धर्बेन्द्र्र/अजय/रवीन्द्र
जनकपुरधाम, कात्तिक २५ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गर्नुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले मुख्यमन्त्रीमा नियुक्त भएको २५ दिनमै शनिबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आइतबार विभिन्न पक्षसँगको छलफलपश्चात् सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री यादवले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महोत्तरीको बर्दीबासस्थित पानस होटेलमा बिहान ५ बजे आयोजित कार्यव्रmममा प्रदेश प्रमुख सुवेदीले यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
मुख्यमन्त्री यादवले सोमबारै तीन जना मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । मन्त्री हुनेहरूमा नेकपा (एमाले) का लखन दास तत्मा, नेपाल सङ्घीय समाजवादी पार्टीका विमला अन्सारी र राप्रपाका कन्चन बिच्छा रहनुभएको छ । तिनै जना मन्त्रीलाई जिम्मेवारी भने तोकिएको छैन । मुख्यमन्त्री यादवको सिफारिसमा तिनै जनालाई प्रदेश प्रमुख सुवेदीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
सोनलले पदबाट राजीनामा गरेपश्चात् आइतबार दिनभर विभिन्न दल र पक्षसँग छलफल गरेका प्रदेश प्रमुखले अन्ततः संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा रहेका दलमध्ये सबैभन्दा ठुला दल नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एकाबिहानै यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको विषय बाहिर आएपछि प्रदेश प्रमुख सुवेदीको चौतर्फी आलोचना र विरोध भएको छ ।
मुख्यमन्त्री नियुक्तिको विषयमा कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखले आफूसँग छलफल नै नगरी संविधानको मर्म र भावनाविपरीत यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएकोमा आपत्ति जनाउनुभयो ।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादवले संविधानको धारा १६८ को उपधारा २ जीवित रहेकै अवस्थामा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ प्रयोग गरी छापामार शैलीमा मुख्यमन्त्री नियुक्त गरेर सङ्घीयतामाथि कुठाराघात गर्ने काम गरेको सञ्चारकर्मीलाई प्रतिव्रिmया दिनुभयो । उहाँले प्रदेश प्रमुखले संविधानमाथि नै प्रहार गरेको भन्दै नेपाली कांग्रेससहितका सात दलका ७४ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित कानुनी उपचारका लागि मुख्यमन्त्री नियुक्तिको विरुद्धमा रिट निवेदन दिन सर्वोच्च अदालत जाने बताउनुभयो । उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनका लागि सर्वोच्च अदालत जाने बताउनुभयो ।
जसपा नेपाल संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले न्यायालयमाथि आफूहरूको विश्वास रहेको भन्दै प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जाने बताउनुभयो ।
तोडफोड र तालाबन्दी
मधेश प्रदेशको नियुक्तिको विषयलाई लिएर सोमबार जनकपुरधामस्थित रहेको मधेश प्रदेश सरकारको मुख्यालय मधेश भवन दिनभर तनावग्रस्त रह्यो । नवनियुक्त मुख्यमन्त्रीले सोमबारै पदभार ग्रहण गर्ने विषय बाहिर आएपछि नेपाली कांग्रेससहितका सात दलका प्रदेश सभा सदस्य र नेता कार्यकर्ताले मुख्यमन्त्रीको कार्यालयको मूलद्वारपरिसरमा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयमा तालाबन्दी गरेका छन् ।
प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा तोडफोडसमेत गरेका छन् । तोडफोडले मुख्यमन्त्री कार्यालयको फर्निचरका सामानमा क्षति पुगेको छ । सो व्रmममा मुख्यमन्त्री कार्यालयका एक जना कर्मचारीमाथि हातपातसमेत भएको छ ।