• ९ मंसिर २०८१, आइतबार
blog

बासुदेव शर्मा

जाजरकोट, जेठ ३० गते ।

हाट जाने होइनौ तिमी हटारु पठाउने

माया लाउने होइनौ तिमी कलेजी कटाउने

जाजरकोटी जनजनका मुखमा यो गीत निकै चर्चित छ । जाजरकोटबाट नुन लिन पैदल नेपालगञ्ज जानुपर्ने समयमा अधिकांश हटारुले यही गीत गाउँदै बाटो कटाउँथे । गाउँले सबै मिलेर हाट भर्न जान्थे । एक महिना लगाएर गाउँ फर्कंदा नुन, तेल, मसला, कपडालगायत सरसामान ल्याउँथे । बाटो कटाउने उही गीत हुन्थ्यो साथी, ‘हाट जाने होइनौ तिमी हटारु पठाउने.. ।’

नेपालगञ्ज झर्ने हटारुले भेरी नदीको पुल तर्दा शुल्क तिनुपर्ने नियम थियो । त्यो पनि राज्यले तोकिदिएको सेवा शुल्क । खुसी भएर तिर्थे हटारुले शुल्क । जाजरकोटबाट छिमेकी जिल्ला सल्यान, रुकुमलगायत नेपालगञ्ज, सुर्खेत जाँदा भेरी नदी तर्नुपर्छ । पुल नहुँदा जाजरकोट र रुकुम मात्र होइन तराई हुँदै पहाड छिचोल्न निकै कठिन थियो ।

मटेलास्थित भेरी नदीमा पुल बनाउन श्री ३ चन्द्रशमशेर राणाकी रानी बालकुमारीले अनशन नै बस्नु परेको इतिहासकारहरू बताउँछन् । सदरमुकाम खलङ्गाको काखमा रहेको मटेलामा जाजरकोटकी राजकुमारी बालकुमारी शाहको पहलमा बनेको पुल हो । भेरी नदीमा पुल र धारा बनाउन भीम शमशेरले विक्रम संवत् १९७३ मा आदेश दिएको कुरा राजुराजा सिंहको जाजरकोट परिचय पुस्तकमा उल्लेख छ । 

बारेकोट, कुशे, नलगाड, भेरी, र डोल्पाका जनतालाई यात्रामा सुविधा दिन विक्रम संवत् १९८० मा मटेलास्थित भेरी नदीमा पुल निर्माण गरिएको थियो । जाजरकोटमा १९८४ सालमा बुदबुदीबाट पानी ल्याएको थियो भन्ने भनाइ छ । अहिले पनि पानी सञ्चालनमा छ । जनताले अहिले पनि राजाले निर्माण गरेको कल्धारा भन्ने गर्दछन् । संरक्षण नहुँदा ट्याङ्की जीर्ण बन्दै गएका छन् ।

सरकारी चासो नहुँदा पुल समेत जीर्ण बन्दै गएको छ ।  जाजरकोट परिचय पुस्तकमा उल्लेख भएअनुसार, जाजरकोटी राजा जङ्गबहादुर शाहका कान्छा छोरा लेप्टेन कर्णेल हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको विवाह वि.स. १९६५ मा श्री ३ चन्द्रशमशेर राणासँग भएको थियो । 

विवाहपछि बालकुमारीले चन्द्रशमशेरलाई माइती देशमा जान वारपार गर्न भेरी नदीमा पुल नहुँदा समस्या भएको जाहेर गरिन् । खानेपानीको पनि समस्या भएकाले त्यसको समेत तत्काल व्यवस्था गरिदिन चन्द्रशमशेरलाई बालकुमारीले आग्रह गरिन् । बालकुमारीको चाहनालाई चन्द्रशमशेरले त्यति चासो देखाएनन् । त्यसपछि बमकुमारीले दरबारमै भोक हड्ताल गर्नुपरेको थियो । जबसम्म मेरो माइती देशमा खानेपानी र भेरी नदीमा पुल हुँदैन त्यतिबेलासम्म दरबारको भुजा नखाने अड्डी कसेपछि पुल र धारा निर्माण गर्न चन्द्रशमशेरले आदेश दिएको किम्वदन्ती स्थानीय पाका मानिसहरू अहिले पनि बताउँछन् ।

तत्कालीन सरकारले पुल बनाउन बेलायत सरकारको सहयोग लिएको थियो । बेलायतको स्कटल्यान्डका एक इन्जिनियरको स्टिमेट तथा डिजाइनमा बनेको पुल एक शताब्दी पुग्न लाग्दा पनि जस्ताको त्यस्तै छ । अहिले पनि जाजरकोटी जनता र रुकुमेली जनतालाई सेवा दिइरहेको छ । दाङको कोइलावास नाका हुँदै हात्तीबाट पुलका लागि आवश्यक पर्ने फलामका लट्ठा ल्याइएको थियो । पुलको अन्य काममा स्थानीय मानिसले श्रमदान गरेका थिए । झोलुङ्गे पुलमा काठका फल्याक राखिएको थियो । १० वर्षको अन्तरालमा काठ फेर्ने गरिन्थ्यो । तर अहिले स्टिल राखिएको छ । 

तत्कालीन जाजरकोट राज्यले पुलमा वारपार गर्दा कर लिने गर्दथ्यो । एक पटक पुल तरेको सुरुमा दुई पैसा, त्यसपछि पचास पैसा हुँदै एक रुपियाँसम्म शुल्क असुल्ने गरिन्थ्यो । मानिस, जनावार सबैको शुल्क तिर्नुपर्ने स्थानीय पाका व्यक्तिहरू बताउँछन् । पुल मर्मत त्यसै रकमबाट हुने बुढापाकाको भनाइ छ । २०१८ सालपछि राज्य रजौटा उन्मूलन गरिए । तत्कालीन पञ्चायत सरकारले पच्चीस पैसा हुँदै पचास पैसासम्म कर लिने गरेको पाइन्छ । बहुदलीय व्यवस्थाको स्थापनासँगै पुल तरेको कर लिन बन्द भएको थियो । 

जाजरकोट सदरमुकाम खलङ्गाबाट छ किलोमिटर दूरीमा रहेको मटेला पुल इतिहासको जीवन्त पाटो भएर रहेको छ । सो ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । भेरी नगरपालिका–११ का सत्यप्रसाद शर्माले ऐतिहासिक पुलको संरक्षण गरी जिल्लाको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो । साबिकको मध्यपश्चिम र हालको कर्णाली प्रदेशका १० जिल्लामा मटेलाको पुल जतिको पुरानो कुनै पुल नरहेको दाबी शर्माको छ ।