दमक (झापा), असोज १३ गते । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुनः स्थापित गरिएको छ । पुनः स्थापित गरिएसँगै प्रहरी काममा फर्किएका छन् ।
आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले बताउनुभयो । प्रहरीलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापालगायतले स्वागत गरेका थिए ।
जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँच वटा पक्की भवन र गाडीमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारसमेत लुटिएको थियो । लुटिएका हतियारलगायत सामान अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियार सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
आगजनीपछि सबै प्रहरी भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । दमक नगरपालिकाको विशेष पहलमा सात दिनअघि मात्र उक्त प्रहरी टोली दमक-८ को अग्र्यानिक सब्जी मन्डीको भवनमा अस्थायी रुपमा सरेका थिए । इलाका प्रहरीको पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरीको स्थानीय रोयल स्पोर्टिङ क्लब दमकले अगुवाइ गरेको थियो ।
ती दुवै कार्यालयको भवन पुनर्निर्माण गरी जति छिटो ती कार्यालय पुनः स्थापित गराउन विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोग स्वरुप प्राप्त भएको थियो । प्रहरी पुनः स्थापित भएपछि यहाँको शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न मद्दत पुग्ने दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुरागाईंले बताउनुभयो ।
क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घले पाँच लाख, दमक नगर इसाई समाजले दुई लाख १६ हजार ६५५ सहयोग रकम उपलब्ध गराएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जिल्लामा विस्थापित प्रहरी कार्यालय स्थानीयको सहयोगमा धमाधम पुनः स्थापित हुँदै छन् । जिल्लामा ६९ वटा प्रहरी कार्यालयसहित युनिटमा तोडफोड तथा आगजनी गरिएका थिए । रासस