चन्द्रपुर समाचारदाता
चन्द्रपुर (रौतहट), असोज १३ गते । हिन्दुहरूको महान् पर्व बडादसैँमा पनि रौतहटको चन्द्रपुर नगरपालिकाका शिक्षक र कर्मचारी तलब भत्ताबाट वञ्चित भएका छन् ।
जेनजी आन्दोलनले नगरपालिका कार्यालयमा क्षति भएपछि चन्द्रपुर नगरपालिकाले दसैँपछि मात्र तलब भत्ता खुवाउने भएको छ ।
यहाँका शिक्षकले तलब खुवाउन दबाब दिएपछि नगरपालिकाले दसैका लागि कार्यालय बन्द हुनु एक दिनअगाडि आइतबार खाता सञ्चालन गरेर निकासा लिए पनि तलब खुवाउन नसकेको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवणकुमार साहले जानकारी दिनुभयो ।
राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटको खाताबाट नेपाल बैङ्क लिमिटेडमा रहेको चन्द्रपुर नगरपालिका कार्यालयमा निकासा रकम प्राप्त हुन नसकेकोले आइतबार शिक्षकको तलब भत्ता विद्यालयको खातामा जान नसकेको उहाँले बताउनुभयो । साउन र भदौकोे सङ्घीय सरकार राजस्व बाँडफाँट रकम प्राप्त भए पनि शिक्षकको तलब भत्ता नगएको कारण अन्य कर्मचारीको तलब पनि नपठाएको उहाँले बताउनुभयो ।
नगरपालिकाको खातामा रकम जम्मा हुनेबित्तिकै विद्यालयको खातामा पठाइने प्रमुख प्रशासकीय अधिकृत साहले बताउनुभयो । सोमबारदेखि दसैँको बिदा रहेकोले बिचमा एक दिन केही बेरका लागि बैङ्क खुला गर्न पहल गरिरहेको पनि उहाँको भनाइ छ ।
नवनियुक्त शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले दसैँमा शिक्षकलाई तलब नखुवाउनेलाई कारबाही गर्ने बताएपछि शिक्षकलाई तलब भत्ता खुवाउन आइतबार दिनभरि कुरेर बसेको जनशक्ति माध्यमिक विद्यालय गैँडाटारका प्रधानाध्यपाक रेणुका जिसीले बताउनुभयो ।
विद्यालयको खातामा रकम जम्मा हुनेबित्तिकै शिक्षकको खातामा रकम ट्रान्सफरका लागि बैङ्क जाने भनेर तयारी अवस्थामा रहे पनि नगरपालिकाले निकासा नपठाएर शिक्षकसँगै शिक्षकको पूरै परिवारको दसैँ खल्लो बनाएको उहाँको गुनासो छ ।
चन्द्रपुर नगरपालिकामा छ सय शिक्षक तथा १५० जना कर्मचारी रहेको छ । रौतहटमा रहेको १८ वटा पालिकामध्ये फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, गुजरा नगरपालिका र देवाहीगोनाही नगरपालिकाले पनि शिक्षक तथा कर्मचारीको तलब भत्ता खुवाउन सकेनन् ।
देवाहीगोनाही नगरपालिकाले चालु आर्थिक वर्षका लागि सभा गर्न सकेको छैन भने फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका र गुजरा नगरपालिकाले सभामा बजेट प्रस्तुत गरे पनि बन्द सत्र गर्न सकेको छैन । रौतहटका १३ वटा पालिकाले दसैँअघि आफ्ना शिक्षक कर्मचारीलाई तलब भत्ता खुवाएका छन् । रौतहटको गौर नगरपालिका इशनाथ नगरपालिका, राजदेवी नगरपालिका, देवाहीगोनाही नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकाका लाभग्राहीलाई कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले चालु आवको प्रथम त्रैमासिकबापतको सामाजिक सुरक्षा भत्ता रकम पठाइसकेको छ ।