• ३१ असोज २०८२, शुक्रबार

हाम्रो अधिकार

blog

साथीहरू, म अहिले कक्षा ५ मा अध्ययन गर्दै छु । भदौ २९ गते हामी राष्ट्रिय बालदिवस मनाउँदै छौँ । बालदिवस नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि मनाउने गरिन्छ तर अन्तर्राष्ट्रिय दिवसको मिति फरक हुन्छ । विश्व बालअधिकार दिवस हरेक वर्ष नोभेम्बर २० तारिखमा मनाइन्छ । त्यो दिवस मङ्सिरमा पर्छ । २०८२ मङ्सिर ४ गते विश्व बालअधिकार दिवस परेको छ । 

हामीले पढ्ने पुस्तकबाट बालदिवस र बालअधिकारका बारेमा धेरै जानकारी पाएका छौँ । आजको बालबालिका भोलिका कर्णधार हुन् भन्ने गरिन्छ । बालबालिकाले हरेक क्षेत्रमा उचित अवसर पाएमा भविष्य उज्यालो हुन्छ । अनि परिवार, समाज र देश सबैलाई फाइदा पुग्छ । हामीलाई कक्षामा गुरुआमाले बालबालिकाका बारेमा धेरै कुरा सिकाउनुहुन्छ । उहाँहरूले हरेक बालबालिकाले पढ्न र लेख्न पाउनु पर्छ भन्ने गर्नुहुन्छ । यी कुरा बालबालिकाको अधिकार पनि हो । 

साथीहरू, बालबालिकाले पढ्न लेख्नुका साथै खेल्न, घुम्न पनि पाउनु पर्छ । खेल्दा खेरी साथीभाइसँग घुलमिल हुने, आफ्नो कुरा भन्ने, तर्क गर्ने, नयाँ कुरा पत्ता लगाउने क्षमता बढ्छ । घुम्न पाउँदा नयाँ नयाँ ठाउँको जानकारी पाइन्छ । म बिदामा बुवासँग विभिन्न ठाउँमा घुम्न जाने गरेको छु । घुम्न पाउनु हामीहरूको अधिकार भएकाले बिदामा अभिभावकलाई भनेर तपाईंहरू पनि घुम्न जानु होला । बालबालिकाले समयमा सुत्न पाउनु पर्छ । निद्रा पुगेपछि उठ्नु पर्छ । यसले हाम्रो शरीरमा शक्ति र स्फुर्ति बढ्छ । म सधैँ राति ९ बजे सुत्ने र बिहान ६ बजे उठ्ने गर्छु । 

साथीहरू, हामीले अधिकार मात्र खोजेर हुँदैन । मेरो मामुले भन्नुहुन्छ कि हामीले ठुलालाई आदर सम्मान गर्नु पर्छ र सानोलाई माया गर्नु पर्छ । मिलेर बस्नु पर्छ । बा आमाले भनेको मान्नु पर्छ । यसले हाम्रो घर, स्कुल तथा समाजको वातावरण असल र रमाइलो बन्न मद्दत पुग्छ । फेरि पनि आउँदै गरेको बालदिवसको तपाईहरूलाई धेरै धेरै शुभकामना ।    

मुना