गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २५ गते । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले विद्यमान फाइभजी राउटरभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च डेटा क्षमताको राउटर प्रविधि सिक्सजी ल्याएको छ ।
वल्र्डलिङ्कका अध्यक्ष एवं प्रबन्ध निर्देशक दिलीप अग्रवालले उक्त प्रविधिको औपचारिक सुरुवात गर्दै नयाँ सिक्सजी राउटरले घरमा रहेका धेरै डिभाइसको लोड सजिलै व्यवस्थापन गर्ने, फोरके स्ट्रिमिङमा बफरिङ नहुने, अनलाइन गेमिङको लेटेन्सी कम हुने तथा जुम कलमा अवरोध नहुने बताउनुभयो । वल्र्डलिङ्कले यसमा प्राविधिक साझेदारका रूपमा नोकियालाई ल्याएको छ । नोकियाका प्रतिनिधिले नयाँ प्रविधिले नेपालको फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार सहज हुने बताए । नोकियाका मार्केट डेभलपमेन्ट डिरेक्टर नेमानिया पिलिपोभिकले सेवा प्रवाह र नेपालको अर्थतन्त्र सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वल्र्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले वाइफाई सिक्स राउटरको मूल्य निर्धारण गर्दा जतिसक्दो सस्तोमा दिन खोजिएको दाबी गर्नुभयो । दिइएको जानकारी अनुसार भारत र अन्य विकसित देशको दरभन्दा सस्तोमा यो प्रविधि उपभोक्तालाई दिइएको छ ।