• २५ कात्तिक २०८२, मङ्गलबार

अस्ट्रेलियामा ‘लुसिफर’ मौरीको खोजः सिङ भएको नयाँ प्रजातिले वैज्ञानिक चकित

blog

सिड्नी, कात्तिक २५ गते । घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ-सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ ।

यो नयाँ मौरी प्रजाति पश्चिमी अस्ट्रेलिया राज्यमा फेला परेको हो । यसको जानकारी कर्टिन युनिभर्सिटीले मङ्गलबार सार्वजनिक गरेको छ । विश्वविद्यालयको ‘स्कुल अफ मोलिक्युलर एन्ड लाइफ साइन्सेज’ की वैज्ञानिक डा. किट प्रिन्डरगास्टले सन् २०१९ मा खतरामा परेका जङ्गली फूलको सर्वेक्षणका क्रममा यस विशेष मौरीलाई पत्ता लगाउनुभएको थियो ।

डा.प्रिन्डरगास्टका अनुसार उक्त मौरीको महिलाको अनुहारमा देखिने साना र तीखा सिंग अत्यन्तै आकर्षक र असामान्य देखिन्थे । “महिलाको अनुहारमा यी अविश्वसनीय सिङ्ग थिए, जुन मैले पहिले कहिल्यै देखेकी थिइनँ”, उहाँले भन्नुभयो । नेटफ्लिक्सको चर्चित टेलिभिजन कार्यक्रम ‘लुसिफर’ की प्रशंसक समेत रहेकी उहाँले मौरीको अनौठो स्वरूपका कारण यसलाई ‘लुसिफर’ नाम दिन उपयुक्त ठान्नुभएको थियो ।

डा. प्रिन्डरगास्टले यस खोजलाई अस्ट्रेलियाको जैविक विविधताको दृष्टिले ऐतिहासिक भन्नुभएको छ । उहाँले भन्नुभयो, “यो मौरी समूहको नयाँ सदस्य हो, जुन २० वर्षभन्दा बढी समयपछि वर्णन गरिएको पहिलो प्रजाति हो । यसले हामीले अझ कति नयाँ जीवनरूप पत्ता लगाउन बाँकी छ भन्ने कुराको सङ्केत दिन्छ ।” विशेष गरी खानी उद्योगका गतिविधिका कारण देशी प्रजाति गुम्ने जोखिम बढ्दै गएका क्षेत्रमा यो खोजले अज्ञात र पत्ता नलागेका जीवको संरक्षणका लागि चेतना जगाउने उहाँले आशा व्यक्त गर्नुभयो ।

“धेरै खानी कम्पनीले अझै देशी मौरीको अध्ययन गर्दैनन्”, उहाँले भन्नुभयो, “त्यसैले हामीले केही प्रजातिलाई आधिकारिकरूपमा वर्णन गर्नु अघि नै गुमाइरहेका हुन सक्छौँ । यी मौरीले खतरामा परेका बोटबिरुवा र सम्पूर्ण पारिस्थितिक तन्त्रलाई समर्थन गर्ने अत्यावश्यक भूमिका खेल्छन् ।” डा. प्रिन्डरगास्टले भन्नुभयो, “यदि हामीलाई कुन मौरी कहाँ अवस्थित छन् र तिनीहरू कुन बोटबिरुवामा निर्भर छन् भन्ने थाहा छैन भने, हामीले तिनीहरू अस्तित्वमै छन् भन्ने पत्ता लगाउनुअघि नै मौरी र बोटबिरुवा दुवै गुमाउने खतरा बेहोर्न सक्छौँ ।”

वैज्ञानिकका अनुसार संसारका अधिकांश फूल फुल्ने बोटबिरुवा परागणकर्तामा, विशेष गरी मौरीमा निर्भर छन् । तर बास स्थानको विनाश, खानी उत्खनन र जलवायु परिवर्तनका कारण धेरै देशी मौरी प्रजाति हाल लोप हुने सङ्कटमा छन् । नयाँ ‘लुसिफर मौरी’को खोजले अस्ट्रेलियामा अझै धेरै अज्ञात जीवनरूप अस्तित्वमा रहेको पुष्टि गरेको छ । वैज्ञानिकले यसलाई मौरी संरक्षण र जैविक विविधता बचाउनका लागि नयाँ सुरुआतको रूपमा हेरेका छन् । रासस/एएफपी