धनगढी समाचारदाता
धनगढी, असोज १३ गते । कैलालीको मोहना नदीबगरमा ठुलो सङ्ख्यामा पानीगौँथली आइपुगेका छन् ।उचित बासस्थानको खोजीमा दक्षिणबाट उत्तरतिर सर्दै पानीगौँथली कैलारी गाउँपालिका–३ स्थित मोहना नदीबगरमा आइपुगेका हुन् । केही दिनदेखि खोनपुर, निमुवा बोझी क्षेत्रमा पानीगौँथली देखा परिरहेको कैलारी गाउँपालिका–१, हसुलियाका वाइल्डलाइफ फोटोग्राफर कुलराज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार यस पटक अहिले हाराहारी एक हजार सङ्ख्यामा रहेको पानीगौँथलीको एउटा झुन्ड देखा परिरहेको छ । अझै थप पानीगौँथली आउने उहाँले बताउनुभयो ।
यस ठाउँमा प्रत्येक वर्ष असोज महिनामा ठुलो सङ्ख्यामा पानीगौँथली आउने गरेको जनाइएको छ । आफ्नो पुर्खा पुगेको ठाउँमा यो प्रजातिका चरा प्रत्येक वर्ष आएर आहारविहार गर्ने गरेको चराविज्ञ हिरूलाल डङ्गौराको भनाइ छ । उहाँले निमुवा बोझी, खोनपुर, भितरिया क्षेत्रमा मोहना नदीको बगर पानीगौँथलीका लागि उपयुक्त वासस्थान रहेको उल्लेख गर्नुभयो ।
“मोहना नदीमा बगर त अरूतिर पनि छ,” डङ्गौराले थप्नुभयो, “तर अरूतिर यो चरा जाँदैन । विगत केही वर्षदेखि हरेक वर्ष एउटै क्षेत्रमा आएर बस्ने, रमाउने गरेको देखिएको छ ।” भारतको उत्तर प्रदेशस्थित घाँघरा, गङ्गा र शारदा जस्ता ठुला नदीबगरका रैथाने पानीगौँथली गर्मीयाममा बसाइँ सरेर कैलालीको मोहना नदीमा पुग्ने गरेको बताइन्छ । पानीगौँथली चरा केही यहीँको रैथाने रहे पनि धेरै जसो भारतबाट बसाइँ सरेर आउने गरेको डङ्गौराले बताउनुभयो । भारतको उत्तर प्रदेशमा रहेका ठुला नदीमा बाढीले वासस्थान बिगारेपछि उपयुक्त बसोबासको खोजीमा यी चरा दक्षिणबाट केही उत्तर बसाइँ सर्ने गर्छन् ।”
नदी किनार र ससानो ढुङ्गामा पानीगौँथली चरा बस्ने गरेको जनाइएको छ । चराका लागि मोहना नदीमा वासस्थान राम्रो रहेको बताइएको छ । ठुलो सङ्ख्यामा नदी किनारमा बस्ने पानीगौँथलीले पानीमाथि उड्ने किरालाई खाने गर्छन् । आहारा पर्याप्त मात्रामा पाइने ठाउँमा यो प्रजातिका चरा बस्न रुचाउने गरेको जनाइएको छ । बर्ड लाइफ इन्टरनेसनल २०१३ का अनुसार नेपाल, भारतसहित पानीगाँैथली अफगानिस्तान, बहराइन, बङ्गलादेश, भुटान, कम्बोडिया, चीन, इरान, मलेसिया, म्यान्मार, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, युएई, भियतनाम, यमन, सिङ्गापुर, ओमानलगायतका देशमा पाइने गर्छन् ।
गोहीको बच्चा उद्धार
यसैबिच सानो कुलोमा फसेको मगरगोहीको बच्चालाई उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएको छ । कैलालीको टीकापुर नगरपालिका–९, रैनाबोझी कुलोमा फसेको गोहीको बच्चालाई उद्धार गरेर पथरैया नदीमा छाडिएको हो । स्थानीयले रैनाबोझी झरनामा गोहीको बच्चा फसेको जानकारी दिएपछि संरक्षणकर्मी भोजराज ढुङ्गानाले त्यसको उद्धार गर्नुभएको थियो । उद्धार गरेर ल्याएको गोहीको बच्चालाई टीकापुर नगरपालिका–७, बैदी, डल्फिन संरक्षणस्थित पथरैया नदीमा सुरक्षित रूपमा छोडिएको ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएको गोहीको बच्चा यसै वर्षको हो । डेढ मिटर लम्बाइ रहेको बच्चा अब प्राकृतिक वासस्थानमा पुगेपछि खतरा नरहेको ढुङ्गानाले बताउनुभयो । पथरैया, काढा, मोहना नदीमा मगर र घडियाल गोहीको बसोबास रहेको छ । यस क्षेत्रमा प्राकृतिक रूपमै गोहीले बच्चा कोरल्ने गरेका कारण गोहीको सङ्ख्यामा वृद्धि भइरहेको बताइएको छ ।