• १० कात्तिक २०८२, सोमबार

माटोको पहाड खोपेर बनाइएको ‘जोङ्ग’गुफा (फोटो फिचर)

blog

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरमा पहाडको भित्तामा प्वालहरू भएको ‘सिजा जोङ्ग’गुफा । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), कात्तिक ९ गते ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरमा पहाडको भित्तामा प्वालहरू भएको ‘सिजा जोङ्ग’ गुफा देखेर पहिलोपटक घुम्न आउनुभएका पर्यटक भीमनाथ शर्मा दङ्ग पर्नुभयो ।

चाडपर्वमा बिदाको मौका छोपेर उपल्लो मुस्ताङको भ्रमणमा निस्किएका युवा व्यवसायी शर्माले एक सय रुपियाँ शुल्क तिरेर गुफाभित्र छिरेर तेस्रो तलासम्म अवलोकन गर्नुभयो ।

भुइँसहित ६ तला रहेको गुफामा तलैपिच्छे भर्‍याङ चढ्दै जाने पर्यटकलाई आकर्षक तर अनौठो गुफाले मोहित बनाउँछ । समुद्री सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित गुफाभित्र एउटाबाट अर्को कोठासम्म पुग्न मिल्ने ५० कोठामा प्रत्यक्ष अवलोकन गर्न मिल्छ भने तत्कालीन समयमा कुल एक सय ८ कोठा बनाइएको थियो । 


पर्यटक सुरेश ढुङ्गाना भन्नुहुन्छ, ‘‘पहाडभित्र रहेको गुफामा अनेक दृश्य देख्न पाइयो, प्राचीनकालको सुन्दर उपहार रहेछ, यहाँ आउने सबै पर्यटकहरू फरक भूगोलमा गएजस्तौ महसुस गरेको पाएँ ।’’

दुई हजार वर्ष पहिले माटोको पहाड खोपेर बनाइएको गुफाभित्र तत्कालीन तिब्बती अतिवादीले बस्तीमा आक्रमण गरी लुटपाट गरेपछि गाउँले सामूहिक रूपमा आएर बस्ने गरेको स्थानीय ६० वर्षीय वृद्धा पुन्चो गुरूङले बताउनुभयो । गुफामा आउने पर्यटकलाई टिकट बिक्री गर्दै गर्नुभएका गुरूङले भन्नुभयो, ‘‘गाउँलेले लुक्न बनाएको गुफाभित्रका सामानहरू अहिले हराएका छन् ।’’

तिब्बती अतिवादीबाट जोगिन लामो समयसम्म गुफाभित्र विताएका स्थानीयले खाना पकाउने, सुत्ने, सुरक्षा दिने, पूजा, सामग्री भण्डारणसहित विभिन्न कलाकृति भएका कोठाहरू छन् । तेस्रो तलामा काठ र माटोले बनेका भाँडाकुँडा र अन्य सामान अहिले पनि सुरक्षित छन् । गुफाको एउटा कोठामा सिसा, चिया पकाउने माटोका भाँडा, जुत्तालगायत पुराना सामग्री देखिन्छ । गुफाभित्र केही कोठामा मान्छे बसेका बेला बालेको आगोको धुवाँ र कालो धर्को छ ।


गुफाभित्र रहेका साम्रगी तथा माटोलगायत अन्य वस्तु कति वर्ष पुरानो हो भन्ने हालसम्म अध्ययन तथा अनुसन्धान हुन सकेको छैन । लोमान्थाङ–१ छोसेरकी वडा सदस्य एवम् पर्यटन व्यवसायी छिरिङ युटिन गुरुङले गुफाको हरेक तलाको बिच भागमा बाटो र दायाँबायाँ कोठा, छोसेरको बस्ती हेर्न मिल्ने झ्याल छ । तीनतलासम्म सहजै पर्यटक जान मिल्ने भर्‍याङ रहे पनि चौथो र पाँचौ तलामा जान जोखिम मोल्नुपर्ने बताउनुभयो । परापूर्वकालमा दुस्मनबाट जिउधन जोगाउन बनाएको गुफा अहिले स्थानीय समुदायको आम्दानीको माध्यम बनेको वडा सदस्य गुरूङको भनाइ छ । गुरूङ भन्नुहुन्छ, ‘‘गुफामा घुम्न आउने पर्यटकहरूका कारण पर्यटन व्यवसाय फस्टाएको छ, टिकटबाट हुने आम्दानीले गुम्बा र गुफाको मर्मतसम्भार भइरहेको छ ।’’  

किंवदन्तीअनुसार अतिवादीले लामोसमयसम्म प्रवेश गर्ने ढोका बन्द गरे पनि स्थानीयले आत्मसर्मपण नगरेको कारण यो गुफालाई छोसेरबासीले आफ्नो पुर्खाको बहादुरीको प्रतीकको रुपमा समेत लिने गर्दछन् । छोसेरमा रहेका सयौं वर्ष पुराना गुफा र गुम्बा अवलोकनका लागि पुरातात्विक अवलोकन प्रवेश व्यवस्थापन समितिमार्फत नेपालीलाई एक सय रुपियाँ र विदेशी पर्यटकलाई एक हजार शुल्क लिने गरिन्छ । हरेक वर्ष वैशाख, जेठ तथा असोज र कात्तिक महिनामा दैनिक डेढ सयदेखि पाँच सय जनासम्म पर्यटक गुफाको अवलोकनका लागि आउने गरेको टिकट बिक्री काउन्टरमा रहेका तामदिङ गुरूङले बताउनुभयो ।


तिहार सकिएपछि आउने पर्यटकको ताँतीले गुफाभित्र प्रवेश गर्दासमेत बाहिर नै रोक्नुपर्ने अवस्था रहेको गुरूङको भनाइ छ । 
समितिमार्फत यसवर्ष स्थानीय लाप्पा टास्सीले २३ लाख लागतमा टेन्डर हालेर लो गर्फु गुम्बा र लो निफु गुम्बालाई २५ प्रतिशत चेन्पा कोन्ँछोक्लिङ गुम्बालाई १८ प्रतिशत, सिजा जोङ गुम्बालाई २३ प्रतिशत मर्मतसम्भारमा खर्च हुन्छ भने केही स्थानीय युवा क्लब, आमा समूहलाई समेत सहयोग गर्ने गरिएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘प्रचित गुफा उपल्लो मुस्ताङवासीको पहिचान हो, हाम्रो पुर्खाहरूले भूमि जोगाउन गरेको सङ्घर्षसमेत गुफाभित्र भेटिन्छ ।’’ गाउँपालिकाले प्राचीन गुफामा रहेका सामग्रीलाई हराउन नदिने गरी संरक्षणमा विशेष ध्यान दिएको गाउँपालिका अध्यक्ष गुरूङले बताउनुभयो । गुफामा प्रवेश गर्ने काठको भर्‍याङ तथा बाहिर हेर्न मिल्ने प्वालबाट दुर्घटना हुन नदिने गरी स्थानीय समितिले मर्मत गर्ने गरेको छ । मुस्ताङ सदरमुकाम जोमसोम हुँदै कोरला सडकको लोमन्थाङ नेचुङ खण्डदेखि जोङ्ग गुफाको परिसरसम्म सवारीसाधनमा पुग्न सकिन्छ ।

कोरला नाका जाने अधिकांश पर्यटकको रोजाइमा रहेको गुफा परिसरमा रहेको खेलमैदानमा सार्वजनिक शौचालय र प्रतीक्षालय भवनसहित अन्य संरचनाहरू समेत बनाइएको छ । जोङ्ग गुफाको संरक्षणमा पर्यटकबाट सङ्कलिन आर्थिक बाहेक गाउँपालिका र अन्य विभिन्न सङ्घसंस्थाबाट समेत सहयोग जुटाएर प्रवर्धनमा खर्च गरिएको छ । गुफामै पुग्ने सडक तथा आसपासका अन्य गुफा र गुम्बालाई समेत सडक सञ्जालले जोडेपछि पर्यटकलाई समेत अवलोकनमा सहज भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा करिब एक हजार सानोठूलो गुफा रहेको अनुमान गरिन्छ ।