• १३ असोज २०८२, सोमबार

हराउँदै गाउँघरका ढुङ्गे घर

blog

प्युठान समाचारदाता

प्युठान, असोज १३ गते । प्युठान गौमुखी गाउँपालिका अर्खा पैयुँपाटाका मित्र थापाको घर ढुङ्गाले छाएको छ । वर्षौं पहिले हजुरबुवाले बनाएको घर अहिलेसम्म छाउन परेको छैन । एक पटक ढुङ्गाले छाएको छाना लामो समय टिक्ने भएकाले पनि थापाले जस्तै गाउँमा धेरैले  ढुङ्गाको छाना लगाएका छन् । 

तर पछिल्लो समय नयाँ बन्ने घरमा ढुङ्गाको साटो जस्ता पाताले घर छाउने गरिएको छ । आर्थिक रूपमा कम खर्चिलो र सहज हुने भएकाले गाउँमा जस्ताको छानाले घर छाउने गरिएको छ । स्थानीय हेमराज थापाका अनुसार पहिले पहिले खरका छाना र ढुङ्गाको छाना लगाउने गर्दथे । थापाले भन्नुभयो, “बागलुङको दर्लिङ, गुल्मीको अग्लुङबाट ढुङ्गा बोकाएर छाउने गरिन्थ्यो । एक पटक लगाएपछि वर्षौंवर्ष टिक्छ भनेर । हावाहुरीले नउडाउने, वर्षौंसम्म टिक्ने, गर्मी र जाडोमा मौसम अनुकूल हुने भएकाले सक्नेले ढुङ्गाको र नसक्नेले खरको छानाले छाउँथे ।” 

स्थानीय भुवनसिंह थापाले सजिलोले गर्दा गाउँमा जस्ताका छाना बढ्दै गएको बताउनुभयो । मेहनत र खर्च बढी लाग्ने भएकाले ढुङ्गाको छानो लगाउन छाडिएको उहाँको भनाइ छ । गाउँमा २० वर्षदेखि ७० वर्षसम्म पुराना ढुङ्गाले छाएको घर भेटिन्छन् ।

ढुङ्गाको छानो लगाउन छाडेपछि स्थानीय स्तरमा रहेका ढुङ्गाका खानीसमेत बन्द हुुँदै गएका छन् । गाउँका विभिन्न ठाउँमा ढुङ्गा खानी भए पनि अहिले निकाल्न छाडिएको स्थानीय मित्र थापाले बताउनुभयो ।

 ढुङ्गा खानीबाट ढुङ्गा निकालेर अरू काममा प्रयोग गर्न सकेमा स्थानीय स्तरमा रोजगारी सिर्जना हुन सक्ने उहाँको भनाइ छ । थापाले भन्नुभयो, “घर छाउन, भुइँमा बिछ्याउन, सिँढी बनाउन प्रयोग गर्न सकिने भए पनि अहिले प्रायः खानी बन्द जस्तै छन् ।”