• १३ असोज २०८२, सोमबार

राष्ट्रनिर्माणमा युवा ऊर्जा

blog

विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि विभिन्न ऐतिहासिक कालखण्डमा राजनीतिक उतारचढाव हुँदै आइरहेको तथ्य जगजाहेर छ । जहानियाँ शासन र सामन्तवादी दासत्वविरुद्ध २००७ सालको सङ्गठित जनविद्रोह, निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध भएको २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६२ सम्मको माओवादी सशस्त्र विद्रोह र २०६२÷६३ मा भएको दोस्रो ऐतिहासिक जनआन्दोलनले नेपाललाई नयाँ गति प्रदान गरेका छन् । जब मुलुक विचारहीनता, सिद्धान्तहीनता वा यथास्थितिको बिलखबन्दमा जकडिन्छ, जनता निस्सासिने व्रmम बढ्छ । सो व्रmम एउटा उपल्लो चरणमा पुगेपछि उत्पन्न आमअसन्तुष्टिले फराकिलो भौतिक आकार ग्रहण गरी विष्फोट हुने गरेको छ । नेपालमा भदौ २३ र २४ गतेको जेनजी विद्रोहले पनि त्यही तथ्य दर्साउँछ । अत्यन्त दुःखद जनधनको क्षतिले नेपाली समाजलाई तत्कालै मानसिक ट्रमा भए पनि पुनः सव्रिmय चिन्तनका साथ राष्ट्रको व्यवस्थापन गर्नेतर्फ लाग्नुको विकल्प छैन । 

जेनजी विद्रोहसम्बन्धी विवेचना गर्ने व्रmम अगाडि बढिरहेको छ । यस सन्दर्भमा विगतका राजनीतिक आन्दोलनभन्दा यस जेनजी विद्रोह आधारभूत रूपमा भिन्न देखा पर्छ । यसको मूल मुद्दा क्यान्सरका रूपमा देशैभरि झाँगिएको भ्रष्टाचार नियन्त्रणका लागि २८ वर्षमुनिका युवा तथा कलिला पुस्ताको तर्फबाट जोसिलो दबाब निर्माण गर्नु थियो । सामाजिक मिडिया प्लेटफर्ममार्फत मनोवैज्ञानिक रूपमा सामूहिकीकरण गरिएको उक्त मुद्दामा भ्रष्टाचार विरोधी सबै तह र तप्काका जनताको समर्थन नहुने कुरै थिएन । सामाजिक सञ्जालमा मात्र भ्रष्टाचारको विरोध गर्दा सुनुवाइ नभएकाले भौतिक रूपमै सडकमा उपस्थिति जनाएर पछिल्लो पुस्ताले आफ्नो शक्ति देखाएमा राज्यलाई मनग्गे नैतिक तथा मानसिक दबाब पुग्छ र देखिने गरी नै नियन्त्रणात्मक कदम चालिन्छ भन्ने विशेषतः आह्वानकर्ता जेनजी समूहको अपेक्षा थियो । स्वभावतः गैरसाङ्गठानिक र गैरसंरचनात्मक आन्दोलन भएकाले यसको कुनै ठोस तहगत नेतृत्व, परिचालन समिति र सामाजिक सञ्जालमा सव्रिmय सबै समूहको समष्टिगत प्रतिनिधित्व गर्न सक्ने औपचारिक प्रोटोकलसहितको संश्लेषित वा एकद्वार संवाद समिति पनि थिएन । तैपनि भदौ २३ को प्रदर्शनीमा विभिन्न सामाजिक सञ्जालमा आह्वान गरिएबमोजिम पछिल्लो पुस्ताका सहभागी स्वतःस्फूर्त रूपमा सडकमा आएकाले विगतमा पार्टीगत संरचनाद्वारा गरिने जनपरिचालनभन्दा यो फरक थियो । अझ सामाजिक सञ्जालमा गरिएको लाइभ स्ट्रिमिङले त झनै पछिल्लो पुस्तालाई सडकमा थपिन थप प्रोत्साहित ग-यो । 

परम्परागत कसीमा राखेर यो जेनजी विद्रोहको मर्मलाई बुझ्न सकिन्न । यो कुनै निश्चित विचाराधाराप्रेरित थिएन । न यो कुनै राजनीतिक सङ्गठनको स्वरूपभित्र रहेर गरिएको आन्दोलन थियो । सुरुमा दबाबमूलक आन्दोलनका रूपमा आएको भए पनि राज्यको अमानवीय दमनपछि यसले विद्रोहका रूप धारणा गरेको हो । यसको मर्मले राजनीति ठेक्कापट्टा तथा व्यापारव्यवसाय नभई जनसेवा भएकाले  उपयुक्त चरित्र र गुण भएको राजनीतिक सङ्गठन निर्माण गर्नु पर्ने मुद्दासमेत छुन्छ । 

विगत ३६ वर्षमा आन्दोलन र सङ्घर्ष धेरै भए र जनतामा जागरुकता पनि बढ्यो । तैपनि स्वदेशमै शिक्षा र रोजगारीको प्रत्याभूति गर्दै जनतालाई सशक्तीकरण गर्न लगानी गर्नुपर्ने स्रोतसाधन भ्रष्टाचार र घोटालाको अनन्तः शृङ्खलामार्फत सम्भ्रान्त वर्ग र नवसामन्तवादी वृत्तको वरिपरि सङ्केन्द्रित हुँदा त्यसको सञ्चयी प्रभाव यतिखेर देखा परेको हो भन्ने बुझ्नु बुद्धिमानी हुन्छ । तरल स्थितिलाई कहीँकतै पनि भड्किन नदिई प्याराडाइम सिफ्ट गर्नुपर्ने चुनौती नेपाली समाजसामु खडा भएको छ । वास्तवमा नेपालको जेनजी विद्रोहले विद्यमान राजनीतिक संस्कृतिलाई रूपान्तरण गर्नु अनिवार्य छ भन्ने चहकिलो सन्देश दिएको भुल्नु गम्भीर गल्ती हुने छ । डिजिटल वृत्तमा थुप्रिएका मानसिक चापहरू कसरी विष्फोट हुन सक्छन् भन्ने दृष्टान्त पनि बनेको छ यो जेनजी विद्रोह । साथै राज्यको पुरातनवादी कार्यशैलीमा पनि गुणात्मक व्रmान्ति चाहिने रहेछ भन्ने महसुस हुन आवश्यक छ । 

एक्लै एक्लै बसेर प्रायः डिजिटल उपकरणमै घोर्रिरहने सुषुप्त पछिल्लो पुस्ता कसरी शक्तिशाली ऊर्जाका रूपमा एक्कासि विष्फोट हुन्छ ? यो अन्य मुलुकका मानिसले पनि अध्ययन गर्ने विषय हुने छ । विशेषतः सूचना तथा सञ्चार प्रविधिले गुम्सिएका आवेगलाई तीव्र गतिमा कसरी प्रसार गर्छ र यसबाट इन्टरनेटसँगै र डिजिटल क्यामरालाई पोज दिँदै जन्मिएका जेनजीलाई के प्रभाव पर्छ भन्ने विषय चाहिँ सञ्चार जगत्का लागि मात्र होइन समाजशास्त्र, राजनीतिशास्त्र, चिकित्साशास्त्र, मनोविज्ञान जस्ता विधाका लागि पनि त्यत्तिकै महìवपूर्ण ठहर्ने छ ।  

सूचना तथा सञ्चार प्रविधि माझ गरेको जेनजी विद्रोहले नेपालको राजनीति र अझ गणतान्त्रिक प्रणालीलाई नवीकरण गर्ने क्षमता राख्छ । साथै गरिबीको उत्पादन गर्ने विचारधारालाई नेपालको हकमा यस जेनजी विद्रोहले धक्का दिएको होइन भन्न सकिन्न । यसको अर्थ हुन्छ, उत्पादनमूलक कल्याणकारी राज्य स्थापना गर्नुपर्ने आवश्यकता । भ्रष्टाचार नियन्त्रणलाई केन्द्रीय मुद्दा बनाएर उठेको यस युवा उभारले लोकतन्त्रलाई बिचौलेकेन्द्रित होइन कि पारदर्शी, जवाफदेही र जनताकेन्द्रित बनाउन दबाब दिएको छ । यस विद्रोहलाई लोकतान्त्रिक गणतन्त्र विफल भएको अर्थमा बुझ्नु आधारहीन हुन्छ किनभने जेनजी आन्दोलनको व्रmममा कुनै पनि गणतन्त्रविरोधी व्रिmयाकलाप र अभिव्यक्ति प्रकट भएको देखिँदैन । बरु राजनीतिलाई पुख्र्याैली व्यवसायका रूपमा सञ्चालन गर्नु बेठिक हुनाले गणतन्त्रकै पछिल्लो पुस्ताले आफ्नो प्रतिभा र क्षमतालाई प्रफुस्टन गर्ने प्रशस्त ठाउँ र अवसर आफूलाई पनि दिनु पर्छ भन्ने आवाज मुखरित गरेको छ । नागरिकता १६ वर्षमा प्राप्त गर्न मिल्ने, १८ वर्षमा देशको कार्यभार वहन गर्ने नेतृत्व चयन गर्ने अधिकार प्राप्त गर्ने र खाऊँ खाऊँ र लाऊँ लाऊँ भन्ने उमेरमै बिदेसिएर देशलाई रेमिट्यान्स दिने भरिलो युवापुस्ताले २२÷२५ कै उमेरमा विज्ञमन्त्री भएर राष्ट्रका लागि कार्यसम्पादन गर्न किन नमिल्ने भन्ने राष्ट्रिय उत्पादकत्वसँग सम्बद्ध गहन महìवको प्रश्न पनि यस जेनजी विद्रोहले खडा गरिदिएको छ । 

आजको डिजिटल युगको विशेषता हो, नेपालको जेनजी विद्रोह २४ घण्टामै विश्वव्यापी चर्चाको विषय बन्यो । नेपालका लागि त यो जेनजी ऊर्जाको प्रक्षेपण विन्दु जस्तो भैदियो । यसलाई राष्ट्र निर्माणमा जेनजी ऊर्जाको प्रफुस्टनका रूपमा बुझ्नु अवैज्ञानिक ठहर्दैन । राष्ट्रको बहुआयामिक विकासमा यो ऊर्जा परिचालन गर्ने जेनजी नीतिको आवश्यकतासमेत एकैसाथ उजागर भएको छ । साथै जेनजीले पनि इतिहास र वर्तमान दुवैलाई परीक्षणात्मक दृष्टिले थप अध्ययन गर्नुपर्ने भएको छ ।   

अन्तरिम सरकार नै जेनजी विद्रोहको शक्तिमा टेकेर बनेकाले यसले आफ्नो छोटो कार्यावधिमा निर्वाचनबाहेक धेरै गर्न नसके पनि पछिल्लो पुस्ताको तीव्र प्रगतिको मनोकाङ्क्षालाई सम्बोधन गर्ने गरी जेनजीसम्बद्ध नीतिगत आधार तयार गरिदिन सक्छ । राष्ट्र निर्माणमा जेनजी ऊर्जाको भरपुर सदुपयोग गर्दा राष्ट्रिय उत्पादकत्वमा उच्च वृद्धि हुने हुँदा सोसम्बन्धी रणनीति बनाउन निर्वाचित सरकारलाई सहज बनाउने गरी वर्तमान अन्तरिम सरकारले केही आधारभूत गोरेटो बनाइदिन सक्छ ।