चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २५ गते । ताप्लेजुङमा साना होटल तथा लज व्यवसायीलाई तालिम प्रदान गरिएको छ । पर्यटन प्रवर्धन साथै व्यवसायीको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउन साना होटल तथा लज व्यवसायीलाई तालिम प्रदान गरिएको हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जिल्लाका साना होटल तथा लज व्यवसायीलाई तालिम प्रदान गरेको हो । परिषदका कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार सदरमुकाम फुङ्लिङ र कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र सञ्चालित साना होटल तथा लज व्यवसायीलाई तालिम प्रदान गरिएको छ ।
दुई चरण गरी ४१ जना व्यवसायीलाई तालिम प्रदान गरिएको समृद्ध पहाडका परियोजना अधिकृत चन्द्रजङ्ग हमालले जानकारी दिनुभयो । परियोजना अधिकृत हमालका अनुसार पर्यटन प्रवर्धन र व्यवसायीको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउने उद्देश्यले आतिथ्यता तथा साना होटल लज व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको हो । स्थानीयलाई कञ्चनजङ्घा क्षेत्रको संरक्षणमा जोड्नेसमेत उद्देश्य रहेको हमालले बताउनुभयो ।
पहिलो चरणमा कात्तिक १५ देखि १९ गतेसम्म २० जना र दोस्रो चरणमा कात्तिक २० देखि २४ गतेसम्म २१ जना साना व्यवसायीलाई पाँच–पाँच दिने होटल व्यवस्थापन तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्ड र युनडिपीको लगानी तथा समृद्ध पहाड परियोजनाको सह–लगानीमा ‘दिगो पर्यटन परियाजना’अन्तर्गत साना व्यवसायीलाई होटल व्यवस्थापन तालिम दिएको उहाँको भनाइ छ ।
सदरमुकाम फुङ्लिङमा सञ्चालित तालिममा मुख्य प्रशिक्षक चन्दनकुमार शाह र प्रशिक्षक ईश्वर बस्नेतले प्रशिक्षण दिनुभएको छ । होटल व्यवस्थापन तालिममा पाहुनालाई गरिने सत्कार, सम्मान तथा व्यवहार साथै विभिन्न स्थानीय परिकार बनाउने शिक्षा प्रदान गरिएको मुख्य प्रशिक्षक शाहले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयस्तरमा उपलब्ध स्कुस र आलुका विभिन्न परिकार साथै खानाका परिकारहरू बनाउने तरिका सिकाइएको छ । यता होटल व्यवस्थापन तालिमका लागि ओमसाई टेक्निकल इन्स्टिच्युट विराटनगरको प्राविधिक सहयोग रहेको परिषद्ले जनाएको छ । समापन कार्यक्रममा तालिमबाट प्राप्त गरेको सीप र शिक्षालाई व्यवहारमा उतार्न तथा आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्न परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले प्रशिक्षार्थीलाई सुझाव दिनुभएको छ ।