• १३ असोज २०८२, सोमबार

ऐतिहासिक कोतमा दसैँको उल्लास

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), असोज १३ गते । तत्कालीन अवस्थामा यहाँका मुसीकोट, धुर्कोट र इस्माकोट तत्कालीन चौबिसे राज्य हुन् । एकीकरणपछि यी दरबारहरू कोत अर्थात् दसैँ घरका रूपमा स्थापित भए । यी कोतमा अहिले दसैँको अवसरमा पूजापाठ तथा मेला लाग्ने गरेको छ । 

दसैँको पहिलो दिनदेखि पूर्णिमासम्म विभिन्न दिन विशेष मेला लाग्ने गर्छ । इस्माकोट, धुर्कोट कोत, चन्द्रकोट कोत, मुसीकोट कोतलगायतका शक्तिपीठमा घटस्थापनाका दिनदेखि पुजारीहरू १० दिनसम्म लगातार बस्ने गर्दछन् ।

मुसीकोट कोतमा पुजारीका रूपमा ठकुरी र सारु समुदायबाट अनिवार्य दुई जना चाहिन्छ भने पण्डितमा कुलपुज्ये पङ्गेनी र घिमिरे समुदाय चाहिने परम्परा रहेको छ । मुसीकोट कोत व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर सिंहले सप्तमीको दिन थापा समुदायको अनिवार्य उपस्थितिमा कुर्घाको बेलटारीबाट फूलपाती ल्याएपछि मैदानमा राखेर बाजागाजासहित डोलामा राखेर कोतमा भिœयाउने प्रचलन रहेको जानकारी दिनुभयो । नवमीमा मुसीकोट कोतमा विशेष मेला लाग्ने गर्छ । दशमीमा कोतमा टीकासहित सरायँ खेल्ने चलन रहेको उहाँले बताउनुभयो ।

इस्माकोटमा पनि घटस्थापनादेखि पूजा सुरु गरिन्छ । यहाँ सहायक पण्डितहरू दुई क्षेत्री जातिका गरेर सात जनाले १० दिन इस्माकोटमा नियमित पूजा व्यवस्थापनको काम गर्ने गर्दछन् । मनकामना पूजा समिति इस्माकोटका अध्यक्ष खगराज बस्नेतले इस्मामा रतन पाध्यका सन्तानबाट फूलपाती ल्याउन रातामाटा जाने र बेलसहितको फूलपाती इस्मा मैदानमा ल्याएपछि छत्र मन्दिरबाट खड्ग भगवान्सहित बाजागाजासहित इस्माकोट जाने परम्परा रहेको बताउनुभयो । 

प्mूलपातीमा विशेष मालश्री गाउने र पट्टा खेल्ने पनि गरिन्थ्यो तर पछिल्ला वर्षमा दुवै परम्परा लोपको सँघारमा छन् । बस्नेतले इस्माकोटमा नवमीमा विशेष मेला लाग्ने र दशमीमा टीकाको साइतसँगै खड्ग भगवान्लाई बाजागाजासहित इस्मा मैदान खड्ग मन्दिरमा राखेर दसैँ सकिने बताउनुभयो ।

धुर्कोट कोत पनि यहाँको ऐतिहासिक क्षेत्र हो । घटस्थापना दिनबाट यहाँ विधिवत रूपमा पूजा गर्ने चलन छ । हिमालय मावि धुर्कोट गाउँपालिका–५ वस्तुका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले धुर्कोट कोतमा तारु जैसीका सन्तान पोख्रेलहरू पण्डित र तत्कालीन धुर्कोट राज्यका सिपाहीका सन्तान खड्का, थापा, कार्की र घर्तीक्षेत्रहरूबाट पुजारी कोतमा पस्ने चलन रहेको बताउनुभयो । 

फूलपातीका दिन जैसीथोकको बाटुलेमा पुगेर फूलपाती ल्याउने र धुर्कोट कोतको केही तल बाजागाजासहित कोतबाट गएर फूलपाति साँझ भिœयाउने परम्परा रहेको छ ।