अमरराज नहर्की
तनहुँ, कात्तिक २५ गते । तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सुरु गरिएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले मङ्गलबारबाट सुरु गरेको हो ।
प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका प्रमुख डा. नारायण श्रेष्ठका अनुसार बालबालिकालाई बिहान ७ देखि १० बजेसम्म प्राशन गराइनेछ । यस वर्ष पहिलो पटक सञ्चालन भएकाले सहभागी बालबालिकाको सङ्ख्या निश्चित नभए पनि आगामी दिनमा कार्यक्रम अझ सहज हुने डा. श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार नेपालका २५ जिल्लामा यस वर्षबाट स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु भएको छ । प्रत्येक पुष्य नक्षत्रको समयअनुसार बालबालिकालाई प्राशन गराइनेछ ।
डा. श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशन यही कात्तिक २५ गते, मङ्सिर २२ गते, पुस २१ गते, माघ १८ गते, फागुन १६ गते, चैत १४ गते, वैशाख १०, जेठ ६ गते, असार ३ गते, साउन ९ गते, भदौ ५ गते र असोज २९ गते खुवाइनेछ । स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाइने बताउँदै डा. श्रेष्ठले यो चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइने जानकारी दिनुभयो ।
नेपाल सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा प्रत्येक महिनाको पुष्य नक्षत्रमा स्वर्णविन्दु प्राशन सेवन गराइने चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो ।
केन्द्रका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्ने डा. श्रेष्ठ बताउनुहुन्छ ।