• २९ वैशाख २०८३, मङ्गलबार

ल्याब परीक्षणको बहानामा नेपाली चिया रोकियो, उद्योगी चिन्तित

blog

कोकिला ढकाल

इलाम, वैशाख २९ गते । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्दै गएको नेपाली चिया निकासीमा भारतले कडाइ गरेपछि यस क्षेत्रमा गम्भीर सङ्कट देखिएको छ । गत मे १ देखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षणमा कडाइ गरेपछि निकासी कार्य करिब ठप्प भएको छ ।

चिया निकासी गर्दा भारतले प्रत्येक गाडीमा रहेको चियाको नमुना परीक्षणका लागि कोलकाता पुर्‍याउनुपर्ने र त्यसको प्रतिवेदन आउन करिब १५ दिन लाग्ने जानकारी झापाको मेची भन्सार कार्यालयलाई गराएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमगाईंले भन्नुभयो, “भारतको पानीट्याङ्कीस्थित भन्सारले नजिकमा प्रयोगशाला नभएको र नयाँ नियम लागु भएसँगै नमुना कोलकाता पठाउनुपर्ने जानकारी दिएको छ । त्यसयता नेपालबाट चिया निकासी भएको छैन । नेपालतर्फबाट कुनै रोक नभए पनि भारतले कडाइ गरेपछि समस्या आएको हो ।”

सूचना अधिकारी हुमगाईंका अनुसार मे १ यता अहिलेसम्म दुई वटा गाडीमा आठ हजार किलो चिया मात्र निकासी भएको छ ।

निकासी रोकिएपछि इलामका चिया उद्योगी र किसानको टोली समस्याको समाधान खोज्न राजधानी काठमाडौँ पुगेको छ । चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनले प्रधानमन्त्रीलाई भेटेर ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । भारत सरकारले नेपालबाट निकासी हुने चियामा स्वेच्छाचारी ढङ्गले कडाइ गरेकाले सरकारको कूटनीतिक पहलबाट मात्रै यो समस्या समाधान हुने निष्कर्ष ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

चियाको समस्या र समाधानका विषयमा उद्योग, अर्थ र कृषि मन्त्रालयका सचिवहरूसँग छलफल भएको एसोसिएसनका महासचिव गोपाल कट्टेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सचिवसँगको छलफलमा ‘जिटुजी’ माध्यमबाट समस्या समाधान गर्ने आश्वासन आएको छ । तर, निर्यातको ठोस टुङ्गो अझै लागेको छैन । यो समस्या पटक–पटक दोहोरिने भएकाले स्थायी कूटनीतिक समाधानका लागि हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ ।”

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा एउटा गाडीको एक पटकको परीक्षणका लागि नेपाली २५ हजार रुपियाँ लाग्ने उल्लेख छ । परीक्षणको प्रतिवेदन आउन लाग्ने १५ दिनसम्म चिया बोकेको गाडी भारतीय सीमाभित्रै पानीट्याङ्कीमा राख्नुपर्ने बाध्यता छ ।

“पहिले एक पटक परीक्षण गरेपछि तीन महिनासम्म हुन्थ्यो, यस पटक नीति फेरिएको छ,” महासचिव कट्टेलले थप्नुभयो, “अहिले प्रत्येक गाडीको परीक्षण शुल्क र १५ दिनसम्म गाडी कुराउँदा लाग्ने खर्चले गर्दा चिया निकासी गर्न सक्ने अवस्था छैन ।”