• १३ असोज २०८२, सोमबार

सरुमारानीबाट दशैंमा ४० लाखको खसीबोका बिक्री

blog

दसैंमा बिक्रीका लागि लगिएको खसीबोका ।

सलिम मियाँ

बिजुवार, असोज १२ गते । प्युठानको सरुमारानी गाउँपालिकाबाट यस वर्षको बडादशैंलक्षित करिब ४० लाख रुपियाँ बराबरको खसी–बोका बिक्री गरेका छन् । 

गाउँपालिकाको सहजीकरण र हेफर साझेदारी परियोजनाको समन्वयमा असोज ५ देखि १२ गतेसम्म तीनवटा महिला सहकारीमार्फत २५८ वटा खसीबोका संकलन गरिएको हो । 

सरुमारानी –६ को सरुमारानी सामाजिक उद्यमी महिला सहकारी, सरुमारानी –३ को शान्तिकुञ्ज सहकारी र सरुमारानी –१ को सक्रिय सहकारीमार्फत जम्मा ७ हजार ७३० किलो खसीबोका संकलन भई ३९ लाख ५७ हजार रुपियाँमा बिक्री भएको गाउँपालिकाले जनाएको छ ।

परियोजना संयोजक बेदराज पाण्डेका अनुसार, सहकारीमार्फत तौल गरेर बिक्री गर्ने प्रथाले किसानलाई वास्तविक मूल्य दिलाउने गरेको छ । आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने तयारी गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाले २०७९ सालदेखि तौलमा आधारित बिक्रीलाई प्रोत्साहन गर्दै किसानलाई प्रतिकिलो २५ रुपियाँसम्म अनुदान दिँदैआएको छ । यसले ठाडो बिक्री घटाएको र किसानलाई पारदर्शी मूल्य सुनिश्चित भएको गाउँपालिकाको दाबी छ ।

यस पटक सरुमारानी –४ मान्द्रेकी नमी थापाले मात्र शान्तिकुञ्ज सहकारीमार्फत ८ वटा खसी बिक्री गरी १ लाख २२ हजार रुपियाँभन्दा बढी आम्दानी गर्नुभएको छ । शान्तिकुञ्ज सहकारीले यस पटक मात्र १३८ वटा खसीबोका कारोबार गरेको छ ।

दशैंका लागि स्थानीय बजारमै २५० भन्दा बढी खसी–बोका आवश्यक हुने अनुमान गरिएको छ । सहकारी बाहिर पनि किसानले ठाडै बिक्री गरेको हुनसक्ने गाउँपालिकाले जनाएको छ ।