• १३ असोज २०८२, सोमबार

कोभिड–१९ विरुद्धको खोपः गुल्मीमा ३३ हजारभन्दा बढीले लगाए

blog

रमेश विश्वकर्मा 
गुल्मी, असोज १२ गते ।
गुल्मीमा ३३ हजारभन्दा बढी नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । यस जिल्लामा दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहका ३३ हजार ७८२ जना नागरिकले कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट नामक खोप लगाइएको स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन असिस्टेन्ट श्यामकुमार पालले जानकारी दिनुभयो ।

कोल्डचेन असिस्टेन्ट पालका अनुसार यस जिल्लामा रहेका विभिन्न खोप केन्द्रमार्फत यहाँका नागरिकलाई कोभिड–१९ को नयाँ ‘ओमिक्रोन भेरियन्ट’का विरुद्धको खोप लगाइएको छ ।

गुल्मीमा करिब ३७२ खोप केन्द्रमार्फत १२ वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइएको उहाँले बताउनुभयो । कोभिड–१९ विरुद्धको निश्चित औषधी उपचार नभएकाले सङ्क्रमणबाट बच्नका लागि यो खोप लगाइएको बताइएको छ । गत भदौ ६ देखि ९ गतेसम्म यस जिल्लामा सञ्चालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा १३ हजार ५६० जना पुरुष र १८ हजार ४४० जना महिलालाई खोप लगाइएको छ । यस जिल्लाका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलबाट ३४ हजार २०० डोज खोप स्वास्थ्य कार्यालय गुल्मीलाई प्राप्त भएको थियो ।

अभियानका क्रममा सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकामा छ हजार ७९ जनालाई कोभिड–१९ विरुद्ध खोप लगाइएको उहाँले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकामा चार हजार दुई जना, कालीगण्डकी गाउँपालिकामा एक हजार ७८२ जना, सत्यवती गाउँपालिकामा तीन हजार ३३५ जना, चन्द्रकोट गाउँपालिकामा दुई हजार ८९ जना, रुरुक्षेत्र गाउँपालिकामा दुई हजार चार जना, छत्रकोट गाउँपालिकामा दुई हजार ४१३ जना नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । त्यसैगरी, गुल्मीदरबार गाउँपालिकामा तीन हजार ४८६ जना, इस्मा गाउँपालिकामा एक हजार ४८८ जना, धुर्कोट गाउँपालिकामा दुई हजार १०० जना, मदाने गाउँपालिकामा दुई हजार २०२ जना र मालिका गाउँपालिकामा दुई हजार ८०२ जना नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको कोल्डचेन असिस्टेन्ट पालले जानकारी दिनुभयो ।