• २० कात्तिक २०८२, बिहिबार

विकासमा प्रतिबद्धता

blog

विश्व मानव समाजले शान्ति र समृद्धिका निम्ति अनेक आयाम अगाडि बढाएको छ । मानिसका निम्ति आधारभूत शिक्षा, स्वास्थ्य, बसोबास, खाना, पोषण, भौतिक पूर्वाधारलगायतमा देशीय प्रयाससँगै सामूहिक संसारिक प्रसासले पनि ठुलो भूमिका निर्वाह गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घको सदस्य नेपालले शान्ति, समृद्धि र समाज विकासमा विश्वमञ्चमा देशीय प्रतिबद्धतालाई सुस्पष्ट पार्दै आएको छ । त्यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्नुभयो । यो शिखर सम्मेलनले सन् १९९५ मा कोपेनहेगेनमा भएको पहिलो सामाजिक विकास सम्मेलनको प्रगतिको गम्भीर समीक्षा गरेको छ । कोपेनहेगेन सम्मेलनले मानव केन्द्रित विकासलाई उच्च प्राथमिकता दिई विकासका बहुआयामिक क्षेत्रमा नयाँ लक्ष्य र मार्गचित्र कोरेको थियो । सहयोगको अनेक क्षेत्रलाई अगाडि बढाउँदै आर्थिक सामाजिक रूपमा पछाडि परेका देशका निम्ति विकासलाई केन्द्रीकृत गर्ने मार्ग प्रशस्त गरेको थियो । पहिलो विकास सम्मेलनताका नेपालमा भर्खरै प्रजातन्त्र पुनस्र्थापनाा भएको थियो । देशमा ४९ प्रतिशतभन्दा बढी सघन गरिबी थियो । शिक्षा, स्वास्थ्य, विद्युत्, पिउने पानीलगायतको अभाव थियो । नेपालको साक्षारतासमेत न्यून भएको त्यस बखत देशका धेरै जिल्लामा सडक यातायातसम्म पुगेको थिएन । अहिले देशका सबै जिल्ला सदरमुकाममा सडक सञ्जालले छोएको छ भने अब सीमित पालिका मात्र सडक यातायातले छुन बाँकी छ । तिनमा पनि कच्ची सडक पुग्ने क्रम आरम्भ भइसकेको छ र चाँडै सबै पालिकामा सडक पुग्दै छ ।

सामाजिक विकासको कतार शिखर सम्मेलनमा नेपालको विकास प्रक्रिया, उपलब्धि र पछिल्लो राजनीतिक परिवर्तनको अवस्था विश्वसमक्ष राख्ने सुअवसरसमेत प्राप्त भएको छ । राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्न नेपालले गरिरहेको प्रयासबारे जानकारी गराउनुभयो । नेपालको विकास प्रयासको केन्द्रविन्दुमा समावेशिता विद्यमान छ । महिला, युवा, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिलगायतको सशक्तीकरण अगाडि बढिरहेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित नेपालले गरिरहेको प्रयासको सम्मेलनमा जानकारी गराइयो । नेपालको संविधानले सामाजिक विकास पहिलो सम्मेलन कोपेनहेगन घोषणापत्रका प्रमुख सिद्धान्तलाई संवैधानिक र कानुनी तबरमै सम्बोधन गरेको छ । हरेक नागरिकले समान अधिकार, अवसर र सम्मानका साथ जीवनयापन गर्न पाउने समाजको परिकल्पनामा संवैधानिक र राजनीतिक सङ्कल्प गरेको छ । नेपाल आफ्नै र दातृ सहयोगसमेतको सहयोगमा मानव सूचकाङ्कमा उल्लेख्य उपलब्धि हासिल हुँदै गएको छ । सन् १९९५ देखियता गरिबी आधाभन्दा बढीले घटेर अहिले १८ प्रतिशतकोहाराहारीमा झरेको छ । सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यको प्रगति अहिले नै विश्वको औसतभन्दा बढी रहेको छ । देशका ९५ प्रतिशतभन्दा बढी नेपालीले स्वच्छ ऊर्जा प्रयोग गरिरहेका छन् । शिक्षालगायत सबै क्षेत्रमा लैङ्गिक समानता बढेको छ । मातृ तथा बाल मृत्युदरमा उल्लेखनीय कमी आएको छ । नेपालमा हाल सञ्चालित करिब ९० सामाजिक सुरक्षा कार्यव्रmमले वृद्धवृद्धा, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सहयोग पुगिरहेको छ । राष्ट्रपति पौडेलले यी विषयबारे विश्वसामु सगौरव जानकारी गराउनुभयो ।

समयको परिवर्तनसँगै मानिसका आवश्यकता र चाहना पनि परिवर्तन भइरहन्छन् । विकासशील मुलुकका अझै पनि कतिपय आफ्नै समस्या छन् । विकासोन्मुख मुलुकका निम्ति स्रोतका साथै प्राविधिक ज्ञान र सिप पनि आवश्यक छ । न्यायपूर्ण विश्व व्यापार प्रणालीबिना विकासशील मुलुकले आर्थिक उत्थान गर्न सकिन्न । विश्वका कतिपय सङ्घ संस्थाले विकास सहायताका प्रतिबद्धता कार्यान्वयन ढिलाइ भइरहेको छ । जलवायु परिवर्तनको असरले विकासशील मुलुकलाई पीडित बनाएको छ । नेपाल पनि यस्ता अनेकौँ पीडाबाट मुक्त छैन । नेपालका निम्ति जलवायु वित्तको आवश्यकता भए पनि सहज रूपमा प्राप्त हुन सकेको छैन । धेरै विकासशील मुलुक सूचना, सञ्चार र प्रविधिमा अझै पनि पछाडि छन् । त्यसका निम्ति प्रविधि हस्तान्तरण र लगानीको समेत आवश्यकता छ । यी विषयलाई कतार विश्व सम्मेलनमा नेपालले उच्च महत्व दिएको छ । सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले पछिल्लो राजनीतिक विकासक्रमको जानकारी गराउनुभयो । उहाँले भदौ २३ र २४ मा नवपुस्ता अर्थात् जेनजीका नाममा भएका प्रदर्शनका उपलब्धिलाई संविधान र लोकतान्त्रिक प्रणाली अनुरूप समाधान गरेको बताउनुभयो । फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनतर्फ मुलुक अगाडि बढेको जानकारीले नेपालको प्रतिष्ठा बढेको छ । समग्र विकासको यो प्रतिबद्धतासँगै समृद्धितर्फ अझै क्रियाशील प्रतिबद्धता भने वाञ्छनीय छ ।