गोकर्ण दयाल
बैतडी, असोज १३ गते । यहाँको एक दम्पतिले भवगवानको मूर्ति बनाएर शिक्षा, स्वास्थ्य र खानपिनको जोहो गर्दैआएका छन् । भगवानको मूर्तिले परिवारको गास मात्रै जुटाएको छैन, श्रीमतीलाई क्याम्पस पढ्ने खर्चको समेत जोहो गरेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका –६, का ३० वर्षीय बिरेन्द्र लुहारले गरिबीका कारण कक्षा १० मै पढाइ छाडे पनि श्रीमती मीना लुहारलाई मूर्ति बनाएरै स्नातक तहसम्मको अध्ययन गर्न सघाउनुभएको छ । २६ वर्षीय मीना बैतडीको पाटन बहुमुखी क्याम्पसमा नेपाली मूल विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत छिन् ।
उच्च शिक्षा आर्जन गरेर देशको सेवा गर्न लोकसेवा आयोगको तयारी गर्ने धोको रहेको मीनाले बताउनुभयो । श्रीमान्को प्रेरणाले विवाहपछि पनि पढाइ निरन्तर जारी राखेको उहाँले बताउनुभयो ।
खाली समयमा उहाँ श्रीमान्लाई काममा सघाउँदै आउनुभएको छ । बिरेन्द्रले शिव पार्वती, सरस्वती र गाईको प्रतिमा बनाउँदै आएका छन् । मागअनुसार जिल्लाका विभिन्न मन्दिर परिसरमै पुगेर भगवान बनाउने गरेको बिरेन्द्रले बताउनुभयो ।
अहिले पाटन नगरपालिका –८, खोड्पेस्थित शिव मन्दिरमा मूर्तिको काम गरिरहेको उहाँले बताउनुभयो । खोड्पे क्षेत्रमा मूर्ति बनाउने माग राम्रो आइरहेको उहाँले बताउनुभयो । मूर्तिसँगै उहाँले मन्दिर र स्वागतद्वार पनि निर्माण गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो,“ कमाई खान जग्गा जमिन केही छैन । बुवा पनि ज्याला मजदुरी गर्नुहुन्छ । गरिबीका कारण आफूले पढ्न नसके पनि श्रीमतीलाई स्नातक तहसम्म पढाउन सकेको छु । छोरा ४ कक्षा र छोरीलाई १ कक्षामा सामुदायिक विद्यालयमा भर्ना गरेका छौं ।”
सानैमा आमा बितेपछि बुवाले अर्को विवाह गरेको उहाँले बताउनुभयो । कान्छी आमासहित चार भाइ र एक बहिनी हुर्काउन र पढाउँनमै बुवालई धौ–धौ परेको बिरेन्द्र स्मरण गर्नुभयो । अन्य भाइ काम खोज्न विदेश गएका बेला बिरेन्द्र भने भगवानको मूर्ति बनाउने काममा लाग्नुभएको छ ।
विद्यालय पढ्दा चित्रकलामा प्रथम हुने बिरेन्द्रले काम खोज्न भारत जानुभन्दा चित्रकला र मूर्ति बनाउने सोच पलाएको बताउनुभयो । युट्टुब हेरेर सीप निखारिदै गएको उहाँले अनुभव सुनाउनुभयो ।