अरू वर्ष जस्तै यो वर्ष पनि निर्मला र नवीनले स्कुलको अन्तिम परीक्षा सकिएपछि गाउँ जाने योजना बनाएका थिए । गाउँमा खेतीपाती गरेर बस्ने हजुरआमा, हजुरबुवा, काकाकाकीलाई भेट्न र गाउँको वातावरणमा रमाउन उनीहरूलाई धेरै मन पथ्र्यो । उनीहरू परीक्षा सकिएको अर्को दिन नै दार्चुलामा पर्ने अपिहिमालको काखमा रहेको रमणीय गाउँका लागि काठमाडौँबाट हिँडे । घर पुगेपछि दुई/तीन दिन भने लामो यात्राको थकान मेटाउँदै घरमा पाकेका मिठा परिकार खाँदै रमाइलो गरे । एकदिन रातिको खाना खाइसकेपछि नवीन र निर्मला खुसुक्क हजुरआमाको कोठामा पसे । हजुरआमा भजन गुनगुनाइरहनुभएको थियो । यसपालि खै त हामीलाई कथा सुनाउनुभएको हजुरआमा ? आज त एउटा कथा भन्नै पर्छ है, निर्मलाले कोठामा पस्दापस्दै ढिपी गर्न थालिन् ।
कथा सुनाउन खप्पिस हजुरआमाले निर्मला र नवीनलाई आफूनजिकै बसाउनुभयो । “ल सुन है नानीबाबुहरू, आज भूतको कथा भन्छु, डराउन चाहिँ पाइँदैन नि,” हजुरआमाले भन्नुभयो । “हजुरआमा, हामीलाई भूतका कथा पनि मन पर्छ, ल सुरु गर्नुहोस् त,” नवीन कथा सुन्न हतारिए ।
ल सुन है त भन्दै हजुरआमाले कथा सुरु गर्नुभयो– एकचोटि एउटा गाउँमा अचानक भष्मासुर नामको अजङ्गको राक्षस देखा प¥यो । उसलाई देखेर सबै डराउन थाले । उसले आफूलाई सबैभन्दा बलियो भनेर घोषणा ग¥यो । त्यति मात्रै नभई उसले गाउँका मान्छेलाई दिनको एक/एक जना गरी खाने र त्यसै अनुसार प्रत्येक परिवारबाट एक÷एक जना आफूकहाँ आउनुपर्ने उर्दी जारी ग¥यो । पालैपालो गाउँका मान्छे उसको भोजनका लागि आउनुपर्ने भयो । कसैले अटेरी गरेको खण्डमा ऊ स्वयम् गई त्यो घरका दुई जना मान्छेलाई एकैचोटि खाएर आउँथ्यो ।
केही महिनापछि त्यस गाउँका मान्छे एक/एक गरी सकिन थाले । त्यो गाउँका मान्छे सकिएपछि नजिकै रहेको अर्को गाउँमा जाने योजना रहेको भूतले सुनायो । त्यो गाउँको वरिपरि १०/१५ वटा अरू गाउँ भए पनि भूतले कुन गाउँमा पहिले जान्छ भन्ने कसैलाई जानकारी थिएन ।
नजिकैको गाउँमा एक जना गर्भवती महिला बस्थिन् । भूतको यस्तो कुरा सुनेर उनी साहै्र चिन्तित भइन् । सुन्दर संसारमा पाइला नटेक्दै आफ्नो सन्तानको मृत्यु हुन सक्ने डरले उनलाई सताउन थाल्यो । उनी लगातार बिरामी पर्न थालेपछि घरका अन्य सदस्यसँग सल्लाह, सुझाव गरेर उनी टाढा रहेको माइतीघरमा बस्न गइन् ।
त्यहाँ पुगेको केही समयपछि नै उनले छोरा रणजितलाई जन्म दिइन् । सानैदेखि नै रणजित हृष्टपुष्ट, बलियो र चलाख थिए । रणजित ठुलो हुँदै गएपछि सँगै खेल्ने साथीले उनलाई “तिमी किन मामाघरमा बसेको ? हामी जस्तै तिम्रा बुवा खै ? तिम्रो आफ्नो घर छैन” भनेर सोध्न थाले । बुझ्ने भइसकेपछि साथीका यस्ता प्रश्नले रणजितलाई हैरान बनाउन थाले । एक दिन उनले आफ्नी आमालाई आफ्ना बुवा र घरका बारेमा सोधे । छोराले जिद्दी गरेपछि उनकी आमाले घरका बारेमा नबताई सुखै पाइनन् ।
कथामा सुने जस्तै साँच्चिकै अर्को गाउँमा भूतले मान्छे खाने गरेको सुन्दा रणजितलाई अचम्म लाग्यो । उनले आफ्नी आमालाई बुवा भएको गाउँमा जाने ढिपी गर्न थाले । केही सिप नलागेपछि उनी रणजितलाई लिएर आफ्नो गाउँ गइन् ।
भष्मासुर भूत उनकै गाउँमा आइपुगेको रहेछ । रणजितको घरका सबै सदस्यलाई सुरुमै खाने भूतको योजना रहेछ । रणजित नडराइकन भूतसँग कुरा गर्न गए । आफूले नबोलाइकनै रणजित आएको देखेर भूत खुसी भयो । रणजितले एकछिन गफ गरौँ अनि मात्रै मलाई खानुहोस् भनेर अनुरोध गरे । भूतले पनि सानो तर निडर बालक देखेर उनको कुरा मान्यो । मान्छेको मासु मात्रै कहिलेसम्म खाएर बस्ने ? सधैँ एउटै स्वादको खाना मिठो हुँदैन । भोलिदेखि मैले तपाईंका लागि मिठा मिठा खानाका परिकार पकाएर खुवाउँछु । मासु पनि पकाएर खुवाउँछु । अबदेखि मान्छे खान बन्द गरिदिनुस् भनेर भूतसँग निवेदन गरे । भूतलाई सानो बालकमाथि विश्वास नलागे पनि एउटा मौका दिने विचार ग¥यो ।
अर्को दिन गाउँका अन्य सदस्य पनि मिलेर भष्मासुरका लागि मिठा मिठा परिकार पकाए । भष्मासुर ती परिकार खाएर खुसी भयो । धेरै दिनसम्म भष्मासुरका लागि धेरै मात्रामा परिकार पकाएर खुवाउँदा गाउँभरिको अन्न पनि सकिन थाल्यो । त्यसपछि उसलाई के खान दिने भन्ने चिन्ता सबैलाई प¥यो । एकदिन रणजितले भने अनुसार सबै मिली भष्मासुरलाई मार्ने योजना बनाए । सबै मिलेर मिठा मिठा परिकार पकाए । भष्मासुर खानाको सुगन्धले धेरै खुसी थियो । बेला बेलामा जोर जोरले हाँसिरहन्थ्यो– हा...हा...हा...!
उसलाई थाहा नहुने गरी विभिन्न प्रज्वननशील पदार्थ मिलाएर, राम्रा, राम्रा कपडा प्रयोग गरेर झिलिमिली देखिने गोलो घेरा बनाए । त्यो घेराको एकाछेउमा आगो लगायो भने सिधै अर्को छेउमा आगो पुग्ने गरी प्रबन्ध मिलाए । घेराभित्र ती परिकार सजाए ।
भष्मासुर भोजमा मस्त भएको बेलामा रणजित र गाउँलेले मिलेर दुवै छेउबाट एकैचोटि आगो लगाइदिए । भष्मासुरले उठ्न नपाउँदै आगो दनदनी बलिसकेको थियो । आगोको लप्काले चारैतिरबाट उसलाई लपेट्न थाल्यो । गाउँलेहरू मिलेर आगोमाथि दाउरा र अन्य लुगा फालेर आगोलाई झनै ठुलो बनाए । भष्मासुर भाग्ने ठाउँ कतैबाट थिएन । एकछिनमै उ जलेर नष्ट भयो । गाउँघरमा खुसियाली छायो । गाउँ गाउँबाट रणजितको जय जयकार भयो । बालक सानो भए पनि उनको बल र बुद्धिको सबैले प्रशंसा गरे ।
“ओहो ! बुद्धिले त ठुलो काम पो गर्न सकिने रहेछ त हजुरआमा,” नवीनले आश्चर्य मान्दै भने । “हो नि बाबु, तिमीहरू पनि अहिलेदेखि नै नयाँ नयाँ कुराको खोजी गर्न सक्छौ, कोसिस भने गरिरहनु पर्छ है ?” हजुरआमाले भन्नुभयो । “हस हजुरआमा” नवीन टाउको हल्लाउँदै र भूतको कथा सुनेकाले डराउँदै बाहिर निस्किए ।