शशिधर पराजुली
विराटनगर, कात्तिक २५ गते । सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशभर मतदाता नामावली सङ्कलन कार्यले तीव्रता पाएको छ । जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गराउने, मतदान केन्द्र परिवर्तन गर्ने र विवरण सच्याउने सेवाग्राहीको घुइँचो लागिरहेको छ तर अनलाइन प्रणालीमा देखिएको समस्याका कारण युवापुस्ताले नाम दर्ता गर्न निकै सास्ती भोग्नु परेको छ ।
विराटनगरस्थित निर्वाचन कार्यालयमा आइतबार पुग्दा परिसरभरि सयौँ युवा र ज्येष्ठ नागरिकको भिड लागेको थियो । धेरै जसो जेनजी उमेर समूहका युवा थिए, जसले निकै लामो समय कुर्नु परेको थियो । विवरण दर्ताका लागि अनलाइन प्रणाली पटक पटक बन्द हुने र अड्किने समस्याले कर्मचारी र सेवाग्राही दुवै हैरान देखिन्थे । इन्टरनेटको समस्याका कारण काममा ढिलाइ भएपछि कतिपय सेवाग्राही आव्रmोशित पनि भएका थिए । यद्यपि कार्यालयले बिहान ८ बजेदेखि साँझसम्म सेवाग्राहीलाई सेवा दिइरहेका छन् ।
कात्तिक ३० गतेभित्र नाम दर्ता गराएका व्यक्ति मात्र मतदाता बन्ने भएकाले पछिल्ला दिनमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको भिड बढेको हो । राजनीतिक दल तथा युवा अभियानकर्मीले नाम दर्ता नगराएकालाई मतदाता नामावलीमा नाम लेखाउन पहल गरेका कारण पनि धेरै मानिस फोटो खिचाउन निर्वाचन कार्यालयमा पुगिरहेको पाइएको छ । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मोरङका १७ वटै स्थानीय तहलगायत विभिन्न जिल्लाका व्यक्ति नाम दर्ता गराउन आइरहेका छन् ।
कार्यालय प्रमुख युवराज गुरागाईंका अनुसार मोरङमा असोज १० गतेदेखि आइतबार साँझसम्म पाँच हजार आठ सय जनाले नाम दर्तालगायतका सेवा लिएका छन् । दैनिक पाँच सयदेखि छ सय जनाले सेवा लिइरहेका छन् । मोरङ मात्र होइन सुनसरी, झापा, इलाम, उदयपुर जस्ता कोशी प्रदेशका धेरै जनसङ्ख्या भएका जिल्लामा पनि नाम दर्ताको अवस्था उस्तै छ । मध्यपहाडी तथा हिमाली जिल्ला भने छिटफुट रूपमा नाम दर्ता गर्ने काम जारी छ ।
मोरङ, सुनसरी र झापामा फोटो खिच्नका लागि तीन तीन ठाउँको व्यवस्था मिलाइएको छ भने उदयपुर, इलाम, धनकुटा जस्ता जिल्लामा दुई ठाउँमा फोटो खिच्ने र नाम दर्ता गर्ने व्यवस्था गरिएको छ । इन्टरनेट प्रणालीले राम्ररी काम नगर्दा सेवा प्रवाहमा असहज भइरहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । सुनसरीमा आइतबारसम्म पाँच हजार ३७० जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् । यस्तै इलाममा दैनिक १५० जना हाराहारीले नाम दर्ता गराइरहेको कार्यालय प्रमुख देवी फुयाँलले जानकारी दिनुभयो । उहाँले पनि कम्प्युटरमा घरी घरी सिस्टम जाने समस्याबाट कर्मचारी र सेवाग्राही दुवै आजित बन्नु परिरहेको बताउनुभयो ।
युवाको मतदानप्रतिको उत्साह छ, तर अनलाइन प्रणालीको कमजोर पूर्वाधारले उनीहरूलाई अनावश्यक सास्ती दिइरहेको छ । यसले गर्दा नाम दर्ता प्रव्रिmया झन्झटिलो बन्दै गएको र राज्यको सेवा प्रवाहप्रति असन्तुष्ट रहेका युवा समूह नै कमजोर सेवा प्रवाहको चपेटामा पर्दा उनीहरूमा सकारात्मक सन्देश नगएको फोटो खिचाउन मोरङको उर्लाबारीबाट युवालाई लिएर आउनुभएका सुरेश लिम्बूले बताउनुभयो । उहाँले छिटो गर्ने उपायका लागि प्रमुख निर्वाचन अधिकृतलाई आग्रह पनि गर्नुभयो तर सिस्टम नै राम्ररी नचलेपछि कार्यालयले उहाँहरूको समस्या तत्काल सम्बोधन गर्न सकेन ।