टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), कात्तिक २५ गते । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशका ७५३ वटै पालिकामा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत गुल्मीका विभिन्न गाउँ तथा नगर कमिटीले मङ्गलबार जनप्रदर्शन गरेका छन् ।
पालिकाहरूमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थित भएर प्रदर्शन तथा कोणसभा गरेको नेकपा (एमाले) जिल्ला कमिटी गुल्मीका प्रचार विभाग प्रमुख चक्रबन्दु भुसालले जानकारी दिनुभयो। केन्द्रिय निर्देशनअनुसार सत्यवति, कालीगण्डकी र रेसुङ्गा बाहेक मुसिकोट नगरकमिटी, छत्रकोट गाउँकमिटी, धुर्कोट गाउँकमिटी, मालिका, इस्मा, मदाने, रुरु, गुल्मीदरवार, चन्द्रकोट गाउँकमिटीले बृहत् जनप्रदर्शन गरेको भुसालले बताउनुभयो ।
उहाँले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताउनुभयो। कात्तिक २९ गते जिल्लाभरका कमिटीहरूको उपस्थितिमा तम्घासमा बृहत् प्रदर्शन हुने भुसालले बताउनुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटी सदस्य जनक पन्थका अनुसार छत्रकोटमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य जङ्गबहादुर नेपालीको अगुवाईमा जनप्रदर्शनसहित भुडुवा बजार परिक्रमा गरेर पार्टी कार्यालय अगाडि कोणसभा गरिएको थियो । प्रदर्शनकारीहरुले संबैधानिक सर्वोच्चता कायम गर, राष्टियताको रक्षा गर, शान्ति सुरक्षा कायम गर, विध्वंशकारीहरूलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।