• २५ कात्तिक २०८२, मङ्गलबार

बर्थिङ केन्द्रको माग लहानका महिला

blog

लहान नगरपालिकाको ग्रामीण भेगका सुत्केरी र गर्भवती महिला बर्थिङग केन्द्रको माग गर्दै । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान, कात्तिक २५ गते ।
लहान नगरपालिकाको पश्चिम उत्तर ग्रामीण भेगका स्थानीय महिलाहरुले बर्थिङ केन्द्रको माग गरेका छन् । नियमित पोषण प्याकेज वितरण गर्न जानु भएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीसँग लहान वडा नम्बर २४ का सुत्केरी र गर्भवती महिलाहरुले यस्तो माग गरेका हुन् ।

लहान अस्पताल जान समयमा सवारी साधन समेत नपाउने अवस्था रहेकाले यस भेगमा बर्थिङ केन्द्र सञ्चालनका लागि महिलाहरुले माग गरेको वडा नम्बर २४ का वडाध्यक्ष रासलाल रायले जानकारी दिनुभयो ।

सहरी क्षेत्रका तीन वटा वडा बराबर वडा नम्बर २४ रहेको र यस वडामा वर्षातको समयमा सबै गाउँमा एम्बुलेन्स समेत जान नसक्ने अवस्था रहेकाले सडक, खानेपानी, किसानका लागि विद्युत महसुलको शुल्क बुझाउन र बर्थिङ केन्द्रसहित अस्पतालको आवश्यकता रहेको वडाध्यक्ष रायले नगरप्रमुख चौधरीलाई ध्यानाकर्षण गराउनुभयो ।

लहान वडा नम्बर १७ र वडा नम्बर १९ मा बर्थिङ केन्द्र यसै वर्षदेखि सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीले स्पष्ट गर्नुभयो । साथै वडा नम्बर १३, १४ र २४ जोडिएको ग्रामीण भेगका लागि बर्थिङ केन्द्र स्थापना गर्न स्वास्थ्य शाखा छलफल अघि बढाएको उहाँको भनाइ छ ।

प्रत्येक महिनाको २२ गते सुत्केरी र गर्भवती महिलाहरुका लागि पोषण प्याकेजअन्तर्गत चामल, दाल, गेडागुडी, तेल वितरण गर्दै आइरहेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।

अहिलेसम्म लहान नगरपालिका स्वास्थ्य शाखाबाट तेस्रो चरणको गरी एक हजारभन्दा बढि सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण प्याकेज वितरण गरिसकेको छ ।