नवीनराज कुइँकेल
लमजुङ, कात्तिक २५ गते । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा लमजुङमा सरकारी कार्यालय र स्थानीय तहले गरी कुल २४ प्रतिशत बजेट खर्च गरेका छन् । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म उक्त बजेट खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङका अनुसार संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालय, जिल्ला समन्वय समिति र आठ वटा स्थानीय तहले गरी चालु तथा पुँजीगतमा यतिका रकम खर्च गरेका हुन् । कूल बजेट ६ अर्ब ७२ करोड ६८ लाख १३ हजार नौ सय ५६ रहेकामा एक अर्ब ६१ करोड ४२ लाख दुई हजार एक सय अर्थात् २४.०१ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङका प्रमुव भवराज जोशीले जानकारी दिनुभयो ।
तीन महिनाको अवधिमा पुँजिगततर्फ भने न्यून रकम मात्र खर्च भएको छ । पुँजीगततर्फ ५.२७ प्रतिशत मात्रै खर्च भएको कोलेनिकाले जनाएको छ । पुँजीगत तर्फ २ अर्ब ८० करोड ३८ लाख ६९ हजार बजेट रहेकोमा १४ करोड ७७ लाख ५७ हजार चार सय ३० रुपैयाँ अर्थात् ५.२७ प्रतिशत मात्र खर्च भएको हो ।
चालु वर्षको बजेटअनुसार नेपाल सरकारको खर्चभन्दा लमजुङमा बढि खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपियाँ अर्थात् वार्षिक विनियोजन बजेटको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो ।