• १३ असोज २०८१, आइतबार

बुलिङ भनेको के हो ?

blog

दीपक भट्टराई 

प्रिय भाइबहिनीहरू, ‘बुलिङ’ अर्थात् बदमासी भनेको के हो, के तपाईंहरूलाई थाहा छ ? स–साना भाइबहिनीदेखि किशोरकिशोरीले गर्ने त्यस्तो प्रकारको व्यवहार जसमा उनीहरूले आफ्नो साथीभाइ, दिदीबहिनी र कहिलेकाहीँ त आफ्नै गुरु तथा गुरुआमाहरू तथा जो कोहीलाई मनमा बिझ्याउनेगरी गर्ने व्यवहारलाई बुलिङ (Bullying) अर्थात् बदमासी भन्ने गरिन्छ । जो कसैलाई मर्का पर्नेगरी कुनै त्यस्तो व्यवहार गर्ने र उक्त व्यवहारको प्रतिक्रिया हेरेर आफूले आन्नद लिने जे जति कार्य पर्दछन् ती सबै समस्यामूलक व्यवहारलाई नै ‘बुलिङ’ भनिन्छ । तपाईंहरूको मनको साथी मुनाको यस अङ्कमा यसै विषयमा केही कुरा गरौँ है त :

विद्यालयमा वा विद्यालयभन्दा बाहिर हामीले धेरै व्यवहार गर्ने गर्दछौँ । जसमध्ये Bullying  अर्थात् बदमासी मतलव अरूलाई विभिन्न तरिकाले दुःख दिएर आफूले आनन्द लिने एक प्रकारको समस्यामूलक व्यवहार पनि पर्दछ । यस्तो व्यवहार विद्यालयमा बालबालिकाले प्रायः यौवन अवस्था सुरु हुनेदेखि किशोर अवस्थामा देखाउने गर्दछन् । उनीहरू स्वभावले नै चञ्चले हुने र व्यवहारमा परिपक्वता पनि नआएका कारणले यस्ता कार्य गर्दछन् । उनीहरूले के कुरामा ध्यान दिँदैनन् भने मैले गर्ने यस्तो व्यवहारले पीडितको मनमा कस्तो प्रभाव पार्दछ भन्ने कुरामा हेक्का राख्दैनन् ।  त्यस्ता कुरामा ध्यान नदिई केबल एकतर्फी रूपमा आफूले अर्काको पीडा हेरेर आन्नद लिने कार्यमा व्यस्त हुन्छन् । यस्तो व्यवहार गर्दा क्षणिक मजा लिने उद्देश्यले गरिए पनि कहिलेकाहीँ यसको प्रभाव अर्कोलाई निकै गम्भीर असर पर्न सक्छ । त्यस्तो असरजन्य प्रभावका कुरामा उनीहरूले ध्यानै दिएका हुँदैनन् जसले गर्दा उसलाई मानसिक प्रभाव परेको हुन्छ र त्यस कुराले कालान्तरमा गम्भीर परिणाम देखिन सक्छ । हाल यस प्रकारको ‘बुलिङ’को स्वरूप केही परिवर्तन भएको छ जसका बारेमा हामी जानकार भई त्यसबाट बच्न र त्यसलाई गम्भीर रूपमा लिन आवश्यक छ ।

‘बुलिङ’को रूपमा हुने गरेका व्यवहार

बदमासीअन्तर्गत अरूलाई Nickname राख्ने, अर्काको नाम कसैसँग जोडेर लेखिदिने, कोड भाषा राखी अर्कोलाई सङ्केत गर्ने, अरूलाई कागजको पुच्छर बनाई लगाइदिने, अरूलाई धम्क्याउने, मजाक गरेको भन्दै त्यस्तो व्यवहार अरूलाई गर्ने, सामाजिक सञ्जालमा अश्लील शब्दचित्र एकले अर्कोलाई पठाउने, छाडा voice mail गर्ने अनि त्यस्ता अश्लील शब्द प्रयोग गरी केटा केटी र केटी केटा बनेर अरूलाई दिग्दारी पार्ने व्यवहार पर्दछन् । त्यस्तै जिब्रो पड्काएर जिस्काउने, विभिन्न जनावरको आवाज निकालेर कक्षामा अरूलाई जिस्क्याउने, शारीरिक र मानसिक रूपमा अरूलाई होच्याउने, सामान्य कुटपिट गर्ने, छाडा शब्दको प्रयोग गर्ने अनि के बोलेको हो भनी प्रतिक्रिया गर्दा केही होइन भन्ने र कुरा तर्काउन खोज्ने आदि जस्ता समस्यामूलक व्यवहार वा कार्य यसअन्तर्गत पर्दछन् ।

‘बुलिङ’ भएको थाहा पाएपछि कसरी बच्ने

सर्व प्रथम त यस्ता व्यवहार कसले, कसरी, किन, कुन ठाउँमा, के कसरी गरेको छ त्यसलाई सचेत रूपले लिने गर्नुपर्छ । आफूलाई  बुलिङ गरेको हो भनी लागेमा त्यसलाई प्रतिवाद गर्दै अस्वीकार गर्ने  वा आफूलाई उसको व्यवहारले केही असर गरेको छैन जस्तो गरी आफ्नो सामान्य व्यवहारलाई निरन्तर जारी राख्नुपर्छ । त्यस्तो कार्यमा प्रतिवाद गर्दा पनि सोही व्यवहार दोहो-याउँदछ भने आफूले त्यस व्यवहारको स्मार्ट तरिकाले प्रतिवाद (smart reaction) गर्ने गर्नुपर्छ । जस्तै messenger, facebook, tiktok   वा अरू कुनै माध्यमबाट आफूलाई bullying भएको छ भन्ने लागेमा केही जवाफ नदिई, नगरी Block गर्ने । त्यसपछि त्यो व्यक्तितिर आफ्नो ध्यान नलैजाने र यो केबल क्षणिक घटना हो भनी मनमा लिने गर्नुुपर्छ । जसरी हामी photo, conversation delete गरेर आनन्द लिन्छौँ त्यसैगरी दिमागबाट उक्त घटनालाई delete गर्ने र अगाडि बढ्ने तर bullying आफ्नै टोल छिमेक वा विद्यालयमा प्रत्यक्ष रूपमा भएको छ र त्यस्तो कार्यले आफूूलाई साच्चिकै मनमा चोट पु-याएको छ भने त्यस्तो कार्यको तुरुन्तै प्रतिकार गर्ने गर्नुपर्छ । 

अर्थात् जसले त्यस्तो गरेको हो उसैसँग नडराई प्रतिकार गर्ने तर बुलिङ गर्ने पक्ष आफूभन्दा बलियो वा ठूलो व्यक्ति छ भने आफूमाथि असभ्य वा पीडादायी बदमासी भएको जानकारी जति सक्दो छिटो आफू निकटको व्यक्तिजस्तै बुबा, आमा, दाजु, दिदी, साथी, प्रधानाध्यापक, शिक्षकहरूलाई गराइहाल्नु पर्दछ । यसले गर्दा उक्त समस्याको समाधान तत्कालै अन्दस्पट अर्थात्  बुलिङ भएको ठाउँ र समयमा नै हुन्छ । यसो गर्दा आफूलाई त्यसको असर कम पर्दछ जुन समस्यामूलक यस्ता व्यवहारको मनोवैज्ञानिक प्रभावकारी समाधान पनि हो ।

अन्त्यमा 

हामीले के कुराको याद राख्नु पर्दछ भने  बुलिङ केबल कुनै व्यक्तिले अर्कोलाई क्षणिक दुःख दिएर आफूले त्यसबाट आनन्द लिने मनसायले गरेको हुन्छ । अर्थात् उसको आसय दीर्घकालीन चोट पु-याउने हुँदैन तर त्यस्तो व्यवहार गर्दा हाम्रो नेपाली उखान छ नि ‘बिरालोको ख्याल ख्याल मुसाको काल’ जस्तै हो किनकि सामान्य सोचिएका त्यस्ता व्यवहारले पछि गम्भीर परिणाम वा रूप लिन सक्दछ भन्ने हो । त्यसैले ‘बुलिङ’ गर्नु राम्रो व्यवहार होइन जुुन जो कोहीले समयमै हेक्का राख्नुुपर्छ । ।

ल, अहिलेलाई यहाँ यति मात्र.है । भाइबहिनीहरू, यदि तपाईंहरूलाई कुनै समस्या भएमा मेरो साथी मुना छ भनी आफ्नो मनको कुरा हाम्रो munamonthly@gmail.com मार्फत राख्न ढिलाइ नगर्नु है त ।