जयकृष्ण यादव
इनरुवा, कार्तिक १० गते। सुनसरीका विभिन्न नदी, नाला, पोखरी, नहर र घरका छेउमा अस्थायी छठ घाटको सजावट कार्य गरेर साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी भएको छ।
यस पर्वको अवसरमा हजारौँ श्रद्धालु सूर्य देवतालाई सोमबार साँझ अर्घ दिने तयारीमा जुटेका छन्। जिल्लाका प्रमुख जलाशय कोशी ब्यारेज, कोशी कटान, सुकसेना शाखा, सुनसरी खोला, झुम्का नहर, शङ्करपुर शाखा नहर र बुढी खोलासहितका स्थानमा अस्थायी छठ घाट निर्माण सम्पन्न भएका छन्।
इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, वराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जु गाउँपालिका र गढी गाउँपालिकाका जनप्रतिनिधि छठ पर्वको तयारीमा सक्रिय भएका छन्।
छठ पर्वको मुख्य दिन अर्थात् सोमबार साँझ सूर्य अस्ताउँदा श्रद्धालुले पानीमा उभिएर सूर्य देवतालाई अर्घ दिने तयारीमा जुटेका छन्। यस अवसरमा, छठ घाटलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले सजाइएको छ।