• २५ कात्तिक २०८२, मङ्गलबार

सुनसान नेपानेगाउँ

blog

सुलीकोट समाचारदाता

सुलीकोट, कात्तिक २५ गते । गोरखाको सिरानचोक गाउँपालिका अन्तर्गतको नेपानेगाउँमा अचेल घरहरूको मात्र गाउँ बन्न पुगेको छ । यो गाउँमा अब मानवीय हाँसो, बोलीचाली र जीवनको धड्कन हराउँदै गएको छ । बसाइँसराइको तीव्र लहरले गाउँका धेरै बासिन्दा सहर र विदेशतर्फ पलायन भएपछि नेपानेगाउँ क्रमशः मानवविहीन बस्तीमा रूपान्तरण हुँदै छ । 

स्थानीय र छरछिमेकीको आवाज गुन्जिने यो गाउँ अहिले सुनसान भएको छ । एक समय खेतीपाती, मेलापात र परम्परागत संस्कृतिको केन्द्र मानिने नेपानेगाउँ अहिले बिरानो जस्तै देखिन थालेको छ । नेपानेगाउँका ३० घरमध्ये अहिले सात घरमा मानिस बस्ने गरेका छन् । ती घरमा पनि वृद्धवृद्धा र बालबच्चाबाहेक युवा कोही देखिँदैनन् । 

नेपानेगाउँका कतिपय घर नयाँ ढाँचामा कङ्क्रिटको संरचनामा बनेका छन् तर अधिकांश घरका ढोका बन्द छन् । आँगन, घरपछाडिका कर्साहरूमा झार उम्रिएर बाघ लुक्न सक्ने झाडी अग्लो बन्दै गएको छ । सिरानचोक गाउँपालिका– १ का पुराना स्थानीय ओमबहादुर गुरुङले भन्नुभयो, “हामीले काठको ढोका ठोकेर, ढुङ्गामाटाका घर बनाएर जीवन  बितायौ  । अहिले कतिपय घर पक्की र ठुला बने तर ती घरभित्र मानिसको मन र आवाज भने हराउँदै भएको छ ।” यस गाउँमा विभिन्न रोजगारी, वैदेशिक रोजगारी, शिक्षा र स्वास्थ्यका कारण पनि आधुनिक सुविधाको खोजीमा गोरखा सदरमुकाम, चितवन, काठमाडौँ, पोखरा र वैदेशिक रोजगारीतर्फ लागेका छन् । त्यसकारण खेतीयोग्य जमिन बाँझो बन्न थालेको छ । परम्परागत पेसा र संस्कृति हराउँदै गएको छ भने गाउँमा बिहे, भोजभतेर गर्ने प्रचलन र मान्छे मरिहाले भने सहयोगका लागि अर्को मान्छे आउन सक्ने अवस्था छैन । 

बसाइँसराइले गाउँको सामाजिक र आर्थिक संरचनामा गम्भीर प्रभाव परेको सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताउनुभयो । सिरानचोक गाउँपालिकामा विकासनिर्माणसँगै सुन्दरता थपिँदै गए पनि बनेका ती संरचना प्रयोगविहीन अवस्थामा पुग्ने खतरा बढेको उहाँको भनाइ छ । अहिले गाउँमा उब्जनी घट्दै गएको छ । पाटीपौवा र मन्दिरमा पूजाअर्चना कमै मात्रामा हुने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । अहिले आधुनिकता र बसाइँसराइको असरले नेपानेगाउँको मौलिकता हराउँदै गएको छ तर केही गाउँलेको सपना भने कुनै दिन फेरि गाउँमा जीवन फर्कियोस्, घरका ढोकाहरू फेरि खोलिऊन् र नेपानेगाउँ पुन हाँसोले गुन्जियोस् भन्ने छ ।