शेरबहादुर राई
ओखलढुंगा, असोज १३ गते । ओखलढुंगामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ४ः३० बजेको समयमा काठमाडौंबाट ओखलढुंगातर्फ आउदै गरेको बा ५ ख ८२२९ नम्बरको बस र विपरित दिशाबाट जादैगरेको प्र १–०७–००१ प ०६७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मानेभन्ज्याङ गाउँपालिका–४ केतुकेमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सिद्धिचरण नगरपालिका ११ रमाइडाँडाका २१ बर्षिय विनोद कटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सिद्धिचरण–१० का २१ बर्षिय कुमार बिश्वकर्मा घाइते भएका छन् । दुवै जनाको उद्धार गरी ओखलढुंगा सामुदायिक अस्पतालमा लगिएकोमा कटवाललाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
बस र बस चालक सिद्विचरण न।पा –१० का २९ बर्षिय रमेश धमलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अर्का घाइते विकको उपचार भइरहेको छ ।