• १३ असोज २०८२, सोमबार

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

blog

काठमाडौं, असोज ११ गते । नेपाली कांग्रेसले परम्परागत रूपमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ सहित स्वदेश फर्केपछि नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने परम्परा छ। तर यस वर्ष भदाै २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमका कारण उक्त कार्यक्रम नगर्ने निर्णय भएको पार्टीले जनाएको छ।

उक्त घटनामा ७४ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय (सिंहदरबार), संसद् भवन, सर्वोच्च अदालत लगायतका संवैधानिक निकायहरू, प्रहरी कार्यालयहरू, ऐतिहासिक भवनहरू र आश्रमहरूमा क्षति पुगेको कांग्रेसले स्मरण गरेको छ। त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउव लगायतका नेतामाथि सांघातिक आक्रमण भएको, विभिन्न राजनीतिक दलका कार्यालयहरू, व्यावसायिक प्रतिष्ठानहरू र व्यक्तिगत सम्पत्तिमा समेत योजनाबद्ध रूपमा लुटपाट र आगजनी भएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसका अनुसार देशभर नागरिक शोकमग्न रहेको र पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरिएकाले यस वर्ष चियापान कार्यक्रम स्थगित गरिएको हो। पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “यो विषम परिस्थितिमा हामी सबै देशभक्त नेपालीबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता छ।”

सो जानकारी नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत सार्वजनिक गर्नुभएको हो ।