपछि मेरा श्रीमान् विगत २० वर्षदेखि भारतको होटलमा काम गरेर घरमा पैसा पठाउनुहुन्छ ।”

यो अवस्था बाटुको परिवारको मात्र होइन, यहाँका ६५ घरपरिवारको कथा उस्तै छ । “मेरा "सासू-ससुरा र बाआमाले पनि आफ्नो पूरै जीवन भारतमै बिताउनुभयो । अहिले श्रीमान् पनि भारतमै हुनुहुन्छ । उहाँले पैसा पठाएपछि मात्र घरमा चुलो बल्छ” सार्कीले बताउनुभयो ।

बदेडा बस्तीमा सार्की, विक र दमाई गरी झन्डै ६५ दलित परिवारको बसोबास छ । यस बस्तीका अधिकांश दलित परिवार लामो समयदेखि भारतमा श्रम गरिरहेका छन् । गाउँमा बस्नेहरूलाई पनि भारतीय कमाइले नै धानेको छ ।

यो बस्तीमा अहिले पाँच जना उच्च शिक्षा र केही विद्यार्थी माध्यमिक तहमा अध्ययनरत छन् । उनीहरूलाई भारतकै पैसाले पढाउनुपर्ने बाध्यता छ । भारतबाट पैसा आए कलेज र विद्यालयको शुल्क तिर्ने र पैसा नआए पढाइ छोडेर भारततिरै लाग्ने गरेको स्थानीय बताउँछन् ।

अहिले यस बस्तीको जनसङ्ख्या झन्डै ३२५ छ । त्यसमध्ये १५० भन्दा बढी महिला तथा पुरुष भारतका विभिन्न ठाउँमा रोजगारी गर्छन् । उनीहरूले पैसा पठाए मात्र यहाँका परिवारको चुलोमा आगो बल्ने गरेको दलित परिवारको भनाइ छ ।

स्थानीय डिल्ली विकले आफ्ना चार छोरा, चार बुहारी र नातिनातिना सबै भारतमा बसोबास गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यता घरमा बुढी आमा र दुई–चार जना नातिनातिना मात्र छौँ । हामी पनि उतैको भरमा बाँचेका छौँ । उताबाट रासनपानीका लागि पैसा पठाउँछन् र त्यसैले पेट पाल्छौँ ।”

यहाँ जमिन भए पनि सिँचाइ छैन । सिँचाइ नहुँदा खेती हुँदैन । “मैले पनि लामो समय भारतमा बसेर छोराहरू पढाएँ । अहिले छोराहरू पढेर पनि के गर्ने ? गाउँमा रोजगारी छैन । उपाय नभएपछि उनीहरू भारतमै नोकरी गरिरहेका छन् । उनीहरूले पठाएको सामलकै भरमा हामी बाँचेका छौँ,” विकले भन्नुभयो ।

यो अवस्था बदेडाका दलितको मात्र होइन, बाजुराका नौवटै स्थानीय तहमा रहेका दलित परिवारको स्थिति उस्तै छ । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीगङ्गा, बडीमालिका, गौमुल, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा बसोबास गर्ने अधिकांश दलित परिवारको पीडा साझा छ ।

घरखर्च चलाउन र छोराछोरी पढाउन भारतमा मजदुरी गर्नु यहाँको बाध्यता बनेको छ । देशमा शासन व्यवस्था परिवर्तन भए पनि यहाँका दलित परिवारको अवस्थामा सुधार आएको छैन । अहिलेसम्म यहाँका कोही पनि व्यक्ति संघीय, प्रदेश वा स्थानीय तहको सरकारी सेवामा छैनन् । एक जना महिला विगत सात वर्षदेखि वडा सदस्य हुनुहुन्छ, उहाँबाहेक अन्य कोही पनि राजनीतिक पदमा छैनन् ।

यहाँका दलितका लागि देशको परिवर्तन ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ झैँ भएको छ । व्यवस्था फेरिए पनि अवस्था नफेरिएका कारण बदेडावासी पुस्तौँदेखि भारतको सामल र आगोपानीकै भरमा बाँच्न विवश छन् ।