लमजुङ समाचारदाता
लमजुङ, असोज १३ गते । महिलाले नेतृत्व गरेको लमजुङको एक सहकारीले समूहमा रहेका किसानका खसीबोका सङ्कलन गरी काठमाडौँमा बिक्री गरेको छ । सुन्दरबजार नगरपालिका–१, कुन्छामा रहेको भागीरथी सामाजिक उद्यमी महिला सहकारीले आफ्ना सेयर सदस्य किसानले पालेका खसीबोका काठमाडौँ लगेर बिक्री गरेको हो ।
सदस्यले पालेका एक सयभन्दा बढी खसीबोका काठमाडौँ लगेर बिक्री गरिएको सहकारीका अध्यक्ष सन्तोषी गौलीले बताउनुभयो । अध्यक्ष गौलीले भन्नुभयो, “यहाँभन्दा काठमाडौँमा बढी मूल्य आउने भएकाले त्यता लगेर बिक्री गरेका हौँ । थोरै भए पनि किसानलाई दसैँ मान्न खर्चको जोहो भएको छ ।” लमजुङमा जिउँदो खसीबोकाको मूल्य पाँच सयदेखि ५५० रुपियाँसम्म रहेको छ । काठमाडौँमा ६५० देखि सात सय रुपियाँसम्म बिक्री गरिएको सहकारीले जनाएको छ ।
सहकारीले गाउँमा सङ्कलन गरेर तीन लट खसीबोका काठमाडौँ लगेर बिव्रmी गरेको जानकारी दिएको छ । सहकारीले यसअघिका वर्षमा पनि दसैँका बेला खसीबोका काठमाडौँ लगेर बिव्रmी गर्ने गरेको थियो ।
३६५ जना महिला मिलेर सञ्चालन गरेको सहकारीका सदस्यमध्ये २६५ जनाले बाख्रा पालन गरेका छन् । १० जनाले त ठुला बाख्रा फार्म नै सञ्चालन गरेका छन् । महिलालाई उद्यमशीलतामा जोडेर आयआर्जनका काममा सहभागी गराउँदा उनीहरूको आर्थिकस्तर वृद्धि भएको सहकारीका अध्यक्ष गौलीले बताउनुभयो ।
२०६८ सालमा हेफर इन्टरनेसनल र चेस नेपालको साझेदारीमा सञ्चालित साना किसान सबलीकरण परियोजनाले महिलालाई उद्यमशील बन्न प्रेरित गरेको थियो । सहकारी स्थापनापछि गाउँमै हाटबजारको सुरुवात गरिए पनि खासै बिक्री हुन नसकेपछि बाहिरी जिल्लामा लगेर बिक्री गर्ने गरिएको सहकारीका सचिव सीता कोइराला अछामीले बताउनुभयो ।
सहकारीले बढी मूल्यमा खसीबोका बिक्री गरिदिएकोमा किसान पनि खुसी भएका छन् । किसान आत्मराम अधिकारीले भन्नुभयो, “सहकारीले खसीबोका सङ्कलन गरेर बिव्रmी गरिदियो, हामीलाई धेरै सजिलो भयो । गाउँघरमा कम मूल्य पाइन्थ्यो । त्यही पनि बिव्रmी गर्न गाह्रो थियो ।” उहाँले यस वर्ष एउटै बोका एक सय केजी तौलको बनाएर बेचेको बताउनुभयो । अर्का किसान रूपामाया दुराले १० वटा खसीबोका बेच्न पाउँदा खुसी लागेको बताउनुभयो ।