• २९ वैशाख २०८३, मङ्गलबार

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : संयोजक प्रचण्ड

blog

प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : सुजन गुरुङ/गोरखापत्र

काठमाडौँ, वैशाख २९ गते । नेपाल कम्युनिस्ट पार्टीका स‌याेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

सम्बोधनका क्रममा प्रचण्डले भन्नुभयो, “बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँटा र फलामले बनेको देखिएला, तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्‍यौँ ।”

संयोजक प्रचण्डले सङ्घीय संसद्‌मा देखिएको समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धिको रूपमा व्याख्या गर्नुभयो । क्रान्ति, बलिदान र लामो सङ्घर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई उहाँले “रगतले लेखिएको कथा” को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, “परिणामका दृष्टिले को सानो वा को ठुलो भयो भन्ने कुरा गौण हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारू, उपेक्षित र उत्पीडित समुदायको इन्द्रधनुषी प्रतिनिधित्व हुनु मेरा लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ।”

सम्बोधनका क्रममा उहाँले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको सफलतालाई स्वीकार गर्दै बधाई दिनुभयो । रास्वपासँगको सहकार्यको स्मरण गर्दै उहाँले भन्नुभयो, “अघिल्लो संसदमा मैले प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेताका रूपमा रास्वपासँग दह्रो सहकार्य गरेको थिएँ ।”

उहाँले थप्नुभयो,“त्यसबेला सुशासन, सेवा प्रवाहको सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता र भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जस्ता ठुला माफियाविरुद्धका कारबाहीमा हाम्रो सहकार्य रह्यो ।”

यस्तै, संयोजक प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहको उदयलाई पनि क्रान्तिको जितकै रूपमा व्याख्या गर्नुभयो । “बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नु भएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै सङ्कल्पको जित हो,” उहाँले भन्नुभयो ।

पछिल्लो समय राजनीतिमा चर्चामा रहेको ‘पुराना र नयाँ’ को भाष्य दार्शनिक र राजनीतिक दृष्टिले गलत भएको प्रचण्डको तर्क छ । 

उहाँले स्पष्ट पार्दै भन्नुभयो, “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । यस्तो भाष्यले समाजमा विभाजन मात्र ल्याउँछ । सही र गलतको बहसले मात्र रूपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ ।”

संयोजक  प्रचण्डले समावेशी र समानुपातिक प्रतिनिधित्वमाथि गर्व गर्ने हक आफूलाई भएको बताउँदै शान्ति प्रक्रियाको पूर्णता अब नयाँ पुस्ताको पनि जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

हामीबाट र इतिहासबाट सिक्नुहोस् 

सरकारको आलोचना गर्ने आशय नभएको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम जनताको उच्च आकाङ्क्षाअनुरूप नआएको टिप्पणी गर्नुभयो । 

“नीति तथा कार्यक्रम मन्त्रालयका नियमित कार्यक्रमहरूको सारसंग्रह जस्तो मात्र देखिएको छ,” उहाँले भन्नुभयो, “यसलाई विगतका कार्यक्रमहरूको आलोकमा तुलनात्मक अध्ययन गरी वर्तमान विशिष्टतामा जनताका आकाङ्क्षा सम्बोधन हुने गरी परिमार्जन गर्न म सबै माननीयज्यूहरूलाई आग्रह गर्दछु ।”

उहाँले विगतमा तत्कालीन नेकपा पनि सोही आकारमा रहेको स्मरण गर्दै भन्नुभयो, “सङ्ख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन निःशर्त हुन्छ । यो हामीबाट र इतिहासबाट सिक्नुहोस् ।”

“जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस्, हाम्रो साथ र समर्थन रहन्छ,” उहाँले भन्नुभयो, “राष्ट्र निर्माण सामूहिकताबाट मात्र सम्भव छ ।” उहाँले सरकार र संसद्का सबै सदस्यहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।