• २५ कात्तिक २०८२, मङ्गलबार

शिवमले तिर्‍यो पहिलो किस्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २५ गते । डेडिकेटेड र ट्रङ्क लाइन महसुलको प्रिमियम महसुल विवादमा रहेको शिवम् सिमेन्टले बक्यौताबापत निर्धारित पहिलो किस्ताको रकम भुक्तान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहिलो किस्ता तिरेपछि मकवानपुरको हेटौँडामा रहेको उद्योगमा विद्युत् लाइन पनि जडान भइसकेको जनाइएको छ । 

प्राधिकरणले गत असोज १२ गतेको सूचनाबमोजिम बक्यौताको किस्ता तिर्न नआएको भन्दै यही कात्तिक ४ गते सो उद्योगको विद्युत् आपूर्ति विच्छेद गरिदिएको थियो । 

शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । शिवम्को ६६ करोड ८९ लाख रुपियाँ बक्यौता छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम्ले दुई करोड ३८ लाख रुपियाँ बराबरको पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ ।