• १३ असोज २०८२, सोमबार

थारू समुदाय दसैँमा कुलदेउता फेर्दै

blog

सङ्ग्रहालयमा राखिएको थारू देउता घोर्वा ।

धनगढी समाचारदाता

धनगढी, असोज १३ गते  । प्रकृतिपूजक थारू समुदायमा वर्षमा एक पटक आफ्नो कुलदेउता फेर्ने चलन छ ।  माटोको घोर्वा (घोडा) लाई देउता मान्दै आएका थारूले दसैँमा त्यसलाई फेर्ने चलन रहेको हो । यसै गरी दसैँमा माटोको दियो र कुचो पनि फेर्ने गरेको ती समुदायले जनाएको छ । देवीदेउताका रूपमा पुज्दै आएको घोरुवा वर्षदिनमा टुटफुट वा पुरानो हुने गरेका कारण दसैँमा हरेक वर्ष देउता (माटोको घोर्वा) फेर्ने चलन रहेको कैलारी गाउँपालिका–७ का सोमै दहितले बताउनुभयो । 

उहाँका अनुसार थारू समुदायमा माटोको घोर्वालाई कुलदेउताका रूपमा लिने गरिन्छ । कुलदेउता पूजेमा त्यसले घरपरिवारको संरक्षण गर्नुका साथै दुःख बिरामीबाट छुट्कारा दिने जनविश्वास रहेको दहितले बताउनुभयो । थारू समुदायले दसैँमा विशेष गरेर खेखरी, मैयाँ, सौंरालगायतका देवीदेउताको पूजा गर्ने चलन छ । यसै गरी आफ्ना देवीदेउताका लागि नयाँ कुचो पनि राख्ने गरिएको छ । 

थारू समुदायले दसैँमा माटोको घोर्वा, दियो फेर्ने चलनले कुमाल समुदायको परम्परागत व्यवसायमा टेवा पुगेको छ । कैलालीको केही ठाउँमा बसोबास गर्दै आएका कुमालले नै माटोको घोर्वा, दियो बनाउने गरेका छन् । दसैँ आएपछि उनीहरूको माटाको भाँडाकुँडाको व्यापार चल्ने गरेको छ । 

अन्य समयमा बिक्री नहुने घोर्वा र दियोको व्यापार दसैँमा चम्कने गरेको कैलारी गाउँपालिका–७, भुइयाँफाँटाका बाँधुराम कुमालको भनाइ छ । थारू समुदायले दसैँमा घोर्वा र दियो फेर्ने गरेका कारण यो बेला माटोको सामग्री बढी बिक्री हुने गरेको उहाँले उल्लेख गर्नुभयो । माटोको एउटा घोर्वा पाँच सयदेखि एक हजार रुपियाँमा बिक्री हुने गरेको कुमालले बताउनुभयो ।