• १३ असोज २०८२, सोमबार

बडा दशैंको शुभकामना

संविधानकै बाटोबाट जटिलताको समाधान सम्भव : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ, असोज १३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान मुलुकको सर्वोच्च कानून भएकाले राजनीतिक जटिलताको समाधान संविधानकै मार्गबाट खोजिनुपर्नेमा जोड दिनुभएको छ । 

सात दशक लामो संघर्ष र बलिदानपछि बनेको ऐतिहासिक संविधानले मुलुकलाई स्थिरता, प्रगति र समृद्धितर्फ अघि बढाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । 

बडा दशैं २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले सो धारणा सार्वजनिक गर्नुभएको हो । 

सभापति देउवाले नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै यी विविधताबीच कायम रहेको अनुपम एकता नै नेपालीको पहिचान भएको बताउनु भयो । उहाँले बडा दशैंजस्ता पर्वहरूले समुदाय, संस्था, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै ल्याउने विश्वास व्यक्त गर्नु भएको छ । 

गत भदौ २३ र २४ गते जेएनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ । 

साथै, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सोही क्रममा आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका सरकारी निकाय, राजनीतिक दलका कार्यालय, निजी घर–डेरा र व्यावसायिक प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट भएको घटनालाई इतिहासकै अकल्पनीय र दुःखद भएको उल्लेख गर्नु भएको छ । 

बडा दशैं अन्यायमाथि न्यायको र असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएको उल्लेख गर्दै सभापति देउवाले यसले नेपाली समाजलाई पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भावना अझ प्रगाढ बनाउन प्रेरित गर्ने विश्वास व्यक्त पनि व्यक्त गर्नुभएको छ । 

शुभकामनामा भनिएको छ, ‘‘यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् ।’’