गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १३ गते । कल्पतरु प्रज्ञा–प्रतिष्ठान तथा कल्पतरु द्वैमासिकको आयोजना भएको कार्यक्रममा नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले दिएको विशिष्ट योगदानको राज्यले कदर गर्न नसकेको चर्चा भएको छ ।
कार्यक्रममा वक्ताहरूले छोटो अवधिमै अर्यालले साहित्य तथा पत्रकारितामा दिएको योगदान अतुलनीय रहेको बताए । नेपाली साहित्यको हास्यव्यङ्ग्य विधाका अतिरिक्त कवितातर्फ पनि अर्याल अत्यन्त सशक्त देखिएको स्रष्टाहरूको भनाइ छ । सामाजिक तथा राजनीतिक विसङ्गति र विकृतिविरुद्ध अर्यालले दशकौँअघि लेखेका लेखहरू अहिले पनि उत्तिकै सान्दर्भिक भएको उनीहरूको ठहर छ । अर्यालका कृति अन्तर्राष्ट्रिय स्तरका भएकाले त्यसलाई उल्था गरी विश्व साहित्यको पहुँचमा पु-याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
कार्यव्रmममा वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ कल्पतरु प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष तथा कल्पतरु द्वैमासिकका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ सहित साहित्यकारहरू बद्री अर्र्याल, वसन्त रिजाल, विमल अर्याल, डाक्टर सुवास प्याकुरेल, निर्मल अर्याल, राजन पुडासैनीलगायतले नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले दिएको योगदानको विविध कोणबाट समीक्षा गर्नुभएको हो ।
सोही अवसरमा गत भदौ २३ र २४ को जेन्जी आन्दोलनका व्रmममा मृत्युवरण गरेकाहरूको शोकमा एक मिनेट मौनधारण गरिएको थियो भने अर्यालको स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको ११५ औँ अङ्कको लोकार्पण गरिएको थियो ।
विसं १९९३ असोज ५ गते जन्मिएका अर्यालको निधन ४० वर्षको कलिलो उमेरमा २०३३ साल असोज १९ मा भएको थियो । भैरव अर्यालका जय भुँडी, दस अवतार, गलबन्दी, उपवन, इति श्री, काउकुतीलगायतका कृति नेपाली साहित्यमा कालजयी मानिन्छन् ।