• २९ वैशाख २०८३, मङ्गलबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

blog

काठमाडौँ, वैशाख २९ गते । काठमाडौँलगायत देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ । 

प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर जडीबुटीस्थित सडकमा बा.प्र.०२–०६० प. १२७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–९ का ४३ वर्षीय भुवन गुरुङको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।   

त्यसैगरी, महोत्तरीको गौशाला नगरपालिका–४, ठाकुरपोखरी नजिक सडकमा बी.आर.३०यु. ४४९९ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–३, नवराजपुर बस्ने २५ वर्षीय सुवेशकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गौशालामा उपचारका क्रममा मृत्यु भएको हो ।

 त्यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–१७, विवेक पट्रोलपम्पस्थित सडकमा बागमती प्रदेश०१–००६ख. ६६४९ नम्बरको बसले प्रदेश२–०१–००१त. १४६७ नम्बरको ट्याक्टरलाई आज बिहान ठक्कर दिँदा ट्याक्टरमा सवार सप्तरी कन्चनरूप नगरपालिका–५ का १८ वर्षीय उत्तम सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सान्विसिटी अस्पताल लविपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी, रौतहट जिल्ला परोहा नगरपालिका–६, कोप्वास्थित सडकमा बी.आर.०५एएच. २८७७ नम्बरको मोटरसाइकल र बा.८१ प. ६४४८ नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किएर भएको दुर्घटनामा बी.आर.०५एएच. २८७७ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–३, तेजापाकड बस्ने २२ वर्षीय सुरेन्द्र पासवानको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.८१ प. ६४४८ नम्बरको मोटरसाइकलमा सवारमध्ये एक जनाको नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छभने एक जनालाई थप उपचारका लागि चितवनतर्फ रिफर गरिएको छ ।

यसैगरी, रौतहटको कटहरिया नगरपालिका–४, बहादुरपुर टोलस्थित सडकमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२–०३–११प. ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर फतुवा विजयपुर नगरपालिका–५, गमहरियाकी ३८ वर्षीया रिङ्कुदेवी ठाकुरको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

 दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ । रासस