दाङ समाचारदाता
दाङ, कात्तिक २५ गते । थारू समुदायको पहिचानको प्रतीकका रूपमा चिनिने ढकिया थारूका घरबाट हराउन थालेका छन् । थारू समुदायमा हरेक चाडपर्वदेखि विविध शुभकार्यसम्म अनिवार्य रूपमा प्रयोग हुने ढकियाको अभावका कारण पछिल्लो समय यसको प्रयोग हराउँदै गएको हो । कुनै बेला थारू बस्तीका प्रत्येक घर घरमा पाइने ढकिया अहिले बिरलै मात्र देख्न पाइन्छ । युवापुस्तामा परम्परागत हस्तकलाप्रति चासो नहुनु र कच्चा पदार्थको अभावले पनि ढकिया हराउँदै गएको थारू अगुवा बताउँछन् ।
घोराही उपमहानगरपालिका–६, लख्वारकी उषा चौधरीले ढकिया बुन्न समय लागे पनि लगानी भने नलाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ढकिया बुन्नका लागि वनमा जताततै पाइने काँस र मुज घाँस भए पुग्छ । त्यसमा रङ लगाउने हो भने मात्र लागत बढ्ने हो, होइन भने आफूसँग सिप भए जति पनि ढकिया बुन्न सकिन्छ ।”
उहाँका अनुसार पछिल्ला दिनमा कच्चा पदार्थको अभाव, प्रविधिको विकास र आधुनिकताका कारण ढकियाको प्रयोग घट्दै गएको हो । उहाँले भन्नुभयो, “ढकिया हाम्रो संस्कृति र पहिचान हो । चिन्ताको विषय भने हामीले मनाउने हरेक चाडपर्वदेखि बिहे भोज तथा विविध शुभकार्यमा पनि ढकिया प्रयोगको प्रचलन हराउँदै गएको छ ।”
उहाँका अनुसार एउटा ढकिया दिनभरमा बुन्न सकिन्छ । उषाले भन्नुभयो, “ढकिया चार/पाँच प्रकारका हुन्छन् । सानोदेखि ठुलो आकारसम्मका ढकिया बुन्न सकिन्छ । त्यसमा पनि विभिन्न डिजाइन र फुलबुट्टा भरिएका ढकिया बनाउन चाहिँ कम्तीमा एक हप्ता लाग्छ ।”
ढकियालाई स्थानीय भाषामा ढक्ली, ढक्या वा ड्वाला पनि भनिन्छ । उहाँले एउटा ढकियाको मूल्य एक हजारदेखि १० हजार रुपियाँसम्म बिक्री हुने गरेको बताउनुभयो । सोही गाउँकी बनगिन्या चौधरीले पनि साधारण ढकिया एक हजारदेखि पाँच हजार रुपियाँसम्म बिक्री हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “फुलबुट्टा भरेर सुटही लगाएर बनाएको ढकिया १० हजारसम्म पर्छ तर त्यसमा धेरै समय लाग्ने भएकाले मैले साधारण ढकिया नै बुन्ने गरेकी छु ।” थारू अगुवा तथा थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य भुवन चौधरीका अनुसार ढकिया थारूको पहिचानसँगै थारू समुदायको प्रमुख हस्तकला पनि हो । उहाँले भन्नुभयो, “यसको प्रचारप्रसार र अन्तर्राष्ट्रिय बजारीकरण गर्न सके बजार पाउने राम्रो सम्भावना पनि छ । ढकियाको प्रयोग, महत्व र विशेषता बुझाउन सके यसमार्फत गाउँका सयौँ महिलालाई स्वरोजगार बनाउन सकिने सम्भावना देखिन्छ ।”