यदुप्रसाद भट्ट
मनाङ, कात्तिक २५ गते । जिल्ला सदरमुकाम चामेमा अवस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मनाङले अब आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन सुरु गरेको छ । स्थापना कालदेखि हालसम्म भाडाको घरमा सेवा प्रवाह गर्दै आएको कार्यालयले आधुनिक सुविधासम्पन्न सरकारी भवनमा सर्ने ऐतिहासिक कदम चालेको हो ।
एक विशेष समारोहका बिच नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नयाँ भवनको उद्घाटन गर्नुभयो । नयाँ भवन उद्घाटन समारोहमा उहाँले नयाँ भवनले सेवा प्रवाहलाई अझ छरितो, सहज र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै वित्तीय सुशासन कायम राख्नका लागि सबैलाई आह्वान गर्नुभयो । साथै उहाँले मनाङ जिल्लाको समग्र आर्थिक व्यवस्थापन सुदृढीकरण र विकासका क्षेत्रमा नेपाल सरकार निरन्तर साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । प्रमुख अतिथि पौडेलले भवन निर्माण समयमै सम्पन्न गरेकोमा कोलेनिका मनाङ र निर्माण कम्पनी दुवैलाई धन्यवाद प्रकट गर्नुभयो ।
कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले नयाँ भवनबाट सेवा सञ्चालनले कार्यालयका कर्मचारीमा नयाँ उत्साह, आत्मविश्वास र जिम्मेवारीको भावना थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोलेनिका मनाङलाई उच्च मनोबलका साथ पारदर्शी र प्रभावकारी सेवामा समर्पित रहन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा सबै सरकारी कार्यालय आफ्नै भवनबाट सञ्चालन गर्न सहयोग र समन्वय जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले वर्तमान परिवेशमा कर्मचारीमा नवीन सोच, सृजनशीलता, व्यावसायिकता र प्रतिस्पर्धी क्षमताको आवश्यकता रहेको उल्लेख गर्दै जनसेवामा पूर्ण समर्पित रहन निर्देशन दिनुभयो ।
कार्यक्रमका अध्यक्ष कोष नियन्त्रक सुवास अधिकारीले नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दा वित्तीय सुशासन कायम गरी छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहका लागि सहजता प्राप्त भएको उल्लेख गर्दै तालुक निकायको निर्देशन र सेवाग्राहीहरुका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले र सहमहालेखा नियन्त्रक दीपक लामिछानेले समेत शुभकामना मन्तव्य राख्दै नयाँ भवनको प्रयोगले सेवाको गुणस्तर र पहुँचमा थप सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
कोष नियन्त्रक सुवास अधिकारीको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल, जिल्ला न्यायाधीश, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, सहमहालेखा नियन्त्रक दीपक लामिछाने, जिल्ला सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, वित्तीय संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रम सामाजिक विकास कार्यालय मनाङका प्रमुख नारायणप्रसाद बाँस्तोलाले सञ्चालन गर्नुभएको थियो भने कोलेनिका मनाङका लेखापाल खिलबहादुर कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष सुवास अधिकारीले नयाँ भवनबाट सेवा प्रवाह गर्दा वित्तीय सुशासन कायम राख्दै छिटो, छरितो र प्रभावकारी सेवामा कार्यालय समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।