हरिप्रसाद कोइराला
उर्लाबारी, असोज १३ गते । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही खण्ड विस्तार पूूर्वनिर्धारित लक्ष्य अनुसार सम्पन्न गर्न कठिन देखिएको छ । २०८० कातिक २ गते सम्झौता भई २०८० माघ १९ गते निर्माण कम्पनीले काम थालेको हो । सम्झौता अनुसार निर्माण कम्पनीले सबै प्याकेजको काम २०८३ कात्तिकमा सम्पन्न गर्नुपर्नेछ तर विभिन्न अवरोधका कारण उक्त समयावधिमा काम गर्न कठिन हुँदै गएको छ ।
काम सुरु भएको १७ महिना भयो । यो अवधिमा दोस्रोे प्याकेजमा ३६.८ प्रतिशत काम सम्पन्न हुनुपर्ने २७.१२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस प्याकेजमा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सडकको खण्ड पर्छ । पूर्वपश्चिम राजमार्ग विस्तार योजना पश्चिम खण्ड, इटहरी कार्यालयका आयोजना प्रमुख जगत प्रजापतिका अनुसार दोस्रो प्याकेज क्षेत्रमा ४० किलोमिटर सडक पर्छ । यस क्षेत्रमा लगभग १८ किलोमिटर जङ्गल क्षेत्र पर्छ । नौ अर्ब १३ करोड ८२ लाख रुपियाँमा ठेक्का लागेको यो सडकखण्डमा हालसम्म कानेपोखरीदेखि लक्ष्मीमार्गसम्मको चार किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
तेस्रो प्याकेजमा सबैभन्दा कम काम भएको छ । लक्ष्यभन्दा आधा मात्र काम भएको यो खण्डमा २६.९६ प्रतिशत काम हुनुपर्नेमा १२.९४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । १०.७६ किलोमिटर यो खण्ड चार अर्ब सात करोड ३५ लाखमा ठेक्का लागेको हो । बिचमा इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र पर्छ । यो क्षेत्रमा १२४ वटा घरटहरा हटाउन र विद्युत् पोल स्थानान्तरण गर्न नसक्दा हालसम्म १२.९४ प्रतिशत मात्रै भौतिक प्रगति भएको हो । हाल इटहरी उपमहानगरको विस्तार क्षेत्रमा परेका घर, महल भत्काउने र ‘साइट क्लियर’ गर्ने काम धमाधम भइरहेको आयोजनाका स्रचना अधिकारी पल्लव श्रेष्ठले बताउनुभयो ।
पाँचौँ प्याकेजमा रहेको ठेक्का अन्तर्गत लामा पुलको भौतिक प्रगति भने निर्धारित लक्ष्यभन्दा १.६ प्रतिशतले बढी भौतिक प्रगति भएको छ । निर्धारित लक्ष्य २४.९ प्रतिशत रहेकोमा २६.५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । श्रेष्ठका अनुसार पाँचाँै प्याकेजको काम भने पूर्वनिर्धारित लक्ष्यभन्दा धेरै भएको छ । यो प्याकेजमा पुल निर्माणको ठेक्का रहेको छ । सूचना अधिकारी श्रेष्ठले पाँचौँ प्याकेजको ठेक्कामा पश्चिमतर्फका तीन वटा तीन सय मिटरभन्दा लामा पुल रहेका छन् । रतुवा, बव्रmाहा र लोहोन्द्रा पुलको ठेक्का पाँच अर्ब ६५ करोड २६ लाख रुपियाँमा ठेक्का लागेको हो । जहाँ निर्माण क्षेत्र खाली छ, त्यहाँ काम लक्ष्य अनुसार नै भइरहेको छ । निर्माण क्षेत्र खाली गर्न नसकिएको स्थानमा समस्या उत्पन्न भएको छ ।
पश्चिम खण्डमा पर्ने २० वटा साना पुलमध्ये सबै पुलको जग निर्माण सकिएको छ । पाँच वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । १११ वटा कलभर्टमध्ये ७६ वटा कलभर्ट निर्माण सम्पन्न भइसकेका छन् । यस्तै सात किलोमिटर नाला निर्माण सम्पन्न भएको छ भने २४ किमी सडकमा सब बेस हालिसकिएको छ । दुई वटा ओभरपास निर्माणाधीनमै छन् ।
कार्यालय प्रमुख जगत प्रजापतिले गत वर्षको असोजमा परेको पानीका कारण बाढीबाट काम प्रभावित हुँदा भौतिक प्रगतिको दर केही घट्यो । यो वर्ष मनसुन सुरु हुनुअगावै पानी प¥यो । जसले गर्दा निधारित स्थानमा कालोपत्रे गर्न सकिएन । जेनजी आन्दोलनले पाँच दिन काम रोकियो । आन्दोलनका व्रmममा निर्माण व्यवसायीका केही गाडीमा तोडफोड भए । दसैँमा पनि एक साता काम रोकिने भएको छ ।