बाजुरा समाचारदाता
बाजुरा, असोज १३ गते । बाजुराको मार्तडी–कोल्टी सडक पुनः सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अछामले मर्मतको काम सुरु गरेसँगै सो सडक पुनः सञ्चालन भएको हो । यहाँका पालिकासँग समन्वय गरेर विगत चार महिनादेखि अवरुद्ध भएको सो सडक दसैँअगावै सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा हिमाली, स्वामीकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिकाका स्थानीयले जेठदेखि असोजसम्म मार्तडी आउन जान निकै सास्ती खेप्दै आउनुपरेको थियो ।
अहिले सो सडक सञ्चालन भएपछि भने यहाँका स्थानीयलाई दसैँतिहारमा गाउँमा आवतजावत गर्न निकै सहज भएको छ । विगत चार महिनादेखि अवरुद्ध सडक बल्ल सञ्चालन भएपछि अहिले कोल्टीदेखि जिप मार्तडीमा आउजाउ भएको चालक बुढीनन्दा नगरपालिका स्थानीय जिपचालक रामबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा गत जेठको अन्तिममा जिप कोल्टीमा रोकिएको थियो । ”
दसैँअगावै बाटो मर्मत भएपछि अहिले कोल्टीदेखि मार्तडी यातायात सेवा सञ्चालन गर्ने गरेको कार्कीले बताउनुभयो । पानी पर्न नरोकिएकै कारण मार्तडी–कोल्टी सडक मर्मत गर्न सकेको थिएन । अहिले पानी रोकिएकोले मर्मतसम्भारको काम सुरु गरेसँगै सडक सञ्चालन भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो ।
उहाँले बुढीनन्दा नगरपालिकाको डोजर भाडामा लिएर काम सुरु गरेको बताउँदै पालिकाले प्रतिघण्टा डोजर चलाएबापत सात हजार पाँच सय भनेको तर नेपाल सरकारको प्रचलित दर रेट अनुसार चार हजार ७४१.९३ का दरले डोजर प्रयोग गरेबापत रकम दिने बताउनुभयो । मार्तडीदेखि कोल्टीसम्म झन्डै ४२ किलोमिटर सडक पर्छ । यसमा झन्डै १४ किलोमिटर बडीमालिका नगरपालिकाकै क्षेत्रमा पर्छ भने बुढीनन्दा नगरपालिकाको क्षेत्रमा २८ किलोमिटर पर्छ । बर्खाको पानीले यो सडक तहसनहस पारेपछि यहाँ चल्ने सवारीसाधन विगत चार महिनादेखि मार्तडीमै रोकिएका थिए । गत जेठको अन्तिमदेखि जिल्लीमा गएको पहिरोले सडक अवरुद्ध पारेको थियो । पानी पर्दै गरेका कारण त्यहाँ सफा गर्न सकिएको थिएन । अहिले बुढीनन्दा, बडीमालिका नगरपालिका र भौतिक पूर्वाधार विकास कार्यालय अछामले दसैँअगावै सडक सञ्चालन गर्ने गरी पहल गरेपछि बल्ल सडक सञ्चालन भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले बताउनुभयो ।