एउटा गाउँमा घना जङ्गल थियो । त्यो जङ्गलमा बडेमानका रुख थिए । ती रुखमा चराका गुँडैगुँड थिए । तिनै रुखमध्ये एउटामा माउ चरा र उसका दुई बचेरा बस्थे । माउ आहारा खोज्न जान्थी । कहिलेकाहीँ त टाढा टाढासम्म पनि आहारा खोज्न जानु पर्थ्यो । त्यस्तो बेला आहाराका लागि बचेराले लामो समय प्रतीक्षा गर्नु पर्थ्यो । साँझ आहारा खाएर टन्न भएका तीनै जना रमाइलो गर्दै बस्थे । उनीहरूको संसार नै बेग्लै थियो ।
साउनको महिना थियो । वेगका साथ हावा चल्थ्यो । पानी पर्थ्यो । असिना पनि पर्थ्यो । एक दिन अचानक जोडले हावा चल्न थाल्यो । रातको समय थियो । हावाको वेगले गर्दा गुँड तल हाँगामा खस्यो । हाँगामा टाउको बजारिएर माउ चराको तत्कालै मृत्यु भयो । दुवै बचेरा फरक फरक स्थानमा झरे । उनीहरूले आमा खोज्न थाले । बल्लतल्ल उड्न खोजे । माउलाई कतै फेला पार्न सकेनन् । दुवै बचेरा निकै थाके । एउटा बचेरा गुफानजिक खस्यो । त्यो गुफामा डाँकु बस्थे । अर्को बचेरा परको झुप्रोनजिक खस्यो । त्यो झुप्रोमा ऋषिमुनि बस्थे । समयसँगै ती बचेरा हुर्किंदै गए तर उनीहरूबिच कहिल्यै भेट भएन ।
एक दिन एउटा देशका राजा घोडामा सवार भएर सिकार खेल्न त्यही जङ्गलमा आइपुगे । उनले मृगलाई देखे । उनी मृगलाई मार्न पछाडि पछाडि दौडिए । अन्ततः मृगलाई मार्न राजा सफल भए । राजाले आफू आएको बाटो बिर्सिए । घना जङ्गलभित्र उनी भौँतारिन थाले । जङ्गलबाहिर निस्किने बाटो खोज्ने क्रममा उनी पिपलको रुखमुनि पुगे । त्यहाँ आराम गरे । त्यो रुखनजिक गुफा थियो । त्यही रुखको माथि पहिले खसेकामध्येको एउटा चरा बस्थ्यो । त्यो ठुलो भइसकेको थियो । राजालाई त्यहाँ देख्नासाथ भन्न थाल्यो, “छिटो गर छिटो गर, रुखमुनि एउटा मान्छे आएको छ । यसको गरगहना लुट्नु पर्छ ।” चराले यस्तो भनेको सुनेर राजा छक्क परे ।
नभन्दै गुफाभित्रबाट डाँकुहरू बाहिर आए । राजा हतारिँदै घोडामा चढे र भागे । भाग्दै जाँदा शान्त वातावरण भएको ठाउँमा पुगे । त्यहाँको एउटा रुखमुनि घोडालाई बाँधेर आराम गर्न अडेस लागेर बसे । हुरी चलेका बेला बिछोड हुन पुगेको अर्को चरा त्यहीँको रुखमा बस्ने गर्थ्यो । त्यसले राजालाई देख्नासाथ भन्यो, “आउनुहोस् राजा हजुरलाई स्वागत छ यो झुपडीमा । तपाईं थकित हुनुहुन्छ । झुपडीभित्र जानुहोस् र आराम गर्नुहोस् ।” राजाले छक्क पर्दै माथि हेरे । गुफानजिकैको रुखमा रहेको र झुपडीनजिकको रुखमा रहेको चरा समान रङका छन् तर बोली वचन फरक देखेर राजा छक्क परे । त्यति नै बेला ऋषिमुनि त्यहाँ पुगे । राजालाई देखेर ऋषिले प्रणाम गर्दै कुटीमा लगे । आराम गर्न अनुरोध गरे । राजाले सोधे, “हे ऋषिमुनि, म एउटा कुरामा अलमलमा छु । यहाँ एउटा चरा छ जो धेरै मिठो बोली बोल्छ । यस्तै प्रजाति र रङको अर्को चरा गुफानजिकमा छ तर उसको बोली नराम्रो छ । किन यस्तो ?” ऋषिले उत्तर दिए ।