राधा लुइटेल
फिदिम, वैशाख २९ गते । पाँचथरको हिलिहाङ गाउँपालिकाले गत वर्ष कालाज्वर देखिएका विभिन्न वडाहरूमा कीटनाशक विषादी छर्कने तथा चेतनामूलक अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ५, ६ र ७ मा कालाज्वर सङ्क्रमित व्यक्तिका घर तथा गोठहरूमा पुगेर कीटनाशक विषादी छर्केको हो । यो अभियानसँगै स्थानीयवासीलाई रोगको लक्षण, सावधानी र उपचारका बारेमा जानकारीसमेत दिइएको स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले जानकारी दिनुभयो ।
यस गाउँपालिकामा विगत तीन वर्षयता ३४ जनामा कालाज्वर पुष्टि भइसकेको छ । तथ्याङ्क अनुसार गत वर्ष मात्रै नौ जनामा कालाज्वर सङ्क्रमण पुष्टि भएको अभिलेख छ ।
स्वास्थ्य शाखाका अनुसार कालाज्वर नियन्त्रणसम्बन्धी प्रावधान बमोजिम सङ्क्रमित क्षेत्रमा तीन वर्षसम्म निरन्तर निगरानी गर्नुपर्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो ।
गाउँपालिकाले लामो समयसम्म ज्वरो आउने, शरीर कमजोर हुने र तौल घट्ने जस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य शाखामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।