• १३ असोज २०८२, सोमबार

कलासंस्कृति संरक्षणमा युवा

blog

कलासंस्कृति बचाउनेबारे तालिम लिँदै युवा । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, असोज १३ गते  । यहाँका युवा परम्परागत कलासंस्कृति संरक्षणमा जुटेका छन् । जाजरकोटका सात वटा स्थानीय तहका युवा तथा विद्यार्थी स्थानीय कला संस्कृति संरक्षण गर्न थालेका हुन् । लोप हुँदै जान थालेको भन्दै युवा कला संस्कृति बचाउन जुटेका छन् । चाडपर्व, विवाह, व्रतबन्ध, जात्रालगायतका पर्वमा गाउँबस्तीमा गुन्जिने कला संस्कृति लोप हुन थालेपछि पुराना संस्कृति बचाउन स्थानीय युवाले अभियान नै सञ्चालन गरेका छन् । 

गाउँबस्तीको महत्त्व झल्काउने पुरानो लोक संस्कृतिबाट दुःखसुख साट्ने पुर्खाको चलनलाई लोप हुन नदिन युवा, विद्यार्थी सिक्न थालेका छन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले पुर्खाले बचाएको लोककला संस्कृतिले गाउँबस्तीको वास्तविकता झल्काउने गरेको बताउनुभयो । केही समयअघि मेला, जात्रा, विवाह, व्रतबन्ध, चाडपर्वमा स्थानीयको लोकभाका, मादल, ट्याम्को, बाँसुरी, झ्याली, नेवरलगायतका स्थानीय कला संस्कृति लोप हुन थालेपछि संरक्षण गर्न प्रतिष्ठानले अभियान सञ्चालन गरेको छ । 

उहाँले यहाँको भेरी नगरपालिकामा सिँगारु, लहरे पँसेरी, सोरठी, नलगाड नगरपालिमा ख्याली, जुनीचाँदे गाउँपालिकामा देउडा, शिवालय गाउँपालिकामा मारुनीनाच, बारेकोट गाउँपालिकामा दरी खेल, माङ्गल, हिउँदाले भाका, ठाँडी भाका, कुसे गाउँपालिकामा खाँडोनाच, छेडागाड नगरपालिकामा मयूरनाच युवापुस्ताले सिक्न थालेका छन् । सात वटा स्थानीय तह अन्तर्गत माध्यमिक विद्यालयका विद्यार्थी पुरानो कलासंस्कृति संरक्षणमा जुटेका छन् । यतिबेला गाउँबस्तीका युवाले कलासंस्कृति जोगाउन तालिम पनि लिन लिन थालेका छन् । छेडागाड नगरपालिका–८ का समाजसेवी खडकबहादुर बुढाले पुरानो कलासंस्कृति बचाउन सरोकारवाला निकाय र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।