• ३ जेठ २०७९, मङ्गलबार

सम्बन्धविच्छेदका कानुन

blog

सुरेन्द्र नेपाल श्रेष्ठ

 संसारमा धेरै नाम चलेका व्यापारी, खेलाडी, कलाकार, राजनीतिज्ञहरूको सम्बन्धविच्छेद भएको समाचार पढ्दै र सुन्दै आएका छौँ । एकथरी मानिस विवाहपछि हुने विभिन्न झन्झट तथा जिम्मेदारीबाट परै बस्न विवाह नै गर्दैनन् । विवाहपछि पनि सम्बन्धविच्छेदमा लाग्ने खर्च, बालबच्चाको हेरचाहमा लाग्ने खर्च यावत् कारणले बाँकी जीवन जसोतसो सँगै बिताउन बाध्य हुनेहरू पनि छन् । केही त सबैखाले सम्पर्क माध्यम बन्द गरेर कसैले थाहा नपाउने ठाउँमा एक्लो जीवन बिताउनेहरू पनि भेटिन्छन् । 

अर्कोतर्पm सम्बन्धविच्छेदपछि बाँडफाँट गरिने सम्पत्तिले संसारलाई नै चकित बनाइदिने गरेको छ । सन् २०१९ मा अमेजन कम्पनीका मालिक जेफ बेजोस र उहाँकी पत्नी म्याकेन्जी बेजोसको सम्बन्धविच्छेद अहिलेसम्मकै सबैभन्दा महँगो हो । सम्बन्धविच्छेद हुँदा श्रीमती बेजोसले अमेजन कम्पनीको २५ प्रतिशत सेयर अर्थात् झन्डै ३७ अर्ब रुपियाँ (३७ विलियन डलर) प्राप्त गर्नुभएको थियो । उहाँले यसको आधा रकम सामाजिक सेवामा लगाउने वाचा पनि गर्नुभएको थियो । अमेजनका मालिक जेफ बेजोस र उहाँकी पत्नी म्याकेन्जी बेजोसको वैवाहिक जीवन २५ वर्षसम्म चलेको थियो । यो जोडीको चार सन्तान पनि छन् ।

त्यस्तै, बेलायतबाट प्रकाशित हुने ‘द सन्’ पत्रिकाका मालिकसमेत रहेका रुपेट मर्डक्सले श्रीमती आनसँग सन् १९९९ मा सम्बन्धविच्छेद गर्दा एक अर्ब ७० करोड रुपियाँ (१.७ विलियन डलर) दिनुभएको थियो । त्यस्तै, गल्फको नम्बर एक खेलाडी टाइगर वुडले सन् २०१० मा श्रीमतीलाई ७१ करोड रुपियाँ (७१० मिलियन डलर) दिएर सम्बन्धविच्छेद गर्नुभएको थियो । विटल्सका सदस्य गायक पल म्याकार्थीले पनि सन् २००८ मा सम्बन्धविच्छेद गर्दा ४८ करोड छ लाख रुपियाँ (४८.६ मिलियन डलर) दिनुभएको थियो । माइक्रोसफ्टका जन्मदाता बिल गेट्स दम्पतीको सम्बन्धविच्छेद पनि निकै सनसनीपूर्ण रह्यो । 

धेरैजसो सम्बन्धविच्छेदको कारण अर्को विवाह गर्ने भन्ने नै देखिन्छ । त्यसैले आफूले इच्छाएको व्यक्तिसँग पुनः विवाह गर्दा कानुनी सजाय नहोस् भन्नका लागि नै सम्बन्धविच्छेद गर्नुपर्ने हुन्छ तर जापानमा भने सम्बन्धविच्छेद गरेपछि पनि छ महिनासम्म विवाह गर्न कानुनले नै बन्देज लगाएको छ ।

म पहिले बसेको ठाउँ बेलायतको फिन्डन भ्यालीमा छिमेकमै एक जोडी सारै मिलनसार थिए । आफ्नै बुबाले थालेको बीमा कम्पनीमा सबै भाइले काम गर्थे । माइलो छोराले हुनेवाला श्रीमतीलाई पनि त्यहीँ काममा लगाए । सानै उमेरदेखि मिहिनेत गरेर होला दुवैजना मिलेर राम्रै ठाउँमा घर बनाए र घरजम पनि गरे । केही समयपछि छोरी जन्मियो । हामी त्यहाँबाट बसाइँ सरेको केही समयपछि थाहा भयो यो जोडीको त सम्बन्धविच्छेद भइसकेछ । आफ्नै कार्यालयमा काम गर्ने एक छोरासहितको महिलालाई ती माइलो छोराले बिहे गर्ने भनेर श्रीमती, छोरी र घर छाडेर नयाँ ठाउँमा भाडामा बस्न थालेछन् । त्यसको केही वर्षपछि विवाह बन्धनमा पनि बाँधिएछन् । रमाइलो विषय त उनको पहिलेकी श्रीमतीलाई छोरीसहित उनैको सबैभन्दा मिल्ने साथीले सकारेर बस्न थालेछन् । 

धेरै समयपछि एकदिन ती माइलो छोरासँग भेटघाट गर्न समय मिलायौँ । धित मर्ने गरी सधैँ सँगै भएजस्तो किसिमले कुरा भयो । भेट नभएको झन्डै छ वर्ष पुग्न लागेको रहेछ । मैले छुट्ने बेलामा ‘तिमी त सारै खुसी होलाउ, मन परेकी अर्कीसँग बसेका छौ, नयाँ जिन्दगीको सुरुवात गरेका छौ’ भन्दै थिएँ तर उनले नाक खुम्च्याउँदै भने, ‘साँच्चै कुरा सुनाउँ’ भने । मैले ‘हुन्छ’ भनेँ । ‘सधैँ त्यही कुरा, त्यस्तै व्यवहार तर अनुहार भने फरक मात्रै हो’ भन्दै गठिलो हात मिलाएर उनी हिँडेका थिए । मलाई पनि लाग्यो– “उसले भनेको ठीक हो भने बेकार किन थप झन्झट लिन प¥यो त ? जसोतसो दुई दिनको जिन्दगी सम्झौतामै बिताए भइगयो नि,” तर मैले भनेर के गर्ने बेलायतमा सन् १९६४ देखि हालसम्म लगभग एकतिहाइ विवाह सम्बन्धविच्छेद भएको छ । सन् २०२१ को आँकडाअनुसार त ४२ प्रतिशत सम्बन्धविच्छेद भएको छ ।

यही वर्षको अप्रिल ६ गतेबाट बेलायतको कानुनअनुसार सम्बन्धविच्छेद गर्न कुनै कारण उल्लेख गर्न नपर्ने भएको छ । यसअघि श्रीमान् वा श्रीमतीले सम्बन्धविच्छेद गर्न निर्धारण गरिएका पाँचमध्ये एउटा दोष प्रमाणित गर्न अनिवार्य थियो । अब यहाँको कानुनले दोषसहितको सम्बन्धविच्छेदलाई दोषरहित बनाएको छ । विवाह गर्दा मन परेजस्तै छुट्टिन पनि मन परेन भने मात्रै पुग्छ । लामो समयदेखि यस विषयमा निकै छलफल भए पनि कानुनी रूप भने लिन सकेको थिएन । नयाँ कानुन आएपछि पहिलो हप्तामा नै तीन हजारभन्दा बढी निवेदन परेको खबर सार्वजनिक भएको छ । यसअघि यो सङ्ख्या औसत दुई हजार एक सयको हाराहारी थियो । निवेदन अनलाइनबाट नै दिन सकिने बनाउनका लागि गत वर्ष नै तयार भएको कानुन लागू गर्न एक वर्ष ढिलाइ भएको जनाइएको छ । यसअघि बेलायतमा सम्बन्धविच्छेद गर्नका लागि दुव्र्यवहार, व्यभिचार (परस्त्री÷पुरुष गमन), बेपत्ता (दुई वर्ष), सहमतिमा दुई वर्ष र असहमतिमा पाँच वर्षभन्दा बढी अलग बसेका मध्ये कुनै एक प्रमाणित गर्न आवश्यक थियो । प्रायः संसारका धेरै देशमा सम्बन्धविच्छेदका लागि यस्तै कानुन विद्यमान छन् ।

त्यसो त केही देशमा सम्बन्धविच्छेद गर्न पाउने अनौठो आधारहरू पनि छन् । साउदी अरेबिया विशेष गरी महिलाहरूको अधिकारको सन्दर्भमा सारै नै उदार मानिन्छ तर त्यहाँ सम्बन्धविच्छेदसम्बन्धी एउटा अचम्मको कानुन विद्यमान छ । हरेक बिहान पतिले पत्नीलाई ताजा कफी नदिएमा पत्नीले सम्बन्धविच्छेद गर्न पाउनेछ । त्यहाँ श्रीमान्ले श्रीमतीलाई थाहा नै नदिई सम्बन्धविच्छेद गर्न सक्थ्यो तर महिला वकिलहरूको अग्रसरतामा सन् २०१९ देखि कुनै पनि पुरुषले श्रीमती छाड्न चाहेमा अनिवार्य रूपमा मोबाइल फोनमा सन्देश लेखेर पठाउनुपर्ने व्यवस्था गरिएको छ । 

न्यायाधीशले विवाहको मान्यता दिएपछि फर्किंदा दुलही लडिन् । दुलाहाले सहयोग नगरेको भन्दै दुलहीले फर्केर एकछिनअघि विवाह गरिदिएका न्यायाधीशसमक्ष ‘यो श्रीमान्बाट मेरो हेरविचार नहुने’ भन्दै विवाह बदरको माग गरिन् ।

त्यस्तै, प्रशान्त महासागरमा रहेको एक टापु सामोआमा पतिले आफ्नो जन्मदिन बिर्सेमा श्रीमतीले सम्बन्धविच्छेद गर्नसक्ने कानुनी व्यवस्था छ । सबैभन्दा छिटोछरितो सम्बन्धविच्छेद हुने देशको रूपमा हल्यान्डलाई मानिन्छ । त्यहाँ दुईमध्ये एकले हाम्रो विवाह निरन्तर हुन सक्दैन भनेर अदालतमा जानकारी दिएपछि छोटो समयमै सम्बन्धविच्छेद हुन्छ । अर्को पक्षले प्रतिकार गरे पनि अदालतले मान्यता दिँदैन । कसुरबिना नै सम्बन्धविच्छेद गर्न पाइने कानुन निर्माण गर्ने पहिलो देश तत्कालीन रुस हो । बोल्सेभिकहरूले रुसी क्रान्तिसँगै सन् १९१७ देखि नै यस्तो व्यवस्था गरेका थिए । अन्य केही देश चीनले सन् १९५०, अस्ट्रेलियाले सन् १९७५, जर्मनीले सन् १९७६, स्पेनले सन् २००५, माल्टाले सन् २०११ देखि यस्तो कानुन बनाएका छन् । यस्तै अमेरिकाको क्यालिफर्निया राज्यले पनि सन् १९७० देखि कसुरबिना नै सम्बन्धविच्छेद गर्न पाइने कानुन बनायो । यसपछि हाल अमेरिकाको सबै राज्यमा यस प्रकारको कानुन प्रयोगमा छ । मेक्सिको सिटीमा सन् २००८ देखि लागू भए पनि पूरा देशमा भने सन् २०१५ बाट मात्रै यस्तो कानुन लागू भयो । हालसम्म पनि कानुनी रूपमा सम्बन्धविच्छेद नै नहुने दुईवटा देश फिलिपिन्स र भ्याटिकन सिटी हुन् । फिलिपिन्समा ८० प्रतिशतभन्दा बढी जनसङ्ख्या रोमन क्याथोलिक छन् । मुस्लिम धर्मावलम्बीहरूले भने आफ्नो ‘शारीया’ कानुनअनुसार श्रीमतीलाई तीन पटक तलाक भनेपछि सम्बन्धविच्छेद हुन्छ । त्यहाँका मानव अधिकारवादीले लामो समयदेखि सम्बन्धविच्छेद गर्न पाउनुपर्छ भन्ने माग गर्दै आएका छन् । श्रीमान् र श्रीमतीबीच कुनै देवानी मुद्दा परेको खण्डमा भने न्यायाधीशले त्यस्तो विवाह कायम रहने वा खारेज हुने भनेर फैसला गर्न पर्ने हुँदा त्यसैलाई आधार बनाएर छुट्टिने चलन रहेको देखिन्छ ।

ऐतिहासिक रूपमा हेर्दा विवाहलाई जीवनभरका लागि एउटा पवित्र र सम्मानित सम्बन्धको रूपमा लिइन्थ्यो । थोरै सङ्ख्यामा देखिने सम्बन्धविच्छेद गराउन पाउने अधिकार चर्चमा मात्रै निहित थियो । समय क्रमसँगै त्यो चर्चको अधिकार न्यायालयमा स¥यो । बेलायतमा सन् १८५० मा आफ्नी श्रीमती परपुरुषसँग लागेको थाहा पाएमा श्रीमान्ले सम्बन्धविच्छेद गर्नका लागि निवेदन दिनसक्ने कानुन बन्यो । महिलालाई यो अधिकार प्राप्त गर्न भने यो कानुन बनेपछि सत्तरी वर्ष कुर्नु प¥यो ।

सन् २०१५ मा बेलायतको अदालतमा एक ६८ वर्षीया महिला टिनी ओयन्सले ४० वर्ष सँगै बिताएका ८० वर्षीय श्रीमान् ह्यूज ओयन्सको विरुद्ध सम्बन्धविच्छेदको निवेदन दर्ता गर्नुभयो । उहाँले आफ्नो निवेदनमा दुईजनाको वैवाहिक सम्बन्ध निरन्तर हुन नसक्ने २७ वटा कारण उल्लेख गर्नुभएको थियो तर श्रीमान्ले आफूले श्रीमतीलाई कुनै दुव्र्यवहार नगरेको र उसलाई मसँग बस्न बोर लागेर मात्रै यस्तो आरोप लगाएको भनी अदालतमा कडा प्रतिवाद गर्नुभयो । त्यति मात्र होइन, सन् २०१२ ताका श्रीमतीले दस महिनासम्म परपुरुषसँग सम्बन्ध राखेको घटनालाई समेत माफी दिने ह्यूज ओयन्सले भन्नुभएको थियो । यो बेला उहाँहरूका ३९ वर्षीया छोरी र ३७ वर्षीय छोरा थिए । करिब तीन वर्षसम्म चलेको यो मुद्दाको अन्तिम फैसलामा सर्वोच्च अदालतले यी आधारहरू सम्बन्धविच्छेदका लागि आवश्यक प्रमाण हुन नसक्ने भन्दै मुद्दा खारेज गरी दिएको थियो । टिनी ओयन्सले कानुनतः सम्बन्धविच्छेद गर्न फैसला भएको मितिले अझै दुई वर्ष कुर्न पर्ने भएकाले यसलाई विवाहरूपी कारागारको संज्ञा दिनुभएको थियो । फैसलामा न्यायाधीशहरूले आफूले कानुनअनुसार मात्रै फैसला गर्न सक्ने तर कानुन परिवर्तन वा निर्माण गर्ने अधिकार संसद्को मात्रै रहेको भनेर वर्तमान कानुन परिवर्तन गर्नुपर्नेतिर इङ्गित गरेका थिए । त्यसैको फलस्वरूप यो नयाँ नियम बन्ने वातावरण तयार भएको हो भन्ने आमधारणा छ । सम्बन्धविच्छेदको संसारभरिका तथ्याङ्क हेर्दा एउटा गज्जवको संयोग देखिन्छ । सबैभन्दा कम सम्बन्धविच्छेद हुने देश श्रीलङ्कामा प्रति हजार व्यक्तिमा शून्य दशमलव १५ प्रतिशत देखिन्छ भने सबैभन्दा बढी त्यही नजिकैको देश माल्दिभ्समा पाँच दशमलव ५२ प्रतिशत देखिन्छ । त्यसपछि क्रमशः काजकिस्थान, रुस, बेलारुस, बेल्जियम, मोल्डोभा, चीन, क्युबा, युक्रेन पर्छन् । दशौँमा दुई दशमलव सात प्रतिशत भएको देश डेनमार्क, लातभिया, लिथुआनिया र अमेरिका हुन् ।

धेरैजसो सम्बन्धविच्छेदको कारण अर्को विवाह गर्ने भन्ने नै देखिन्छ । त्यसैले आफूले इच्छाएको व्यक्तिसँग पुनः विवाह गर्दा कानुनी सजाय नहोस् भन्नका लागि नै सम्बन्धविच्छेद गर्नुपर्ने हुन्छ तर जापानमा भने सम्बन्धविच्छेद गरेपछि पनि छ महिनासम्म विवाह गर्न कानुनले नै बन्देज लगाएको छ ।

भारतमा हिन्दु विवाह ऐन १९५५ र पारिवारिक अदालत ऐन १९८४ अनुसार सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा चित्त नबुझेको पक्षले पुनरावेदन गर्न पाउने समयावधिबारे दुई प्रकारको व्यवस्था भएअनुसार बेला बखत यो विषयमा प्रश्न उठ्ने गरेको थियो । पारिवारिक ऐनमा तीस दिनभित्र पुनरावेदन गर्नुपर्छ भनिएको छ भने हिन्दु विवाह ऐनमा ९० दिन भनिएको छ । हालै त्यहाँको सर्वोच्च अदालतले हिन्दु ऐनलाई मान्नुपर्ने फैसला गरेको छ ।

यही वर्षको अप्रिल ६ गतेबाट बेलायतको कानुनअनुसार सम्बन्धविच्छेद गर्न कुनै कारण उल्लेख गर्न नपर्ने भएको छ । यसअघि श्रीमान् वा श्रीमतीले सम्बन्धविच्छेद गर्न निर्धारण गरिएका पाँचमध्ये एउटा दोष प्रमाणित गर्न अनिवार्य थियो ।  

अमेरिकाको क्यालिफोर्नियामा बसोवास गर्ने एक ब्याप्टिस्ट पादरी ग्लिन वोल्फ, जसलाई स्कटी वोल्फ पनि भनिन्छ, उहाँले ३१ पटक विवाह गरेको रेकर्ड राख्नुभएको छ । उहाँको सबैभन्दा छोटो विवाह १९ दिन र सबैभन्दा लामो एघार वर्ष टिकेको थियो । तीनवटा विवाह त सम्बन्धविच्छेद गरेका महिलासँग नै भएका थिए । उहाँको चारजना श्रीमती चाहिँ मृत्यु भएका थिए भने अरू सबैसँग सम्बन्धविच्छेद भएको थियो । उहाँको २८औँ श्रीमती क्रिस्टिन कामाचो उहाँभन्दा ३७ वर्ष कान्छी हुनुहुन्थ्यो । वोल्फको अन्तिम विवाह लिन्डा वोल्फ (नी टेलर) सँग भएको थियो । उहाँले पनि २३ पटक विवाह गरेर सबैभन्दा धेरै विवाह गर्ने महिलाको कीर्तिमान राख्नुभएको छ । सन् २०१९ फेबु्रअरीमा कुवेतमा एक विचित्रको विवाह र सम्बन्धविच्छेद भयो । एक जोडी विवाहका लागि अदालत गए । न्यायाधीशले विवाहको मान्यता दिएपछि फर्किंदा दुलही लडिन् । दुलाहाले सहयोग नगरेको भन्दै दुलही फर्केर एकछिनअघि विवाह गरिदिएका न्यायाधीशसमक्ष ‘यो श्रीमान्बाट मेरो हेरविचार नहुने’ भन्दै विवाह बदरको माग गर्छिन् । न्यायाधीशले त्यो माग स्वीकार गर्छन् । जम्मा तीन मिनेटका लागि भएको यो विवाह नै अहिलेसम्म संसारको सबैभन्दा छोटो विवाह मानिन्छ ।

आधुनिक समयमा पनि ठूला नाम चलेका केही कलाकारका छोटो अवधिका विवाहको लामै सूची पढ्न पाइन्छ । सन् २००४ को पहिलो महिनाको तेस्रो दिन नामुद गायिका ब्रिट्नी स्पियर्सले आफ्नो बाल्यकालका साथी जेसन अलेक्जेन्डरसँग गरेको विवाह जम्मा ५५ घण्टा मात्रै टिकेको थियो । त्यसैगरी अन्य केही विवाह ४, १४, १८, ३९, ७२ दिन मात्रै र धेरैको वर्ष दिनभन्दा कम टिकेको तथ्याङ्क भेटिन्छ । गिनिज बुकका अनुसार सबैभन्दा लामो समय वैवाहिक सम्बन्धमा बाँधिएका अमेरिकाका फिसर जोडी ८६ वर्ष २९० दिन सँगै बिताएका थिए । सन् २०११ मा श्रीमान् हर्बर्टको मृत्यु भएको थियो । त्यस्तै सबैभन्दा बुढेसकालमा सम्बन्धविच्छेद गर्ने जोडीचाहिँ बेलायतका बर्टी र जेसी वुडको जोडी थियो । विवाह गरेको ३६ वर्ष पूरा हुँदा दुवैजनाको उमेर ९८ वर्ष थियो । त्यस्तै सबैभन्दा बुढेसकालमा सम्बन्धविच्छेद गर्ने रेकर्ड पनि बेलायतकै ह्यारी बिडवेलको नाममा रहेको छ । उहाँले सन् १९८० मा १०१ वर्षको उमेरमा ६५ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुभएको थियो । 

‘डिभोर्स’ ल्याटिन शब्द ‘डिभोर्टियम’बाट आएको हो । यसको अर्थ अलग वा फरक दिशामा फर्कनु हो । यो शब्द फ्रान्सेली र अङ्ग्रेजी शब्दावलीमा १४औँ शताब्दीतिर प्रयोगमा आएको मानिन्छ । सम्बन्ध गाँसिएपछि विछोड हुनु प्रासङ्गिक नै भयो । नेपाली समाजमा धेरै पहिलेदेखि विवाह इतरका सम्बन्धलाई नैतिकताको चस्माले हेरिन्छ । पुरानो तथ्य हेर्ने हो भने सम्बन्धविच्छेदका घटना अत्यन्तै न्यून रहेको पाइन्छ । विच्छेद भइहाले पनि टोल समाजले मिलाउने गरेको थाहा पाइन्थ्यो । अहिले गोप्य सम्बन्धका बारेमा वकिलमार्फत अदालतमा, सञ्चारमा खुला बहस हुने गर्छ । ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भनेर सम्बन्धलाई चिरिनबाट रोक्ने भनाइ अहिले फेरिएका छन् । सामान्य विषय पनि विच्छेदको बीउ बनेका उदाहरण थुप्रै छन् । कानुनी राज्यको व्याख्या हरेक समाजले आआफ्नै किसिमले गरेको छ । सम्बन्ध उही हो तर अर्थ र आकार फरक भएका छन् । सम्बन्धविच्छेदको एकरूपता हुन नसके पनि जोडीको अपेक्षा समयसापेक्ष मात्र हुनसक्यो भने न्यायसङ्गत होला । सबै सम्बन्ध कानुनी व्याख्याले सम्बोधन गर्ला र दुवै पक्षले न्याय पाउँछन् भन्ने तथ्यमा शङ्का विभिन्न देशका कानुनी दस्तावेजले देखाइसकेका छन् । अन्त्यमा ग्रुचो माक्र्स भन्नुहुन्छ– “विवाह नै सम्बन्धविच्छेदको मुख्य कारण हो ।”