• २८ पुस २०८१, आइतबार

माग पूरा गर्न सक्दैन सरकारी केन्द्रले

blog

शालिग्राम नेपाल 

चितवन, साउन ८ गते । माछाको भुरा उत्पादन गर्ने चितवनको एक मात्र सरकारी मत्स्य विकास केन्द्र, भण्डाराले जिल्लाको ४० प्रतिशत मात्र माग पूरा गर्दै आएको छ । 

माछापालन गर्ने किसानको सङ्ख्या वृद्धि भएसँगै यो केन्द्रले स्थानीय मागसमेत पूरा गर्न नसकेको हो । भण्डारामा रहेको मत्स्य विकास केन्द्रबाहेक पूर्वी चितवनमा चारवटा, पश्चिम चितावनमा दुईवटा र माडीमा दुईवटा माछाका भुरा उत्पादन गर्ने ह्याचरी छन् । 

“चितवनको मागलाई हामीले पूरा गर्ने अवस्थामा छैनाैँ यहाँको मागलाई पूरा गर्न सक्दैनौँ तर यहाँ माछाका भुरा लिन २० जिल्लाबाट आउने गर्छन्,” मत्स्य विकास केन्द्र भण्डाराका प्रमुख माधवप्रसाद दाहालले भन्नुभयो । यहाँ उत्पादन गरेको माछाका भुराको गुणस्तर राम्रो हुने र वृद्धि विकास छिटो हुने भएकाले माग उच्च रहेकोे उहाँले बताउनुभयो । 

प्रमुख दाहालका अनुसार गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, नवलपरासीसहित केही जिल्ला, बागमती प्रदेशका सबै जिल्ला, मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाहीसम्मका किसानले यहाँबाट माछाका भुरा लैजान आउने गरेका छन् । 

मत्स्य उत्पादक सङ्घका केन्द्रीय महासचिव जेगेन्द्र महतोले भण्डराको सरकारी केन्द्रका माछाका भुराले जिल्लाको मागलाई पूरा नगर्ने बताउनुभयो । यहाँ सरकारीबाहेक आठवटा ह्याचरी छन् ती र सरकारी गरी नौवटाले यहाँको मागलाई शतप्रतिशत पूरा गर्न सकेको छैन । चितवन बाहिरबाट समेत माछाका भुरा जिल्लामा आउने गरेको उहाँले बताउनुभयो । 

भण्डारा केन्द्रमा उत्पादन भएका माछाका भुराको गुणस्तर राम्रो भएकाले सबै किसानको चाहना त्यहीँबाट ल्याउन खोज्ने भएको बताउनुभयो । जिल्लामा एक हजार हेक्टरमा माछा पोखरी रहेको तथ्याङ्क रहेको छ । 

यो केन्द्रले अहिले कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प, रहु, नैनी र भाकुर जातका माछाका भुरा उत्पादन गर्दै आएको छ । केन्द्रले यस वर्ष ह्याचरिङ छ करोड, सानो भुरा ६० लाख र ठूलो भुरा छ लाख उत्पादन गरेर किसानलाई बिक्री गरेको छ । 

केन्द्रले माछाका भुरा उत्पादन गरेर बिक्रीका साथै खाने माछासमेत उत्पादन गरी बिक्री गर्दै आएको छ । गत आर्थिक वर्ष केन्द्रले तीन टन माछा उत्पादन गरेर बिक्री गरेको छ । 

३७ वटा पोखरी रहेको केन्द्रले माछाका भुरा र खाने माछा बिक्री गरेर ४३ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने केन्द्रले ३४ लाख ५७ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गरेको थियो ।