दोलखाको चरीकोटमा संविधा र जेनिसा नाम गरेका दुई जना साथी बसोबास गर्थे । ती दुवै एकअर्काका घनिष्ट मित्र थिए । उनीहरू दुवै जना कक्षा ७ मा पढ्थे । उनीहरू सँगै हिँड्ने, रमाइलो गर्ने र एकअर्कालाई मद्दत गर्न सधैँ तयार हुन्थे । गाउँका सबै मानिसलाई उनीहरूको मित्रता निकै उदाहरणीय लाग्थ्यो ।
दोलखा महोत्सव हुने खबर सुनेर उनीहरू खुसी भए । मेलामा मनपर्ने खेलकुद, नाचगान र अन्य मनोरञ्जनका कार्यक्रम हुने कुरा उनीहरूले थाहा पाए । संविधा र जेनिसाले पनि शनिबार मेला हेर्न जाने योजना बनाए । संविधाले जेनिसालाई घरमा आमालाई काम सघाएर एक घण्टामा चरीकोटको सातदोबाटोमा भेट्ने कुरा बताइन् । उनले जेनिसालाई भनिन्, “म एक घण्टामा आउँछु । तिमी मलाई पर्ख है ?”
जेनिसाले पर्खने वाचा गरी तर संविधालाई पर्खिन सकिनन् । उनीमा साथीलाई पर्खिनका लागि धैर्य भएन । उनले एक्लै मेला हेर्न जाने निर्णय गरिन् । मेलामा उनले धेरै रमाइलो गरिन् । उनले संविधालाई सम्झिनन् ।
संविधाले सातदोबाटोमा जेनिसालाई नदेखेपछि मेला लागेको ठाउँतर्फ गइन् । उनले जेनिसालाई मेलामा पनि खोजिन् तर भेट्न सकिनन् । उनले मनमनै सोचिन्, “जेनिसाले मलाई एक घण्टा पनि पर्खन सकिन । के यही हो त साँचो मित्रता ?”
भोलिपल्ट विद्यालयमा उनीहरूबिच बोलचालसमेत भएन । केही दिनपछि जेनिसालाई महसुस भयो कि उनले गल्ती गरेकी थिइन् भनेर । उनले संविधासँग माफी माग्दै भनिन्, “मित्रता भनेको एकअर्कालाई सम्झनु हो । मैले तिमीलाई बिर्सें, मलाई माफ गर ।”
संविधाले पनि जेनिसालाई माफ गरिन् । संविधाले जेनिसालाई भनिन्, “मित्रता भनेको केवल हर्ष र उल्लासमा मात्र नभएर दुःखसुखका क्षणमा पनि एकअर्कालाई साथ दिने कुरा हो । मित्रता भनेको विश्वास र एकअर्काको ख्याल राख्नु हो । साँचो मित्रले कहिल्यै एकअर्कालाई बिर्सदैन ।”
उनीहरू फेरि पहिला जस्तै मित्र बन्न पुगे । यस घटनाले उनीहरूको मित्रता अझ बलियो बन्न पुग्यो । उनीहरूले सिके कि साँचो मित्र भनेको एकअर्काको दुःख र सुखमा सधैँ साथ दिने व्यक्ति हो । तिनीहरूले मित्रताको महत्व बुझे र कहिल्यै एकअर्कालाई नबिर्सने प्रतीज्ञा गरे ।